टोकियो, जापान ।
जापानको स्वास्थ्य मन्त्रालयको एक विशेषज्ञ प्यानलले शुक्रबार अनुमति दिएपछि जापान पहिलो पटक गर्भपतन चक्कीहरू विक्रि वितरण गर्न अनुमोदन दिने अन्तिम कदम नजिक पुगेको छ ।
प्यानलले बेलायती औषधि कम्पनी लाइनफार्माद्वारा विकसित मेफिगो प्याकको प्रयोगलाई अनुमोदन गरेको हो ।
औषधिमा दुई प्रकारका चक्कीहरू हुनेछन् । यो गर्भावस्थाको नौ हप्ता भित्र प्रयोग गर्न सकिन्छ ।
जापानमा भएको क्लिनिकल ट्रायलमा ९३ प्रतिशत सहभागीहरूले २४ घण्टाभित्र पूर्ण गर्भपतन गरेका थिए ।
तिनीहरूमध्ये लगभग ६० प्रतिशतले पेट दुखाइ जस्ता लक्षणहरू अनुभव गरेको भएपनि धेरै जसो केसहरू हल्का वा मध्यम मात्र रहेको बताइएको छ ।
मन्त्रालयले समितिको अनुमोदनसँगै छिट्टै औपचारिक स्वीकृति दिने बताइएको छ । मन्त्रालयले समितिकै सुझावका आधारमा स्वीकृति दिने नदिने निर्णय गर्ने भएकाले समितिले स्विकृत दिइसकेको अवस्थामा मन्त्रालयको निर्णय अन्तिम भएपनि औपचारिकता दिन मात्र बाँकी रहेको बताइएको छ ।
विश्व स्वास्थ्य संगठनले मेफिगो प्याकलाई अत्यावश्यक औषधिको रूपमा सूचीकृत गर्दै यो सुरक्षित र प्रभावकारी भएको बताएको छ ।
मिफेप्रिस्टोन नामको एउटा चक्कीले गर्भावस्था कायम राख्न आवश्यक हर्मोनलाई दबाइ दिन्छ । अर्को, मिसोप्रोस्टोलले पाठेघरलाई संकुचित गराउँछ ।
जापानको फार्मास्युटिकल्स र मेडिकल डिभाइस एजेन्सीका अनुसार मिफेप्रिस्टोन पहिलो पटक सन् १९८८ मा फ्रान्समा स्वीकृत भएको थियो र गत वर्ष सेप्टेम्बरसम्म ६५ भन्दा बढी देश र क्षेत्रहरूमा प्रयोगमा रहेको छ ।
जापानमा अहिलेसम्म सर्जिकल गर्भपतन मात्र उपलब्ध छ । क्युरेटेज विधिमा, पाठेघर भित्रका तन्तुहरूलाई धातुको उपकरणले हटाइन्छ ।
डब्ल्यूएचओले क्युरेटेज विधिको अन्त्यको लागि आह्वान गर्दै आएको छ । क्युरेटेज गर्दा पाठेघरलाई क्षति पुर्याउने वा निकासी विधि भन्दा दुई वा तीन गुणा बढी रक्तश्राव हुने सम्भावना रहेकाले चक्कीको प्रयोग बढि सुरक्षित हुने बताईन्छ ।
जापानमा आलोचकहरु घट्दो जनसंख्याका बिचमा गर्भपतनको औषधि सर्वसुलभ रुपमा उपलब्ध गराउन थालिए जनसंख्या ओरालो लाग्नेक्रम थप तेज गतिमा बढ्ने बताउँछन् । सरकारी अधिकारीहरुले चिकित्सकको सिफारिसमा मात्र उचित कारण र अवस्थामा अधिकतम ९ हप्ताभित्रको गर्भपतन मात्र गराउन सकिने भन्दै विक्रि वितरणमा कडाई गरिने बताउँदै आएका छन् ।