टोकियो, जापान ।
जापान सरकार सीमा नियन्त्रणमा पछिल्लो समय केही लचिलो हुँदै गइरहेको छ । देशभरमा संक्रमणको नयाँ लहर मत्थर हुन लागेको संकेतबीच सरकारले कोभिड–१९ को कारण सीमामा गरेको नियन्त्रण अझै खुकुलो बनाउनेबारे विचार गरिरहेको छ।
सरकारी स्रोतहरुका अनुसार अप्रिल देखि विदेशबाट दैनिक रुपमा जापान आउन सक्ने आगन्तुकको संख्यामा लगाएको सीमा बढाएर १० हजार पुर्याउने तयारीमा सरकार छ ।
अहिले विदेश गएका जापानी नागरिकसमेत दैनिक ५ हजार जनालाई प्रवेशको अनुमति दिइएको छ । सोमबारदेखि यो कोटा ७ हजारमा पुर्याइदैछ । यो कोटाको माथिल्लो सीमा थप बढाउनेबारे छलफल भइरहेको स्रोतको भनाइ छ ।
अप्रिलसम्ममा विमानस्थलमा क्वारन्टिन प्रणाली र सम्बद्ध अन्य प्रणालीहरु पनि तयार भइसक्ने बताइएको छ । जापान सरकारले मेको अन्त्यदेखि १ लाख विदेशी विद्यार्थीहरुलाई प्रवेशको अनुमति दिने योजना बनाएको छ ।
दैनिक आगन्तुकको संख्यामा तोकिएको कोटा वृद्धि पनि थप विदेशी विद्यार्थीहरुलाई स्वागत गर्ने प्रयासको हिस्सा भएको बताइएको छ ।