(Japan) 8 th June | 2026 | Monday | 10:14:00 AM || (Nepal) 6:59:00 AM
 
 

नेपालबाट डिपेन्डेन्ट भिसामा जापान ल्याउने प्रक्रिया

  POSTED ON : Friday, 28 October, 2022 | Views : 17008

नेपालबाट डिपेन्डेन्ट भिसामा जापान ल्याउने प्रक्रिया


टोकियो, जापान ।

जापानमा जति संख्यामा मुख्य व्यक्ति कुनैपनि भिषामा नेपालीहरु रहेका छन् त्यो भन्दा धेरै डिपेन्डेन्ट भिसामा रहेको जापान सरकारको तथ्यांकले देखाउँछ ।

त्यहि भएर होला जापान वा नेपालबाट धेरै सोधिने प्रश्न हो 'नेपालबाट डिपेन्डेन्ट भिसामा परिवारका सदस्य कसरी जापान ल्याउने ?'

तपाईंहरुको यहि महत्वपूर्ण जिज्ञासालाई समाधान गर्न आफ्नो परिवारलाइ कसरी जापान ल्याउने भन्ने प्रक्रियाहरुको बारेमा यहाँ उल्लेख गरिएको छ ।


जापान कसले कसलाई डिपेन्डेन्ट भिसामा ल्याउन पाउँछ ?

१. कानुनी रुपमा विवाह गरेका श्रीमान वा श्रीमतीले एक अर्कालाई ल्याउन सक्छन् 

३. बुवा वा आमा जापानमा रहेका व्यक्तिले आफ्ना कानुनी रुपमा प्रमाण रहेका छोरा वा छोरीलाई जापान बोलाउन सक्छन् ।


जापानमा कानुनत यहाँ स्थायि रुपमा बसोबास गर्ने सबै बिदेशी नागरिकहरुले परिवारका सदस्य बोलाउन पाउँछन् । 

प्रोफेसर (教授), कलाकार (芸術), धार्मिक क्रियाकलाप (宗教), पत्रकार(報通), लगानीकर्ता, ब्यबसाय प्रबन्धक (投資・経営) सहित  उपचार सेवा (医療), अनुसन्धानकर्ता (研究), प्रशिक्षक (教育), इन्जिनियर, मानविकी विषेशज्ञ र अन्तर्राष्ट्रिय सेवा (技術・人文知識・国際業務), अन्तर–कम्पनी स्थानान्तरण (企業内転勤) लगायत भिषामा रहेकाहरुले डिपेण्डेन्ट भिसामा परिवारका सदस्य बोलाउन सक्छन् ।

यसैगरि मनोरञ्जनकार (興行), कुशल कामदार (技能), साँस्कृतिक क्रियाकलाप (文化活動), बिधार्थी (留学) लगायतले डिपेण्डेन्ट भिसामा परिवारका सदस्य बोलाउने पाउनु कानुनी व्यवस्था छ । यद्यपी विद्यार्थी लगायत केही भिसामा रहेकाहरुले परिवारका सदस्य बोलाउन कठिन हुने गरेको पाइन्छ ।

उल्लेखित भिसाहरु मध्ये बसोबास अवस्थाका आधारमा नेपालीहरु कुशल कामदार (技能) दक्ष कुक भिसा इन्जिनियर, मानविकी विशेषज्ञ र अन्तर्राष्ट्रिय सेवा (技術・人文知識・国際業務), लगानीकर्ता, ब्यबसाय प्रबन्धक (投資・経営) र बिधार्थी (留学) रहेको छ । 

यहाँ राखिएका सामग्रीहरु मुख्यत यिनै चार वटा भिसामा रहेका व्यक्तिहरुलाई सहज हुनेगरि राखिएको छ । डिपेण्डेन्ट भिसामा मुख्य भिसा बाहकले मात्र बोलाउन सक्छन्, यसमा डिपेन्डेन्ट भिसामा रहेकाले अरुलाई डिपेन्डेन्टमा बोलाउन भने पाउँदैनन् ।

प्रशिक्षार्थी कामदारको रुपमा आएका सहित तोकिएका सिमित गतिविधिहरुमा रहेका व्यक्तिहरुले पनि हालसम्मको व्यवस्था अनुसार डिपेन्डेन्ट भिसामा परिवारका सदस्यलाई जापान बोलाउन सक्दैनन् ।

यस बाहेक जापानी नागरिकसंग विवाह गरेका, यहाँको स्थाई आवासीय कार्ड भएका सहित कुटनितिक निकायमा काम गर्ने व्यक्तिहरुले भने भिन्न प्रक्रिया अपनाएर डिपेन्डन्ट भिसामा परिवारका सदस्य बोलाउनु पर्दछ ।


परिवारको सदस्यलाई कसरी जापान बोलाउने ?

