(Japan) 21 st February | 2024 | Wednesday | 9:17:57 PM || (Nepal) 6:02:57 PM
 
 


जापानले अब स्वास्थ्य बीमा कार्ड जारी नगर्ने, आगामी बर्ष खारेज हुने

  POSTED ON : Friday, 22 December, 2023 | Views : 5080

जापानले अब स्वास्थ्य बीमा कार्ड जारी नगर्ने, आगामी बर्ष खारेज हुने


टोकियो, जापान ।

जापानले हालको स्वास्थ्य बीमा कार्ड अब जारी नगर्ने र आगामी बर्षको डिसेम्बर २ मा खारेज गर्ने भएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले हालको स्वास्थ्य बीमा कार्डलाई आगामी बर्ष सन् २०२४ को डिसेम्बर २ तारिखबाट बन्द गर्ने निर्णय गरेको छ ।

गत हप्ता, प्रधानमन्त्री किशिदाले योजना अनुसार हालको स्वास्थ्य बीमा कार्ड अर्को शरद ऋतुमा खारेज गर्ने घोषणा गरेका छन् । स्वास्थ्य बीमा कार्ड खारेज भएपछि यसको विवरण माइनम्वरमा समावेस हुनेछ, जसलाई बीमा कार्डको रूपमा प्रयोग गर्न सकिन्छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले कार्यतालिका समायोजन गर्दै आगामी डिसेम्बर २ तारिखदेखि जारी स्वास्थ्य बीमा कार्डलाई खारेज गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य बीमा कार्ड खारेज गरिसकेपछि पनि, यसलाई एक वर्षसम्म अल्पकालिन अवधिको रूपमा प्रयोग गर्न सकिन्छ । जुन अवधि हालसम्म माईनम्वर कार्ड बनाउन बाँकी रहेकाहरुको लागि अन्तिम समय रहनेछ । त्यसपछि भने स्वास्थ्य बीमा कार्डको अवधि बाँकी रहेपनि काम नगर्ने बताइएको छ ।

यस वर्षको अक्टोबरमा 'माइनम्वर स्वास्थ्य बीमा कार्ड'को प्रयोग दर ४.५ प्रतिशत मात्रै रहेको र प्रयोग दर बढेका चिकित्सा संस्थाहरूलाई सहयोग रकम उपलब्ध गराएर यसको प्रयोगलाई प्रवर्द्धन गर्ने स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको योजना छ ।