(Japan) 21 st February | 2024 | Wednesday | 9:22:03 PM || (Nepal) 6:07:03 PM
 
 


जापानमा गर्भनिरोधक चक्की क्लिनिकहरुमा परीक्षण बिक्री सुरु

  POSTED ON : Wednesday, 29 November, 2023 | Views : 1252

जापानमा गर्भनिरोधक चक्की क्लिनिकहरुमा परीक्षण बिक्री सुरु


टोकियो, जापान ।

जापानले नोभेम्वर २८ तारिख मंगलबारबाट गर्भनिरोधक चक्कीहरूको परीक्षण बिक्री सुरु गरेको छ । देशको औषधि संघका अनुसार गर्भनिरोधक औषधिको खुला विक्रि अभियानकर्ताहरूको लागि यो सुरुवात आंशिक विजय हो ।

अधिकारवादी समूहहरूले लामो समयदेखि अनिच्छाएको गर्भ रोक्ने उपचार सामाजिक रूपले रूढिवादी जापानमा डाक्टरको अनुमतिमा क्लिनिक वा फार्मेसीमा मात्र उपलब्ध रहँदै आएको थियो ।

अभियानकर्ताहरूका अनुसार यसले धेरै महिलाहरू, विशेष गरी बलात्कार पीडित र किशोर किशोरीहरूलाई अनिच्छाइकन बच्चा जन्माउनुपर्ने बाध्यताबाट जोगाउनेछ ।

पाइलट प्रोजेक्ट अन्तर्गत, यौन सम्पर्कको ७२ घण्टाभित्र गर्भावस्था रोक्न सक्ने तर त्यसपछि कम प्रभावकारी हुने चक्की देशभरका १४५ फार्मेसीमा उपलब्ध गराउने तयारी गरिएको छ ।

जापान फार्मास्युटिकल एसोसिएसनको वेबसाइटका अनुसार महिलाहरूले यो औषधि किन्दा अझै पनि परिचयपत्र देखाउनुपर्छ र फार्मासिस्टको अगाडि औषधि लिनुपर्छ ।

ओभर द काउन्टर अर्थात् क्लिनिकको काउण्टरमै उपस्थित भएर खरिदका लागि न्यूनतम उमेर १६ वर्ष हुनुपर्छ । यद्यपि १८ वर्ष मुनिकाको लागि यो औषधि किन्दा अभिभावक आउनुपर्छ वा अभिभावकको साथमा उपस्थित हुनुपर्छ ।

यस्तो अवस्थामा एक पटकको लागि गर्भ रोक्ने औषधिको मात्राको लागि ७,००० देखि ९,००० येन तोकिएको छ ।

आपतकालिन अवस्थामा गर्भ रोक्ने औषधि सार्वजनिक रुपमा देशभर खरिदको लागि उपलब्ध गराउनुपर्ने मागमा धेरैको समर्थन रहेको बताइन्छ ।

यस वर्ष स्वास्थ्य मन्त्रालयको सार्वजनिक परामर्शको लागि गरिएको सर्वेक्षणमा ४६,००० उत्तरदाताहरु मध्ये ९७ प्रतिशतले यसको पक्षमा जवाफ दिएका थिए ।

विश्व स्वास्थ्य संगठनले आफ्नो वेबसाइटमा आपतकालीन गर्भनिरोधक 'सबै राष्ट्रिय परिवार नियोजन कार्यक्रमहरूमा नियमित रूपमा समावेश गरिनुपर्छ' भनेको छ ।

अभियानकर्ताहरूको दावी अनुसार विश्वका ९० भन्दा बढी देशहरूमा चिकित्सकको प्रिस्क्रिप्शन विना गर्भनिरोधक चक्की चाहेको व्यक्तिले खरिद गर्नसक्छन् ।