धेरैको मनमा यो जिज्ञाशा पनि हुनसक्छ कि आफु आउने समयमा नै आफ्ना परिवारलाई संगै जापानमा लिएर आउन सकिन्छ कि सकिदैन । यो कुरा तपाईंको रोजगारदातामा निर्भर गर्दछ । कुनै कुनै कम्पनीहरुले आफ्ना बिदेशी मुलुकका कामदारहरुलाई परिवार संगै लिएर आउन सिफारिश पत्र उपलव्ध गराउँदछन् । यो कुरा ठूला कम्पनीहरुको हकमा लागू हुन्छ । सामान्य नेपालीहरु आउने बिधार्थी, अनुसन्धानकर्ता वा कुनै साना पुँजीका कम्पनीहरुको हकमा यो अलि असज देखिन्छ ।

उसोभए कस्ता कस्ता कम्पनीहरुले तपाईसंगै डिपेन्डेन्ट ल्याउन पाउने व्यवस्था गर्न सक्छन् त ?

जापान सरकारको कानुन मन्त्रालयका अनुसार कम्पनी श्रेणी १ र २ मा पर्नेले तपाइको डिपेण्डेण्टमा भिसाको प्रकृया छिटो गरिदिन सक्छन् । कम्पनीबाट तपाइले पाउँने तलब, सुबिधा लगायतले पनि डिपेन्डेन्टका लागि आवेदन प्रकृयामा सजिलो बनाउँछ ।

यस्ता कम्पनीहरु पहिलो श्रेणीमा रहेका छन्

१. जापान स्टक एक्सचेन्जमा सुचिकृत भएको

२. बीमा कम्पनी

३. स्वतन्त्र प्रशासनिक संस्था, विशेष सरकारी संस्था, विशेष–आधिकारिक सरकारी संगठन ।

४. कर मुक्त सरकारी सेवा संस्था जुन तालिका १ को करमुक्त सुचिमा पर्दछन् ।


दोस्रो श्रेणीमा रहेका कम्पनीहरु

– व्यक्ति र संस्था जसले अघिल्लो बर्षको कर १५,०००,००० येन वा सो भन्दा बढि तिरेका छन् ।

यदि तपाई उल्लेखित कम्पनीहरुमा काम गर्न आउँदै हुनुहुन्छ भने कम्पनीसंग सरसल्लाह गरि डिपेन्डेन्टको भिसा प्रकृया छिटो गराउनका लागि अनुरोध गर्न सक्नुहुन्छ ।

माथि उल्लेखित अनुसारको क्याटोगोरीमा तपाईको बसोबास अवस्था पर्छ भने तपाईले आफ्ना श्रीमान, श्रीमति वा बालबच्चालाई डिपेन्डेन्टका रुपमा सहजै जापान ल्याउन सक्नुहुन्छ ।

आफ्नो बसोबास अवस्थाका आधारमा आवश्यक कागजातहरु तयार गरि इमिग्रेसन ब्यूरोमा गई सर्टिफिकेट अफ इलिजिविलिटी सिओइका लागि आवेदन दिन सक्नुहुन्छ । इमिग्रेशनबाट सिओइ प्राप्त गरिसकेपछि थप केही डकुमेन्टहरु सहित नेपाल पठाउनुपर्ने हुन्छ र भिसा प्रकृया नेपालबाटै, हाल काठमाडौं ठमेलमा रहेको भिएफएस मार्फत गर्नुपर्ने छ ।


डिपेन्डेन्टको रुपमा जापान आउँदा गर्नुपर्ने तयारी

डिपेन्डेन्टका रुपमा आफ्नो परिवारलाई जापान ल्याउन सोच बनाइसक्नुभएको हो भने तपाईले केही आवश्यक कागजातहरु तयार पार्नुपर्ने हुन्छ । आवश्यक कागजातहरुको तयारी भइसकेपश्चात आँफै अध्यागमन कार्यालय (इमिग्रेशन) मा गएर वा वकिलमार्फत जापान आउनका लागि योग्यताको प्रमाणपत्र सिओईका लागि आवेदन दिन सक्नुहुन्छ ।

