टोकियो, जापान ।
कोरोना संक्रमणपछि मे १० तारिख पहिलो पटक नेपाल एयरलाईन्सले जापानको लागि चार्टर उडान भरेको थियो । नेपाल एयरलाईन्सको आरए ४३३१ बिमानले पहिलो उडानमा १ सय ९७ यात्रुलाई जापान अवतरण गरायो ।
लकडाउनका कारण नेपालमा रोकिएका जापानीहरुलाई उद्दार गर्न नेपालस्थित जापानी राजदूतावासको पहलमा उक्त उडान भएको थियो । जसमा महामहिम राजदूत प्रतिभा राणा समेत जापान आउनुभएको थियो । उक्त उडानमा अन्य केही नेपालीहरु समेत जापान आएका थिए ।
ईकोनोमिक क्लास सामान्य सिट तर्फ १५ सय अमेरिकी डलर शुल्क तोकिएको उडानमा बिजनेस क्लासको १८ सय डलर मुल्य तोकिएको थियो ।
नेपालमा लकडाउनको सुरुवातमै भएकाले धेरै नेपालीहरु चर्को शुल्कका कारणपनि उक्त चार्टर उडानमा जापान आउन हतारिएनन् । जसका कारण २ सय ६८ यात्रु बोक्न पाउने बिमानमा २ सय यात्रु पनि पुगेनन् ।
तर नेपालमा लकडाउन थप हुँदै जाँदा भिषा लगायतको समस्या बढ्न थालेपछि सयौं नेपाली जापान आउन हतारिए ।
यही मेसोमा चार्टर उडानको अनुभव संगालीसकेको सुमेघ टुर्स एण्ड ट्राभल्सले गुपचुपमै प्रक्रिया अघि बढाएर काठमाडौं नारिता तीनवटा चार्टर उडान तय गर्यो ।
जस अनुसार पहिलो उडान मे १५ तारिखमा भयो । आरए ४३३१ बिमानमा २ सय ५४ यात्रु जापान आए । उक्त उडानमा जापानबाट १६ तारिख ४ जना नेपाली फर्किए ।
फर्किएका चारजना नेपालीमा दुईजना परराष्ट्र मन्त्रालयका अधिकारी बताईएपनि थप दुई यात्रुबारे केही खुलाईएको छैन ।
सुमेघकै दोस्रो चार्टर उडान मे १७ तारिखमा भयो । नेपाल एयरलाईन्सको आरए ४३३१ को उडानमा २ सय ३८ यात्रु जापान आएको रेकर्डमा उल्लेख छ । तर यस उडानमा कोहीपनि नेपाली नेपाल फर्कन पाएनन् ।
अर्को उडान गत मे २२ तारिख भयो । नेपाल एयरलाईन्सको आरए ४३३१ उडानमा भने चार्टर बिमान पूर्ण सिट क्षमतामा २ सय ६८ यात्रु सहित जापान आयो । फर्कंदा बिमानले एकजना यात्रु मात्र नेपाल लगेको पाईएको छ ।
फर्किएका यात्रु नेपाली राजदूतावास जापान सम्बद्ध भएको श्रोतले जानकारी दिएको छ ।
अन्योलताका बिच मे २४ र २८ मा थप दुईवटा चार्टर उडान जापानका लागि भयो । ऋदम टुर्स एण्ड ट्राभल्स र मार्गिक टुर्स एण्ड ट्राभल्सले संयुक्त रुपमा उडाएको उक्त उडानबाट यात्रुले पाएको सहुलियत हेर्दा सुमेघ ट्राभल्सको तुलनामा केही सस्तो टिकट रहेको थियो ।
सामान्य अवस्थामा नेपाल एयरलाईन्सको दुईतर्फी टिकटको ७४ हजार नेपाली रुपैयाँ आसपास हुनेभएपनि नेपाली बिनिमयदर अनुसार न्यूनतम टिकटकै ११ सय डलर अर्थात् १ लाख ३२ हजार बढी मुल्य तिर्दा यात्रु खुशी भएर मख्खै परेको अवस्था भने थिएन ।
