(Japan) 15 th January | 2025 | Wednesday | 7:17:19 PM || (Nepal) 4:02:19 PM
 
 


जापानको क्षयरोग परीक्षण नियम र हालसम्म प्राप्त जानकारी

  POSTED ON : Friday, 05 January, 2024 | Views : 5058

जापानको क्षयरोग परीक्षण नियम र हालसम्म प्राप्त जानकारी


टोकियो, जापान ।

जापान सरकारले सार्वजनिक गरेको जानकारी अनुसार जापान प्रवेश गर्दा  क्षयरोग परीक्षण गरेको रिपोर्ट पेश गर्नुपर्ने नियम सन् २०२४ आर्थिक बर्षबाट लागू हुने सम्भावना छ ।

जापान सरकारले आर्थिक बर्ष २०२४ अप्रिल १ तारिखबाट तीन महिना भन्दा बढीको भ्रमणको लागि जापान प्रवेश गर्नु अघि क्षयरोग परीक्षण (Tuberculosis, TB) रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने नियम लागू गर्ने तयारी गरेको नोभेम्वर महिनामा स्वास्थ्य मन्त्री केइजो ताकेमीले बताएका थिए ।

यो नियम विश्वभरबाट आउने यात्रुहरुका लागि नभई छवटा देशहरू फिलिपिन्स, भियतनाम, चीन, इन्डोनेसिया, नेपाल र म्यानमारका नागरिकको लागि लागू हुनेछ । ताकेमीले नोभेम्बर १६ बताए अनुसार जापानमा धेरै नयाँ क्षयरोगीहरू यिनै देशहरुबाट आएकाहरुमा पुष्टि भएको छ ।

नेपाल सहित यि देशका मानिसहरूलाई जापान भ्रमण गर्नुअघि जापान सरकारले तोकेका मेडिकल संस्थाहरूमा क्षयरोग परीक्षण गराउन भनिनेछ । यदि तिनीहरूको परीक्षण सकारात्मक छ भने, जापानले तिनीहरूलाई भिसा जारी गर्नेछैन । अर्थात् भिषा आवेदनकै समयमा क्षयरोग नलागेको परीक्षण रिपोर्ट पेश गर्नुपर्ने नियम लागू हुनेछ । साथै जापान प्रवेश गर्दा पनि उक्तपरीक्षण रिपोर्ट साथमा बोक्नुपर्ने हुन्छ ।

जापानमा विदेशी क्षयरोगीहरुको बढ्दो संख्याका कारण यहाँको स्वास्थ्य मन्त्रालयले २०१८ मा परीक्षण सुरु गर्ने निर्णय गरेको थियो । तर योजना लागू गर्न ढिलाइ भएको छ ।

हालसम्म जापान प्रवेश गर्ने नेपाल सहित ६ देशका कुन कुन भिषाका लागि यो नियम लागू हुने भन्ने स्पष्ट खुलाइएको छैन । तर सार्वजनिक भएका विवरणहरु अनुसार नयाँ भिषा बाहक सबैमा लागू हुने यो नियम जापानमा नै बसोबास गर्दै आएका तर बिदामा आफ्नो देश गएर फर्कनेहरुका लागि लागू नहुनसक्छ । तर यसमा पनि कति समय बिदेशमा बसेर फर्किएकाको हकमा लागू नहुने भन्ने नियम आउने सम्भावनालाई नकार्न सकिन्न ।

स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२२ मा जापानमा १० हजार २ सय ३५ नयाँ क्षयरोगी दर्ता भएका थिए ।

तर २०२१ देखि, क्षयरोगका बिरामीहरूको संख्या प्रति १००,००० जनसंख्यामा १० भन्दा तल झरेको छ । जसले जापानलाई विश्व स्वास्थ्य संगठनद्वारा वर्गीकृत क्षयरोगका कम संक्रमित रहेको देशमा चिनाउँदछ ।

अझै पनि नयाँ क्षयरोगीमध्ये ११.९ प्रतिशत विदेशबाट आएकाहरु छन् र यो अनुपात अझै बढिरहेको जापानको तथ्यांकले देखाउँछ ।

जापानमा हुँदा पनि उच्च क्षयरोग दर भएका देशका मानिसहरूलाई यो रोग लाग्ने घटनाहरू पनि पाइएको छ ।

क्षयरोगको सम्पूर्ण उपचार निशुल्क रहेको जापानले बिदेशी नागरिकहरुका लागि क्षयरोग उपचारमा बर्षेनी खर्चनुपरेको करोडौं रकम जोगाउन तथा सरुवा क्षयरोगी भित्रन नदिने एवं स्वास्थ्य संस्थाहरुमाथिको अनावश्यक भारलाई कम गर्न नयाँ नीति लागू गर्न लागेको ठानिएको छ ।

तपाईंपनि जापान अध्ययन, रोजगारी, व्यवसाय, पारिवारिक वा जुनसुकै भिषामा तीन महिना भन्दा बढि समय बस्नेगरि आउने तयारी गर्दै हुनुहुन्छ भने अब जापान आउने तयारी गर्नुपूर्व क्षयरोग परीक्षण गराउँदा उत्तम हुने देखिन्छ । किनभने सबै तयारी पुरा भएर जापानको भिषा आवेदन गर्ने समयमा क्षयरोग परीक्षण गर्दा सकारात्मक रिपोर्ट आयो भने तपाईंको सबै मेहनत र प्रयास खेर जानसक्छ ।

यसबारेमा जापान सरकारले सार्वजनिक गर्ने ताजा नियम र विवरणहरु प्राप्त भएपछि प्रकाशित गर्नेछौं ।