सामान्यता आवेदन प्रक्रियाको सुनुवाई भई नतिजा निस्कन ३ महिनाको समय लाग्छ । यद्यपी अधिकतम छिटोमा १ हप्तामा पनि प्राप्त भएको पाइन्छ । थप केही कागजातहरु माग गरिएको वा आवश्यक केही जानकारी इमिग्रेशन अधिकारीहरुले तपाईसंग माग गरेको खण्डमा यो समय लम्बिन पनि सक्छ । सामान्यतया ३ महिनाभित्र तपाईले परिवारका सदस्यलाई डिपेन्डेन्ट भिसामा जापान ल्याउनका लागि अनुमति पाउने वा नपाउने भन्ने कुरा थाहा हुन्छ ।

डिपेन्डेन्टमा ल्याउन नपाउने नतिजा आयो भने, इमिग्रेसनमै गई के कारणले ल्याउन नमिलेको हो, के कुराको कमिले गर्दा आवेदन स्वीकृत नभएको हो भन्ने विषयमा सल्लाह गर्न सकिन्छ । जसले गर्दा तपाईलाई अर्को पटक आवेदन दिंदा अहिले भएका कमीकमजोरीहरुलाई सच्चाएर पूनः आवेदन गर्न सहज हुन्छ ।


डिपेन्डेन्ट भिसामा बोलाउँदा आवश्यक डकुमेन्टहरु

अध्यागमन विभागको वेवसाइटमा अंग्रेजी भाषामै पनि आवश्यक डकुमेन्टहरुका बारेमा जानकारी दिइएको छ, हामीले ति जानकारीलाई सरल भाषामा अनुवाद गर्न प्रयास गरेका छौं ।

१. आवश्यक विवरणहरु सहित भरिएको आवेदन फारममा उल्लेख गर्नुपर्ने जानकारीहरु पहिले भरेको विवरणसंग नबाझिने, फरक नपर्ने गरि लेख्नुपर्छ ।

२. व्यक्तिगत विवरण खुल्ने गुणस्तरीय फोटो ३० मिलिमिटर चौडाई ४० मिलिमिटर ऊचाई भएको, डिपेन्डेन्टको छाती भन्दा माथिको भाग टाउको सहित राम्रोसंग देखिएको, अगाडि फर्किएको, टोपी लगाएको हुँनुहुँदैन र फोटो प्रष्ट बुझिने हुनुपर्छ । फोटो टाँस्ने भएपनि फोटोको पछाडि आवेदकको नाम समेत लेख्दा राम्रो हुन्छ ।

३. आफ्नो ठेगाना लेखि, आवेदनको नतिजा आउने खाम ३९२ येनको टिकट टासी पेश गर्नु पर्दछ ।

४. तपाई र तपाईको डिपेन्टेन्ट वीच नाता प्रमाणित गर्न यि मध्ये कुनै पनि कागज वा भएका सबै कागजात पेश गर्नुपर्दछ

– पारिवारिक नाता प्रमाणपत्र

– विवाह दर्ता प्रमाणपत्र

– जन्म दर्ता प्रमाणपत्र

– बिवाह गर्न मन्जुरी प्रमाणपत्र

साथै, तपाई र डिपेन्डेन्ट वीचको नाता प्रमाणित गर्न आवश्यक अरु कुनै कागजहरु चाहिएको खण्डमा पेश गर्न सक्नु हुन्छ । अन्य भाषामा भएका कागजातहरु अनिवार्य रुपमा जापानी भाषामा अनुवाद गरिएको हुनुपर्छ ।

५. तपाईको आवासीय कार्ड (जाइर्यु कार्ड) र राहदानी, डिपेन्डेन्टको राहदानीको कपी ।

६. काम गरेको प्रमाणपत्र वा आम्दानीको स्रोत खुल्ने कागजात

– यदि तपाई ब्यबसाय वा कम्पनीमा काम गरि आम्दानीका कृयाकलापमा संलग्न हुनुहुन्छ भने नोकरी गर्नु भएको वा ब्यबसाय संचालन अनुमति पत्र चाहिन्छ, साथै तपाईले गरेको व्यवसाय के हो भन्ने कुरा खुल्ने प्रमाणपत्र चाहिन्छ ।