तर सत्य के हो भने ११ सयमै उडान सकिने अवस्थामा यात्रु किन बढी तिर्न बाध्य पारिईराखेका छन् भन्ने प्रश्न भने खडा गरिदिएको छ ।
पहिलो उडानमा २ सय ६८ र दोस्रोमा २ सय ६६ यात्रु यात्रु आउँदा दुईवटा ट्राभलले गरेको चार्टर उडानबाट ५ सय ३४ यात्रु जापान आए । जसमा पहिलो उडान टोकियो र दोस्रो ओसाकामा भएको थियो ।
जापानी दूतावास, सुमेघ ट्राभल्स र आरआर र ऋदमको संयुक्त उडान समेतगरि ६ वटा चार्टर उडानबाट हालसम्म जापानमा १४ सय ९१ जना आईपुगिसकेका छन् । यसमा करिव डेढ सय जापानी बाहेक अधिकाशं नेपाली रहेका छन् ।
पूर्ण क्षमतामा जापानबाट समेत यात्रु फिर्ता लगेको भए करिव १५ सय नेपाली नेपाल फर्कन पाउने थिए । तर नेपाल एयरलाईन्सले केवल ५ जना यात्रुलाई नेपाल लगेको छ ।
यसको कारक एकमात्र नेपाल सरकारको अदूरदर्सिता बन्न पुगेको छ ।
तर यसको मार जापान आउने यात्रुमा आर्थिक भार थपियो भने जापानबाट नेपाल जानै पर्ने अवस्थामा रहेकाहरु यतै रोकिन पुगेका छन् ।
जापान नफर्कनेगरि जापानको भिषा सकिएका देखी पारिवारिक भेटमा आएर फर्कन बाटो कुरिरहेकाहरु अझै थप कति कुर्नुपर्ने हो अनिश्चयमा छन् ।
सरकारले समयमै योजनाबद्ध र ठोस निर्णय नगर्दा नेपालबाट जापान आएका जस्तै फर्कने यात्रुले पनि उस्तै आर्थिक भार व्यहोर्नुपर्ने निश्चित देखिएको छ ।
ट्राभललाई एउटै उडानबाट करोडको खात ! यात्रुलाई पुर्पुरोमा हात
काठमाडौं अन्तर्राष्ट्रिय बिमानस्थल देखी नारितासम्मको उडान समय सामान्यत १६ घण्टा हुने गर्दछ । अपवादमा हावाको वेगले असर पारेमा त्यो समय आधाघण्टा सम्म बढ्न सक्छ ।
उडानको समय उल्लेखको कारण हो, चार्टर उडानको शुल्क प्रति घण्टामा चार्टर गर्ने व्यक्ति वा संस्थाले नेपाल वायुसेवा निगमलाई भुक्तानी गर्नुपर्दछ ।
नेपाल वायुसेवा निगमबाट जापानसमाचारडटकमले प्राप्त गरेको कागजात अनुसार नेपाल एयरलाईन्सको चार्टर उडानको प्रतिघण्टा शुल्क १७ हजार २ सय ८० अमेरिकी डलर पर्दछ ।
अर्थात् नेपाल वायुसेवा निगमलाई जति घण्टा चार्टर गर्यो प्रतिघण्टा त्यतिनै शुल्क थप हुँदै जान्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल देखी नारिता अन्तर्राष्ट्रिय बिमानस्थलसम्मको उडान समय १६ घण्टालाई यहाँ हिसाब गर्दा २ लाख ७६ हजार ४ सय ८० अमेरिकी डलर तिर्नुपर्दछ ।
नेपालमा डलरको मुल्य प्रति डलर १ सय २० रुपैयाँ हिसाब गर्ने हो भने ३ करोड ३१ लाख ७७ हजार ६ सय रुपैयाँ प्रति चार्टर उडान नेपाल वायुसेवा निगमलाई बुझाउनुपर्दछ । अर्थात् चार्टर उडान भरेको कम्पनीले बुझाएका छन् ।
जापान उडान भरेको नेपाल एयरलाईन्सको बिमानको सिट क्षमता हेर्ने हो भने २ सय ७४ सिट रहेको थियो ।
