(Japan) 21 st February | 2024 | Wednesday | 8:06:26 PM || (Nepal) 4:51:26 PM
 
 


नयाँ बर्षको शुभकामना : जापानमा बुझ्नैपर्ने नयाँ बर्ष विशेष जानकारीहरु

  POSTED ON : Monday, 01 January, 2024 | Views : 1488

नयाँ बर्षको शुभकामना : जापानमा बुझ्नैपर्ने नयाँ बर्ष विशेष जानकारीहरु


टोकियो, जापान ।

जापानमा नयाँ वर्षलाई お正月‘ओस्योउगाचु’ भनिन्छ । यो हरेक ईश्वी संवत् नयाँ बर्षको जनवरी १ तारिखमा पर्छ र प्रायजसो तीन दिनसम्म मनाइन्छ ।

जनवरी १ तारिख अँग्रेजी नयाँ बर्षलाई जापानीहरू आ आफ्नै तरिकाले मनाउँछन् । 

सन् १८७३ सालदेखि जापानमा ९न्चभनयचष्बल०ग्रेगोरियन क्यालेन्डर भित्र्याएपछि जनवरी १ तारिखमा नयाँ वर्ष मनाउने चलन चलेको पाईन्छ । त्यसभन्दा अगाडिसम्म यहाँ चन्द्रमा घुम्ने समयको आधारमा नयाँ वर्ष मनाउने गरिन्थ्यो ।

मेरो व्यक्तिगत अनुभवको आधारमा भन्ने हो भने करिव तीन दशक अघि म बुहारी बनेर आएको घरमा नयाँ बर्षको दिन चिबा प्रान्तमा पर्ने  ‘हिनोदे’भन्ने ठाउँबाट ‘पहिलो शुर्योदय’ को दर्शन गरेर घर फर्केर, पाठ पूजा सकि सबै परिवारसँगै बसी जापानी रक्सी ‘साके’ खान्पाई गरी शुरुआत गरिन्थ्यो ।

जसमा जेठानी र भतीजीले बनाएको विभिन्न जापानी खाना, ओसेची रेउरी, शुसी, स्यासिमी, नोरीमाकी, रेन्रकन इतामे तथा विभिन्न किसिमका सालादहरू र चिकेन, पोर्क र विफका परिकारहरू पर्दथे ।

तर म विफ नखाने भएकोले, म आए देखि यो घरको चलन बदलियो र प्राय चिनेक र माछाका परीकारहरू मात्र बन्दथ्यो । 

पारिवारिक जमघटको अन्त छुट्टिने बेलामा यो वर्षको आ आफ्नो एउटा मुख्य उद्देश्य ९बाचा गरी० ग्रुप फोटो खिची ‘शिन नेन ओमेदेतोउ गोजाइमस, कोतोशी मो योरोसिकु ओनेगाइ सिमास’ भनि छुट्टिइने गरिन्छ । यो ‘कोट’गरेको जापानी भाषाको मतलव “नयाँ वर्षको शुभकामना र यो वर्ष पनि अघिल्ला वर्षहरूमा जस्तै सहयोग र मेलमिलापको अपेक्षा गर्दछौं” भनिएको हो । 

मलाई भने जापानको नयाँ वर्ष र नेपालको दशैं मिल्दोजुल्दो लाग्दछ । नेपालको दशैंमा टीका लगाइन्छ, तर जापानमा भने टिका लगाइईंदैन, बाँकी धेरै चलन मिल्दो जुल्दो देखिन्छ ।

जस्तो केटाकेटीलाई पैसाको उपहार दिने, नयाँ लुगा लगाउने नजिकको नातेदारको घरमा जम्मा भइ शुभकामना आदान प्रदान गर्ने इत्यादि ।

जापानको नयाँ वर्षमा नेपालको जस्तै नाता हेरी पहिला आफ्नो हजुरहुवा हजुरआमा, आमाबुवा र दाजु भाइ दिदी बहिनी अर्थात् नजिकका नाताबाट शुभकामना र आशिर्वाद लिने दिने क्रमबाट शुरु हुन्छ ।

अझ भनौं जापानमा नयाँ वर्षको तयारी डिसेन्बर २८ तारिख घर घरको ठूलो सर सफाइबाट आभाष हुन थाल्दछ । जसलाई ‘ओसोजी’भनिन्छ र डिसेन्बर ३१ तारिखको बेलुका ‘तोशि-कोसी सोबा’ फापरबाट बनेको स्पेशल नुडल्स खाइ नयाँ वर्षको आगमनलाई पर्खिने गरिन्छ ।

जनवरी १ बाट क्रमश : जमघट हुने र नाता हेरी २, ३, ४ र ५ तारिखसम्म पनि नयाँ वर्ष मनाइन्छ ।

आशीर्वाद लिने दिने पहिलो प्राथमिकता संसारकै आत्मीय आमा बुवाबाट र त्यसपछि ससुराली र अनि दाजु-भाइ दिदी-बहिनी गरी जमघट गरिन्छ ।

