(Japan) 9 th June | 2026 | Tuesday | 10:04:21 AM || (Nepal) 6:49:21 AM
 
 

जापानमा विद्यार्थीबाट डिपेन्डेन्ट भिषा परिवर्तन तरिका र ध्यान दिनुपर्ने कुराहरु

  POSTED ON : Thursday, 25 March, 2021 | Views : 6378

जापानमा विद्यार्थीबाट डिपेन्डेन्ट भिषा परिवर्तन तरिका र ध्यान दिनुपर्ने कुराहरु


टोकियो, जापान ।

जापानमा श्रीमान श्रीमती दुवैजना विद्यार्थी भिषामा बस्नुहुन्छ र कलेज तथा भोकेशनल स्कुल अध्ययन गरिरहनुभएको छ भने दुई मध्ये एकजनाले डिपेन्डेन्ट भिसा परिवर्तन गर्न सक्नुहुनेछ । दुवैजना विद्यार्थी भिसामा रहेर एकजनाको भिसा डिपेन्डेण्टमा परिवर्तन गर्न पहिलेका दिनहरुमा जस्तो सजिलो भने अहिले छैन ।

त्यसाे त केही विद्यार्थीहरू नेपालमा विवाह गरेर वालवच्चा भैसकेकाे पनि जापान आउने बेलामा नेपालका कन्सल्टेन्सीहरूले विवाह भैसकेकाे भनेकाे खण्डमा भिसा लाग्दैन भनेर अविवाहित नै लेखिदिएकाे केशहरू निकै छन् । विवाह गर्दैमा जापानकाे भिसा लाग्ने नलाग्ने भन्ने हुँदैन । तपाइँकाे अवस्था जे छ त्यही लेख्नुहाेस् । कागज बोल्ने देश जापानमा भनेजस्तो डकुमेन्टहरु तपाइँले तयारी गर्न सक्नुभयो भने भिसा प्राप्त गर्न पनि सक्नुहुनेछ । तर त्यसको लागि तपाइँले केही कुराको तयारी र त्यस विषयमा सजग भने हुनैपर्छ ।

(क) दुवैजना विद्यार्थी भिसामा जापानमा रहेको अवस्थामा विवाह गरेर एकजना पढ्ने र एकजना डिपेन्डेन्टमा बस्न सकिन्छ भन्ने कुरा सुन्नुभएकै होला । यो केही हदसम्म हो पनि तर विवाह गर्दैमा पारिवारिक अथवा डिपेन्डेन्ट भिसा प्राप्त भई नै हाल्छ भनेर नसोच्नुहोस् । जालसाजी गरेर पेपर म्यारिज अझ अर्कै पाटो र गैरकानूनी हो । विवाह गरेर सरकारी निकायबाट प्रमाणित गरेको कागजातहरु आवश्यक त पर्छ नै त्यो भन्दा अर्को कुरा भनेको विवाह गरेपछि डिपेन्डेन्टमा राख्न सक्छु भन्ने यथेष्ट प्रमाणहरु पेश गर्नुपर्ने हुन्छ र नेपालको सरकारी निकायबाट लिनुभएको प्रमाणपत्रहरु जापानी भाषामा अनुवाद आवश्यक छ । कतिपयले नेपालमा नोटरी गरेर अंग्रेजीमा बनाएर ल्याउनुहुनेहरु पनि हुनुहुन्छ तर त्यो भन्दा उत्तम उपाय भनेको नेपाली भाषामा भएको कागजातलाई सीधै जापानी भाषामा अनुवाद गर्नु हो । विशेषगरी आर्थिक पाटो मजवुत हुन आवश्यक छ । विद्यार्थी भिसामा रहेको हुनाले नियमतः २८ घण्टा काम गरेर आर्जन गर्ने रकमले विद्यार्थीको डिपेन्डेन्ट भिसा प्राप्त गर्न सक्ने सम्भाव्यता भने निकै नै कम हुन्छ ।

