काठमाडौं, नेपाल ।
केपी ओली सरकारले समयमै जापान भ्रमणको स्विकृति नगर्नू र गरेर पनि सूचना नदिँदा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को जापान भ्रमण रोकिएको छ ।
मन्त्रिपरिषदले ढिलो गरी निर्णय गरेको र जानकारीसमेत समयमै नदिएका कारण मेयरको भ्रमण रोकिएको हो।
मेयर शाह गत आइतबार नै जापानको युएनसिआरडी स्मार्ट सिटीसम्बन्धी वर्कशपको लागि जानुपर्ने थियो। बिहीबार मात्रै मन्त्रिपरिषदले स्विकृति दिने निर्णय गर्यो भने त्यसको जानकारी शुक्रबारमात्रै गराइएको थियो।
निर्णय ढिलो भएको र त्यसमाथि ढिलो गरी सूचना प्राप्त भएकाले भ्रमण रोक्नुपर्ने अवस्था आएको मेयर शाहका स्वकीय सचिव भुपदेव शाहले बताएका छन ।
‘जापान जानको लागि सचिवालयले १० दिनअघि नै केन्द्र सरकारसँग अनुमतीको लागि पत्र पठाएको थियो, तर मन्त्रिपरिषद्को बैठकमा ढिलो लगियो,’ उनले भने, ‘ढिलो सूचना आएपछि तयारी नपुग्दा भ्रमण रोकिन पुग्यो ।’