जमघटमा प्राय १८ वर्ष मुनिका छोराछोरीलाई दक्षिणा स्वरुप पैसा यानेकि ‘ओतोसि दामा’ दिइन्छ । यो ‘ओतोसि दामा’ दिनको लागि तयार गरिएको खास किसिमको रंगिचंगि खामहरूबाट मात्रै जापान पोस्ट र डिपार्टमेन्टल स्टोरहरूले हरेक वर्ष करोडौंको व्यापार गर्दछन् । 

जापानका बच्चाहरूको सबै भन्दा ठूलो र रमाइलो चाड पनि नयाँ वर्ष नै हो ।

१८ वर्ष भन्दा साना उमेरका बाल बालिकालाई ठूलोदेखि क्रमैसँग आफ्नो गच्छे हेरी ३,०००, ५,००० र १०,००० दक्षिणा स्वरुप दिइन्छ र बच्चा-बच्चीहरू पनि निकै खुशी हुन्छन् र विद्यालय शुरु भएपछि आफ्ना साथी-सँगी सँग 'यो वर्ष मैले यति ओतोसी-दामा पाएँ उति पाएँ' भनि रमाइ रमाई गफ गर्ने गरेको पाईन्छ । जस्तो कि हामी नेपालमा दशैंमा टिका लगाएपछि पाएको दक्षिणा पाएपछि बालबालिकाहरुले गर्ने गर्दछन् ।

जापानको नयाँ वर्ष प्रत्येक वर्षको पात्रोको शुरुआत हो र नयाँ वर्षलाई स्वागत गर्ने दिन पनि वर्षको पहिलो दिन नै हो ।

सांस्कृतिक रूपमा जापानमा नयाँ वर्षको सुरुवात, पुरानो वर्षको सफल अन्त्य र नयाँ वर्षको आगमनको खुशीयालिमा मनाउने हर्षको चाड हो ।

हरेक वर्ष जनवरी १ तारिख यहाँ विभिन्न सजावट गरी, नयाँ नयाँ  कार्यक्रमहरू राखेर देशका विभिन्न ओहोदाका व्यक्तिहरूबाट जाँडको ढ्वांग फुटाइ चियर्स गरेर र मौसमी परिकारहरू खाएर मनाउने गरिन्छ ।

जसमा मूख्य तया ‘ओसेची र्योउरी‘ पर्दछ । ओसेची र्योउरीमा मसिना तारेका झिंगे माछा गुलिया स्वादका, कटुशकाबाट बनेका गुलिया प्रकारहरू, शुसी, स्यासिमी, रेन्नकन इतामे, सलादहरू र नोरीमाकी पर्दछ ।

परिवारका सदस्यहरू काम विशेषले बाहिर रहेका भए आमा बुवाको घरमा फर्केर आउँछन् र रमाइलो गरी मनाउँछन् । 

आफ्नो धार्मिक विश्वास अनुसार मन्दिर お寺, जिन्जा 神社 या अन्य ठाउँमा गई जापानी रक्सिले चियर्स गरी नयाँ वर्षको शुभकामना आदान प्रदान गरिन्छ ।

यो दिन प्राय जापानी प्राथमिक विद्यालयहरुमा ‘मोची’ भात र गुलियो बोडीको लेदो हाली बनाएको एक प्रकारको मिठाई खाने चलन पनि छ ।

ठूला ठूला संस्थानहरूमा समेत आफ्ना कामदारहरूलाई ओतोशीदामा दिने चलन पनि छ । 

विगतमा भने जापानमा नयाँ वर्षको दिन पनि ओबोनमा जस्तै, पुर्खाहरूको आत्मालाई बोलाउने र सान्त्वना दिने चलन थियो तर कालान्लातरमा यो चलन परिवर्तन हुँदै गयो ।

सन् १८७३ पछि यो नयाँ वर्षको उत्सव बन्यो र वर्षभरि सुस्वास्थ्यको कामनामा परिणत गर्ने दिन बन्यो । यही सुस्वास्थ्यको कामना जापानमा नेन्गा ज्यो बन्यो । मेरो परिवारमा त साथी भाइ छर छिमेक र नाता गोताबाट प्राप्त हुने हागाकीको संख्या ३०० प्रति समेत मैले गनेको याद छ ।

अहिले त प्राय जसो अन लाइनबाट नै गरिन्छ । तर हुलाक मार्फत पठाइने शुभकामना सन्देशहरु हराइसकेका भने छैनन् । धेरै नजिक र प्रियजनहरुले आफ्नो आत्मियता दर्शाउन तथा यादगार बनाइराख्नका लागि यस्ता शुभकामना सन्देशहरु पठाउने गर्दछन् ।

तपाईंको पनि ईश्वि संवत्को यो नयाँ बर्ष खुशी, सुखी स्वस्थ र उल्लासहमय बितोस्, शुभकामना ।

...

गृष्मा पौड्याल 

टोक्यो जापान

२०२४.०१.०१ 

सोमबार