(Japan) 15 th April | 2026 | Wednesday | 7:05:05 AM || (Nepal) 3:50:05 AM
 
 


भारतीय गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

  POSTED ON : Sunday, 11 January, 2026 | Views : 996

भारतीय गायक तथा अभिनेता प्रशान्त तामाङको निधन


काठमाडौं, नेपाल ।

भारतका गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । समाचारहरु अनुसार गायक तामाङको दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो ।

इन्डियन आइडलको उपाधि जितेका तामाङ नेपालमा समेत लोकप्रिय रहेका छन् । उनले दर्जनौं नेपाली लोकप्रिय गीतहरु गाएका छन् ।

४३ वर्षिय तामाङले नेपाली फिल्ममा अभिनय र गायन पनि गरेका छन् । नारायण रायमाझी निर्देशित फिल्म ‘गोर्खापल्टन २’ बाट उनले नेपाली फिल्मको अभिनयमा डेब्यू गरे । ‘हिम्मत २’ बाट पहिलोपटक नेपाली फिल्मको पाश्र्वगायनमा काम गरे ।

त्यसयता उनले अँगालो मायाको, किन मायामा, धड्कन भित्र, निशानी, परदेशी को भाग १ र २ मा अभिनय गरे । दिल, अनमोल छन् र हिम्मत २ मा उनले पाश्र्वगायन गरेका छन् । उनले सलमान खान स्टारर फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउड डेब्यू गरेका थिए । यो फिल्मको छायांकन सकिएको छ र उनी डबिङको तयारीमा थिए ।

भारतको दार्जिलिङमा जन्मिएका प्रशान्तले सन् २०११ मा एयर होस्टेस मार्था एलीसँग विवाह गरेका थिए । उनीहरूको एक छोरी छन् । प्रशान्त पछिल्लो समय बाहिरि कार्यक्रमहरु समेत स्थगित गरेर छोरिको लागि समय दिंदै आएका थिए । श्रीमती एयर होस्टेस भएका कारण समेत छोरी हेरचाहको जिम्मेवारी उनिमा थियो ।

उनले केही समय कोलकाता प्रहरीको कन्सटेबलको जागिर समेत गरेका थिए । सन् २००७ मा प्रशान्तको डेब्यू एल्बम ‘धन्यवाद’ रिलिज भएको थियो । ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ उनका चर्चित गीतहरू हुन् ।

प्रशान्तको असामयिक निधनको खबरले उनका फ्यानहरु शोकमा परेका छन् । प्रशान्तप्रति सांगितिक तथा चलचित्र क्षेत्रका कलाकारहरु सहित आम रुपमा सामाजिक संजालमा समवेदना व्यक्त भइरहेको छ ।