जसमा १८ वटा बिजनेश क्लास रहेको थियो भने २ सय ५६ वटा ईकोनोमिक क्लासका सिट रहेको थियो ।
तर बिमानका क्रु समेतलाई सिट छुट्याएर उडान भर्न पाउने सिट भने २ सय ६८ मात्र तोकेको पाईएको छ ।
सिट क्षमता २ सय ६८ तोकिएपनि केही उडान पूर्ण क्षमतामा उड्न पाएको देखिंदैन । यसको कारण भनेको चार्टर उडान भर्ने कम्पनी र सरकारी निकाय बिचको समझदारीमा कमजोरी रहेको पाईएको छ ।
कामदार भिषा भएका तर पुन श्रम अनुमति लिन नपाएका यात्रुलाई बिमानस्थलमै श्रम दिईने भनिएपनि उनिहरु उड्न पाएनन् । अन्य केही यात्रु जो बिमानस्थलबाट फर्किएका छन् उनिहरुले व्यक्त गरेका असन्तुष्टि पनि त्यस्तै रहेको छ ।
कुरा शुल्ककै । बिमानमा १८ वटा बिजनेस क्लासको सिट रहेको छ । हालसम्म उडेका ट्राभल्सले तोकेको मुल्य अनुसार न्यूनतमलाई हेर्ने हो भने बिजनेश क्लासको १३ सय डलर लिएका छन् ।
अब २ सय ६८ सिट क्षमतामा १८ बिजनेश क्लासको सिट घटाउँदा २ सय ५० वटा ईकोनोमिक क्लासको सिट बाँकी रहन्छ ।
२५० सिटमा न्यूनतम लिएको भाडा दर ११ सय डलर मात्र गुणा गर्ने हो भने २ लाख ७५ हजार डलर उठ्ने देखिन्छ ।
चार्टर उडानको शुल्क अनुसार काठमाडौं टोकियो काठमाडौंको नेपाल वायुसेवा निगमलाई २ लाख ५० हजार ५ सय ६० डलर भुक्तानी गर्नुपर्ने निगमको कागजातमा उल्लेख छ ।
यसमा अधिकतम प्रति उडान चार्टर गर्ने कम्पनीले ५ हजार रुपैयाँ ट्याक्स रकम थप तिर्नुपर्ने निगम श्रोतले जानकारी दिएको छ ।
यस बाहेक आयटालाई तिनुपर्ने शुल्क र ग्लोबल डिस्टिव्युसन सिस्टम जिडिएस लाई बुझाउनुपर्ने शुल्क समेत चार्टर गर्ने ट्राभल्सकै खर्च हुन्छ । तर यो भारी रकम भने हुँदैन ।
नेपाल वायुसेवा निगमलाई तिरेर पनि सस्तो दिएको दाबी गर्ने ट्राभलले समेत प्रति उडान ६० लाख बढी खुद नाफा कमाएका छन् ।
तर यहाँ बुझ्नुपर्ने दुईवटा कुरा के भने ११ सय डलर भन्ने कम्पनीले पनि सबै टिकट उक्त मुल्यमा बेचेको पाईएको छैन ।
कम्पनीले सिधै नबेचेपनि बिचौलिया छिराएर वा छिरेर टिकट सकिएको बताउँदै १३ सय डलरसम्म तिरेको जापानसमाचारलाई यात्रुहरुले उपलब्ध गराएको भुक्तानी रसिद वा संवादको रेकर्ड सुरक्षित छ ।
१२ सय वा १३ सय डलरनै तोकेर उठाएको कम्पनीको नाफा कति बढी हुन जान्छ यहाँ सजिलै सबै यात्रु वा व्यक्तिले अनुमान लगाउन सक्छ ।
अँ साच्ची यसमा सुमेघ ट्राभल्स सहित आरआर, ऋदम वा १ हजार डलरमा यात्रु उडाएर कोरोना उपचार कोषको सरकारी खातामा सहयोग गर्ने घोषणा रकम भने खुद नाफामा घटाउन बाँकी नै छ । किनभने घोषणा आएपनि अहिलेसम्म सहयोग गरेको रकम कतै खुलेको छैन ।
...
उडाउने घोषणा-प्रति यात्रु १ हजार डलर मात्र ! उठाउने १४ सय लडरसम्म ! प्रतिक्षा गर्नुहोस्