(ख) दुवैजना विद्यार्थी हुनुहुन्छ र एकजना डिपेन्डेन्टमा बस्ने हो भने त्यही अनुसार डिपेन्डेन्ट भिसा लिनुपर्ने हुन्छ । जस्तै श्रीमान विद्यार्थी नै रहने र विवाह गरेर श्रीमती डिपेन्डेन्टमा बस्ने कुरा हो । तर विद्यार्थी भिसामा रहेको श्रीमानको कमाई हेर्ने हो भने डिपेन्डेन्टमा राख्न सक्ने यथेष्ट कमाई नहुने हुँदा आर्थिक हिसावले डिपेन्डेन्ट राख्न नसक्ने भन्ने कारणले भिसा प्राप्त गर्न सकिने अवस्था कमै रहन्छ । तर वैंक व्यालेन्स प्रयाप्त रुपमा छ, कलेज तथा स्कुलबाट स्कलरशीप प्राप्त गर्नुभएको छ भन्ने प्रमाणहरु भएको खण्डमा प्राप्त गर्न सकिने अवस्था पनि रहन्छ । वैंक व्यालेन्सको कुरा गर्नुपर्दा विशेषतः विद्यार्थी भिसामा आएका विद्यार्थीहरुले शुरुमा आउने बेलामा मेरो ग्यारेन्टरको मासिक अथवा वार्षिक कमाई यति छ, र म निज विद्यार्थीको पढाई खर्च भरणपोषण गर्न सक्छु भनेर कागजपत्र बनाइएको हुन्छ । सोही अनुसार उहाँबाट विद्यार्थीको खातामा निरन्तररुपमा पैसा आएको देखिएको खण्डमा केही विश्वास गर्ने आधारहरु रहन्छ । तर धेरैजसोको भिसा एप्लाई गर्ने बेलामा मात्र एकैचोटी धेरै पैसा देखाउने र तुरुन्तै झिक्ने गरेको देखिएको छ जुन विश्वास गर्न योग्य हुँदैन ।

(ग) डिपेन्डेन्ट भिसामा रहन मिल्ने उमेरको हदबन्दी त हुँदैन तर पनि २० वर्ष भन्दा माथि उमेर पुगेको व्यक्तिको लागि बाबाआमाले पालनपोषण गर्नुपर्ने भन्ने नहुने हुनाले अर्थात आफैले एउटा बाटो लागेर कमाउन शुरु गर्ने भएकोले यदि २० वर्ष माथिको व्यक्तिले डिपेन्डेन्ट भिसा लिनु परेको खण्डमा डिपेन्डेन्टमा नै रहनुपर्नाको कारणहरु राम्रोसँग लेखेर बुझाउनुपर्ने हुन्छ ।

(घ) विवाह गरेर पनि पढाईलाई निरन्तरता दिन इच्छुकहरु हुनुहुन्छ । त्यस्तो अवस्थामा विवाह गरेको हुनाले डिपेन्डेन्ट भिसामा परिवर्तन गर्नु नै पर्छ भन्ने हुँदैन । विवाह गरेर पनि विद्यार्थी भिसामा बसेर दुवैजनाले पढाईलाई निरन्तरता दिन सक्छन् । डिपेन्डेण्ट भिसामा रहेर कलेज तथा स्कुल पढ्दै हुनुहुन्छ भने त्यो भिसालाई विदेशी विद्यार्थीको मान्यता नभएको हुनाले स्कुल तथा कलेजलाई तिर्नुपर्ने शुल्क बढी पर्न जानसक्ने सम्भावना रहन्छ । कलेज तथा स्कुल छाड्ने अथवा स्कुल सकिएपछि पनि जापानमा नै बस्ने हो र काम गर्ने भिसा निकाल्नुभएन भने डिपेन्डेन्ट भिसामा परिवर्तन गर्न आवश्यक छ । तर डिपेन्डेन्टमा राख्ने व्यक्ति काम गर्न शुरु गरेको छ भने धेरै हदसम्म सजिलो पर्दछ ।

(ङ) विद्यार्थी भिसा तथा डिपेन्डेन्ट भिसामा रहेकाहरुले काम गर्न पाउने समयसीमा फरक हुन्छ । डिपेन्डेन्ट भिसामा रहेकाहरुले हप्तामा २८ घण्टा काम गर्न पाउनेछन् भने विद्यार्थी भिसामा रहेकाहरुले कलेजको जाडो तथा गर्मी विदाजस्ता लामो विदामा दिनको ८ घण्टाको दरले काम गर्न पाउने हुन्छन् । त्यसको लागि कलेजले कागजात उपलब्ध गराउनुपर्ने अवस्था रहनसक्छ ।

