टोकियो, जापान ।
जापानको विभिन्न रोजगारका भिषा क्याटोगोरी थपिँदै जाँदा र वर्षेनी विद्यार्थी आगमनको क्रम बढ्दै जाँदा जापानमा बसोबास गर्ने नेपालीहरुको संख्या अहिलेसम्मकै उच्च पुगेको छ ।
ताजा तथ्यांक अनुसार जापानमा नेपालीहरुको औपचारिक संख्या २३३,०४३ पुगेको छ । यो जापानमा बसोबास गर्दै आएको बिदेशीहरुको पाचौं उच्च संख्या हो । नेपाल ब्राजिललाई उछिनेर ५ औ स्थानमा उक्लेको हो ।
जापान सरकारको अध्यागमन ब्युरोले मार्च १४ तारिख शुक्रबार सन् २०२४ को डिसेम्बरको अन्त्यसम्मको तथ्याङ्क सार्वजनिक गरेको छ, जसअनुसार नेपालीहरू जापानमा पाँचौ ठूलो विदेशी बासिन्दाको रुपमा देखाएको छ ।
तथ्यांक अनुसार सन् २०१२ देखि २०२४ सम्म नेपालीहरूको जनसङ्ख्या जापानमा निकै बढेको देखिन्छ । सन् २०१२ मा जम्मा २४,०७१ जना नेपालीहरू जापानमा बसोबास गर्दथे । तर सन् २०२४ को अन्त्यमा यो संख्या बढेर २ लाख ३३ हजार नाघेको छ । अझ सन् २०२५ को सुरुवात देखि जापान आगमनको क्रम तथा विद्यार्थी आगमनको मुख्य सिजन अप्रिल इन्टेकको समेत जोड्ने हो भने यस बर्षको मध्यसम्ममा जापानमा नेपालीहरुको संख्या सहजै २ लाख ५० हजार पार गर्ने देखिन्छ ।
जापानमा नेपालीहरुको वृद्धि नेपाल बाट भाषा तथा उच्च शिक्षा अध्ययन गर्न जापान आउने नेपालीहरु बढ्नुको कारण एउटा मानिन्छ भने अर्को जापानमा बाल जन्मदर घट्दो र जेष्ठ नागरिकहरु बढ्दो हुनुले श्रम बजारमा विदेशी कामदारहरूको मागसँग पनि जोडिएको जापानबारे जानकार राख्नुहुने जिज्ञानकुमार थापा बताउनुहुन्छ । विशेषगरी उत्पादन, नर्सिंग केयर, कृषि र सेवा क्षेत्रमा नेपालीहरु कार्यरत छन् ।
जापानमा बसोबास गरिरहेका बिदेशीहरुको संख्या यस प्रकार छ।
२०२४ डिसेम्बरको अन्त्यसम्म जापानमा बसोबास गर्ने विदेशीहरूको शीर्ष दश सूची यस प्रकार छ :
चीन - ८७३,२८६
भियतनाम - ६३४,३६१
दक्षिण कोरिया - ४०९,२३८
फिलिपिन्स - ३४१,५१८
नेपाली - २३३,०४३
ब्राजिल - २११,९०७
इन्डोनेशिया - १९९,८२४
म्यानमार - १,३४,५७४
ताइवान - ७०,१४७
संयुक्त राज्य अमेरिका - ६६,१११