टोकियो, जापान ।
कुनैपनि देशको स्थायी बसोबास अनुमतिपत्र (पीआर) लिएर सन् २०२३ मा झन्डै ७१ हजार नेपालीले देश छाडे । काम, रोजगार, अध्ययन अनेक भिषामा जानेहरुको कुनै स्पष्ट खाका छैन । तर १०९ वटा देशमा उतै बस्नेगरि ७१ हजार नेपाली एकैपर्ष देशको लागि पराया बन्न पुगे ।
नेपालीहरू विकसित मानिने अमेरिका, बेलायत, स्विट्जरल्याण्डदेखि जापान, चीन, ताइवान हुँदै भारत र राजनीतिकरूपमा अस्थिर अफ्रिकाका इथिओपियासम्मका विभिन्न देशमा पुगेका छन् ।
अध्यागमन विभागको तथ्यांक अनुसार स्थायि बसोबास हैसियतमा यात्रा गर्ने पुरुषहरूको सङ्ख्या महिलाभन्दा करिब २५ सयले बढी छ ।
स्थायी बसोबासको अनुमतिपत्र लिएर नेपालबाट बाहिरिने अधिकांश नेपालीहरू अमेरिका, युरोप र एशियाका आकर्षक भनिएका गन्तव्यहरूमा गएको अध्यागमन विभागको तथ्याङ्कले देखाउँछ।
स्थायी रूपमा नै मुलुक छाडिरहेका नेपालीहरूको वास्तविक आँकडा बाहिर ल्याउन सन् २०२३ मा पहिलो पटक सरकारले अलग्गै किसिमले अभिलेख राखेर उक्त तथ्याङ्क सार्वजनिक गरेको अधिकारीहरू बताउँछन्।
युरोप अमेरिका तिर पिआर भनिने स्थाई बसोबास अनुमतिपत्र लिएर विभिन्न १०९ देशका लागि सन् २०२३ मा ३६ हजार ६७२ पुरुष, ३४ हजार २६७ महिला र १ जना अन्य लैङ्गिक पहिचान भएका व्यक्तिले नेपाल छाडेका छन् ।
त्यसमध्ये झन्डै एक तिहाई अर्थात् २१ हजार नेपाली अमेरिका गएका छन् । त्यसपछि बेलायत र नर्दर्न आयरल्याण्डमा गरी १६ हजार २ सय भन्दा बढी नेपाली बाहिरिंदा हङकङमा ११ हजार भन्दा बढी नेपालीले पीआर लिएर यात्रा गरेका छन् ।
सूचीको चौथो स्थानमा नेपाली विद्यार्थीहरूको बढ्दो चाप रहेको अस्ट्रेलियामा ८ हजारभन्दा बढी पीआरवाहक उडेका छन् ।
१ लाख ६० हजार भन्दा धेरै नेपाली रहेको जापानमा एकै बर्ष २६ सयभन्दा बढी जापानको स्थायी बसोबास अनुमतिपत्र (एईजु) बाहकले यात्रा गरेका छन् ।
क्यानडा, पोर्चुगल, जर्मनी, न्यूजील्याण्ड र यूएई नेपालीले पीआर धेरै लिएका देशमा पर्दछन् ।
उक्त आँकडा अनुसार झन्डै ३०० नेपालीहरू सन् २०२३ मा स्थायी अनुमतिपत्र वाहकको हैसियतमा भारत पुगेको सरकारी तथ्याङ्कले देखाउँछ।
नेपालीहरूसँग दक्षिण एशियाका भुटान, बाङ्ग्लादेश, पाकिस्तान र श्रीलङ्काको समेत पिआर रहेको छ ।
कतारदेखि साउदी अरेबियासम्मका देशमा स्थायी बसोबासको अनुमतिपत्रसहित उडेका नेपालीहरु मध्ये चीनमा १०६ जना, ताइवानमा ३६ जना र मकाउमा २० जना नेपालीहरू पीआरसहित सन् २०२३ मा उडेका छन् ।
स्थायी बसोबासको अनुमति लिएर बाहिरिनेहरूले नेपालको नागरिकता त्यागीसकेको अध्यागमन विभागले बताएको छ ।
अध्यागमन विभागका अनुसार सन् २०२३ मा २ लाख ४ हजारभन्दा बढी नेपाली पर्यटकको रुपमा बिदेश गएका छन् । पीआरसहित विभिन्न प्रयोजनले नेपालबाट बाहिरिने नेपालीहरूको सङ्ख्या १६ लाख ३० हजारभन्दा भन्दा धेरै छ ।
स्थायी रूपमा बसोबासको अनुमतिपत्र नभएका तर बिदेशको त्यस्तो प्रक्रिया गरिरहेका ९२ हजार भन्दा बढी नेपाली रहेका छन् । अस्थायी बसोबासको अनुमतिपत्रसहित सन् २०२३ मा १४४ वटा देशको यात्रा गएको तथ्याङ्कले देखाउँछ । अर्थात् छिट्टै झण्डै एक लाख नेपालीहरुले नेपाल छाड्ने तयारी गरेका छन् ।
अध्यागमन विभागका अनुसार २४ हजार ८ सय भन्दा बढी नेपाली अस्थायी बसोबासको अनुमतिपत्रसहित अघिल्लो वर्ष अस्ट्रेलिया गएका थिए।
सन् २०२३ मा अस्थायी बसोबासको अनुमतिपत्र सहित जापान यात्रा गर्नेको सङ्ख्या २१ हजारभन्दा बढी रहेको छ ।
संयुक्त राज्य अमेरिका जानेको सङ्ख्या ८ हजार ४ सयभन्दा बढी रहेको तथ्याङ्कले देखाउँछ ।
उक्त सूचीमा यूके र नर्दर्न आयरल्याण्ड छ जहाँ ७ हजार १ सय भन्दा बढी नेपाली उक्त हैसियतसाथ सन् २०२३मा पुगेका थिए।
पोर्चुगलमा झन्डै ४ हजार ९ सय, यूएईमा ३६ सय भन्दा धेरै, हङकङमा २९ सय भन्दा धेरै, भारतमा २ हजार भन्दा धेरै अस्थायी बसोबासको अनुमतिपत्रसहित गएको तथ्याङ्कले देखाउँछ।
अस्थायी बसोबासको अनुमतिपत्रसहित १ हजारभन्दा बढी सङ्ख्यामा नेपालीहरू सन् २०२३मा जर्मनी, कतार, दक्षिण कोरिया, क्यानडा, न्यूजील्याण्ड र फिनल्याण्ड गएका थिए।
उक्त सूचीमा अस्थायी बसोबासको अनुमतिसहित चीन प्रस्थान गर्ने नेपालीको सङ्ख्या ४०० र ताइवान जानेको सङ्ख्या ५५ रहेको उल्लेख छ।
अध्यागमन विभागले अस्थायी बसोबासको अनुमतिपत्र भएका नेपालीहरू ती देशको राहदानी लिने प्रक्रियामा रहेका मानिसहरू भएको बताएको छ ।
अस्थायी बसोबासको अनुमति पत्र लिएर जानेमध्ये ५१ हजार ८ सय भन्दा बढी पुरुष, ४० हजार ४ सयभन्दा बढी महिला र ५ जना अन्य लिङ्गका रहेको तथ्याङ्कले देखाउँछ।
अध्यागमन विभागको तथ्याङ्कले अघिल्लो वर्ष ८ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि नेपालभन्दा बाहिर गएको देखाउँछ ।