(च) विद्यार्थी भिसाबाट डिपेन्डेन्ट भिसामा परिवर्तन गरेको खण्डमा वर्क परमिट फेरि लिनुपर्ने हुन्छ । जापानको इमिग्रेसनमा गएर आवेदन दिएपछि केही समयपश्चात तपाइँकै ठेगानामा पोष्टकार्ड आउँछ । तोकिएको समयभित्र वर्क परमिट लिन जानुपर्ने हुन्छ ।

(छ) विद्यार्थी भिसाबाट डिपेन्डेन्ट भिसामा परिवर्तन गर्न चाहेको कारण के हो खुलस्त कारण लेखेर बुझाउनुपर्ने हुन्छ । उक्त डकुमेन्टको लेख्ने तरिका, के कसरी लेख्ने भन्ने कुरामा भिसा प्राप्त हुने नहुने कुरा पनि सम्बन्ध रहेको हुनाले सकेसम्म इमिग्रेसनको कर्मचारीको चित्त बुझ्ने गरेर लेख्नुहोस् । विशेषत विवाह पूर्वका कुराहरु अनि विवाह गर्नुपर्नाका कारणहरु र विवाह पश्चातको योजनाहरु पनि समावेश गर्न सक्नुहुनेछ ।

(ज) भिसा आवेदन गर्नुभएको मिति पश्चात तपाइँको केही कुराहरु परिवर्तन भएको छ भने तुरुन्त इमिग्रेसनमा गएर खवर गर्नुहोला । जस्तैः आवेदनपश्चात कोठा सर्नुभएको खण्डमा, काम गर्ने ठाउँ परिवर्तन भएको खण्डमा अनिवार्य खबर गर्नुहोला ।

(झ) आवेदन गरेपछि आवश्यक परेको खण्डमा इमिग्रेसनले थप डकुमेन्ट माग गर्न सक्छ । माग गरिएको डकुमेन्टहरु निश्चित समयभित्र नै पेश गर्नुपर्ने हुन्छ त्यसैले हरेक दिन पोष्टमा केही आएको छ कि भनेर चेक गर्ने गर्नुहोला । यदि पेश गर्न सक्नु हुन्न भने कारणसहित नसक्ने जानकारी दिनुपर्ने हुन्छ । पेश नगर्नु भएको खण्डमा तपाइँको प्रक्रिया रोकिन सक्ने अथवा अन्तिम अवस्थामा तपाइँले अगाडि पेश गर्नु भएको कागजातहरुकै आधारमा नजिता निकाल्ने हुनाले यस विषयमा सचेत रहनुहोला । थप कागजपत्र तपाइँले हुलाकमार्फत पठाउन पनि सक्नुहुनेछ भने लिएर आफै बुझाउन पनि जान सक्नुहुनेछ । यदि हुलाकमार्फत पठाउने हो भने तपाइँको आवेदन गरेको बेलामा प्राप्त नम्बर र मिति उल्लेख गर्न नविर्सनुहोला ।

(ञ) डिपेन्डेन्ट भिसा एप्लाई गरेर यदि भएन भने तपाइँ इमिग्रेसन गएर कारण सोध्न सक्नुहुनेछ । फेरि तत्काल रि–एप्लाई गर्न पाउनु भनेको अर्को अवसर पनि हो । यदि फेरि आफैले पुनः आवेदन दिन यस विषयमा नै दक्ष व्यक्तिहरुबाट एप्लाई सहयोग लिन सक्नुहुनेछ । तर तपाइँले अघिल्लो पटक सफल नभएका कारणहरु सबै स्पष्टरुपमा भन्नुपर्ने हुन्छ । त्यसो त तपाइँले अघिल्लो पटक एप्लाई गर्दाको सबै कपी राख्नुभयो भने पुनः आवेदन दिने बेलामा धेरै सजिलो हुनेछ 

सम्बन्धित सामग्री: