काठमाडौं, नेपाल ।
नेपालको एकमात्र राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले नेपाल र जापान बिच अप्रिल १ तारिखबाट साताको दुईवटा सिधा उडान गर्ने भएको छ ।
नेपाल एयरलाइन्सका अनुसार अप्रिल १ तारिखबाट नेपालबाट जापानको लागि साताको मंगलबार र शुक्रबार उडान हुने छ । यसैगरी जापानबाट नेपाल बुधबार र शनिबार उडान हुनेछ ।
शनिवार नेपाल एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै नेपाल एयरलाइन्सले हाल साताको एक दिन मात्र रहेको उडानलाई बढाएर साताको दुईवटा गर्ने जनाएको हो ।
उडान तालिका अनुसार नेपाल एयरलाईन्सले नेपालबाट जापानको लागि मंगलबार र शुक्रबार राति १० बजेर ५० मिनेटमा उडान भर्नेछ । यही विमान त्यसको भोली पल्ट बुधवार र शनिवार नेपालको लागि जापानबाट बिहान १० बजेर २५ मिनेटमा छुट्ने छ ।
उडान तालिकाको समयभन्दा तीन घण्टाअघि यात्रु विमानस्थल आइपुग्नुपर्ने नेपाल एयरलाईन्स जापान प्रमुख गौरबी चन्द शाहले जानकारी दिनुभयो । सीसीएमसी फाराम, पीसीआर, खोप प्रमाणपत्र, टिकट लगायत कागजात सम्पूर्ण प्रकृया पुरा गर्नको लागि समय लाग्ने भएकाले यात्रुहरुलाई अनिवार्यरुपमा उडानको समय भन्दा ३ घण्टा पहिले विमानस्थल आइपुग्न समेत उहाँले आग्रह गर्नुभयो ।
नेपाल एयरलाइन्सले जापानको लागि साताको दुईवटा उडान बनाए सँगै भाडा दरमा पनि सामान्य परिवर्तन गरेको छ । तत्कालको लागि जापान सरकारले प्रति उडान नेपालबाट जापान जाने यात्रुको सङ्ख्या १२० जना (इन्फ्यान्ट सहित) तोकेको हुनाले भाडा दरमा उल्लेख्य घटाइएको भने छैन । नेपाल एयरलाइन्स जापानका फाइनान्स मेनेजर सरोज पन्थीका अनुसार बिजनेस तर्फको भाडादर जापानबाट नेपालको लागि १३९,००० र नेपालबाट जापानको लागि १३९,७८५ तोकिएको छ ।
त्यसैगरी सामान्यतर्फ नेपालबाट जापानको लागि ९१ हजार रुपैयाँ र जापानबाट नेपाल उड्ने यात्रुले सामान्यतर्फ ६३ हजार रुपैयाँ तिर्नुपर्नेछ ।
भाडादर जापान सरकारले नेपालबाट जापानको लागि यात्रुसंख्या बढाएमा थप घट्न सक्ने पन्थीले बताउनुभयो ।
जापानबाट नेपाल आउने यात्रुले दुई मात्रा वा सो भन्दा बढी (बुस्टर डोज) कोरोना भाइरस बिरुद्वको खोप लगाएकाले दुई मात्राको मात्र भ्याक्सिन पासपोर्ट देखाए पुग्छ । भ्याक्सिन पासपोर्ट साथमा भएकाले भने पीसीआर परीक्षण गर्नु पर्नेछैन ।
तर कम्तिमा दुइमात्रा खोप लगाउनु भएको छैन वा खोप लगाएर पनि खोप पासपोर्ट साथमा छैन भने अनिवार्य पीसीआर परीक्षण गरेर नकारात्मक परीक्षणको ७२ घण्टा भित्रको रिपोर्ट पेस गर्नुपर्नेछ ।
नेपालबाट जापान जाने यात्रुको हकमा भने जापान सरकारले तत्काल कुनै नियममा परिवर्तन गरेको छैन ।