टोकियो, जापान ।
जापानको स्वास्थ्य मन्त्रालयले ओमिक्रोन सबभेरियन्टलाई लक्षित गर्दै निर्मित दाइइचि सान्क्यो कम्पनीले बनाएको कोरोनाभाइरस खोपलाई स्वीकृत गरेको छ ।
जापानले आफ्नै देशभित्र बनेको घरेलु रूपमा उत्पादित कोभिड खोपलाई देशभर प्रयोग गर्नको लागि मार्ग प्रशस्त गरेको यो पहिलो पटक हो ।
यो खोप दाइचिरोना नामबाट विक्रि हुने भएको छ । जुन खोप ओमिक्रोन एक्सबिबि.१.५ सबवेरियन्टको लागि तयार पारिएको हो । यो खोप डिसेम्बरको सुरुदेखि स्थानीय सरकारहरूलाई आपूर्ति गरिने अपेक्षा गरिएको छ, जुन निःशुल्क रुपमा हुनेछ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले खोपको १४ लाख डोज खरिद गर्न सहमति जनाएको छ ।
यो भ्याक्सिनले अमेरिकी कम्पनीहरू पिफाइजर ईन्क र मोडेर्ना ईन्कद्वारा उत्पादित मेसेन्जर आरएनए समान काम गर्नेछ । खोप १२ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूको लागि बूस्टरको रूपमा प्रयोग गरिनेछ ।
जापानी औषधि निर्माताले महामारीको प्रारम्भिक चरणहरूमा फैलिने स्ट्रेनहरूलाई लक्षित गर्ने कोभिड भ्याक्सिनको अघिल्लो संस्करण अगस्टमा स्वीकृत गरेको भएपनि त्यसलाई आम रुपमा प्रयोग गरिएको थिएन ।
२०२० को प्रारम्भमा कोरोना भाइरस फैलिएदेखि, जापान मुख्यतया फाइजर र मोडर्नाका खोपहरूमा भर परेको छ, जबकि घरेलु रूपमा उत्पादित खोपहरूको विकास अमेरिका र युरोपेली देशहरू भन्दा धेरै पछाडि परेको छ ।
स्वास्थ्यमन्त्री केइजो ताकेमीले जापान सरकारले आगामी सम्भावित महामारीको तयारीका लागि घरेलु खोपको विकास र उत्पादन सुनिश्चित गर्न आवश्यक सहयोग उपलब्ध गराउने बताएका छन ।