– रेसिडेन्स ट्याक्स तिरेको प्रमाणपत्र (सिटी अफिसमा गई निकाल्न सकिन्छ) तिर्न बाँकी छ वा शुन्य कर छ भने पनि सोही कुरा खुल्ने प्रमाणपत्र चाहिन्छ । (निकाल्न सम्भव छैन भने तलब खुलाइएको कर्मचारी प्रमाणपत्रले पनि काम गर्छ ।)

– कम्पनीको कामदार हुनुहुन्छ भने तलबको विवरण र रोजगारी प्रमाणपत्र चाहिन्छ ।

– बसोबास गर्दै गरेको सिटी अफिसबाट जारी गरिएको बसोबास अवस्था प्रमाणपत्र (ज्यूमिन्ह्यो)

यदि तपाइँ कुनै काम वा ब्यवसाय गर्नुहुन्न वा विद्यार्थी हुनुहुन्छ भने,

– पढ्दै गरेको कलेज वा युनिभर्सिटीबाट दिइने विद्यार्थी प्रमाणपत्र ।

– तपाइको बैंकको विवरण ब्यालेन्स स्टेटमेन्ट वा कुनै छात्रवृति नियमित पाइरहनुभएको छ भने सो को विवरण पनि पेश गर्नुपर्नेछ ।

माथि उल्लेखित डकुमेन्टहरु तयार पारि तपाई आफै इमिग्रेसनमा गएर ‘सर्टिफिकेट अफ इलिजिबिलिटी’ सिओइका लागि आवेदन दिन सक्नुहुन्छ । इमिग्रेसनन वकिल मार्फत आवेदन दिंदै हुनुहुन्छ भने तपाईका व्यक्तिगत कागजातहरु वकिललाई बुझाउनु भएपछि आवश्यक फारमहरु भरि वकिलले नै इमिग्रेशन गई आवेदन दिन सक्दछन् । सो कार्यका लागि तपाईले वकिललाई पूर्णाधिकार दिएको पत्रमा हस्ताक्षर गरेको हुनुपछ जुन आवेदन फारममै हुन्छ ।


ध्यान दिनुपर्ने केही कुरा

– सर्टिफिकेट अफ इलिजिविलीटिका लागि भरिने फारम अंग्रेजीमा वा जापानी भाषामा भरेर बुझाउन पाइन्छ । प्रमाणका रुपमा पेश गरिने अन्य कागजातहरु भने जापानी भाषामा अनुवाद गरि बुझाउनुपर्छ । आवेदन फारम बुझाउने समयमा डकुमेन्टहरुको सक्कल समेत देखाउनु पर्ने हुन्छ तर फारम पेश गर्दा फोटोकपी मात्र बुझाउनुभए हुन्छ ।

बुझाएका ओरिजिनल कागजातहरु फिर्ता हुनेछैनन् । त्यसैले नेपालमा बनाएका आफ्ना सक्कल कागजातको फोटोकपीहरु मात्र बुझाउनुहोला, सक्कली बुझाउनुभयो भने पछि फिर्ता लिन नसकिने भएकाले फेरी बनाउन झण्झट व्यहोर्नुपर्ने हुन्छ ।

– जापानमा डिपेन्डेन्ट भिसामा बोलाउनु वा यहाँ राख्नु भनेको तपाईको आफ्नो कमाइमा उनीहरुलाई पाल्छु भन्ने हो । त्यसैले तपाईको मासिक कमाई कति छ भन्ने कुराले पनि डिपेन्डेन्ट ल्याउन पाउने नपाउने कुरा निर्धारण गर्छ । जापानमा बसोबासका लागि एक जनाका लागि पछिल्लो महंगी लगायत हेर्दा अनुमानित १० मान येन चाहिने हुँदा एक जना डिपेन्डेन्ट पाल्नका लागि तपाईको मासिक आम्दानी कम्तिमा पनि १८ मान भन्दा धेरै हुनुपर्छ । हाल जापानमा नेपालीहरुले सामान्यतया १८ मान जापानी येन वा सोभन्दा बढि मासिक आम्दानी हुनेहरुले डिपेन्डेन्ट भिसामा परिवारको सदस्य ल्याएको पाइन्छ ।

– साधारणतया डिपेन्डेन्टका रुपमा प्राप्त आवासिय अवस्थामा काम गर्ने अधिकार हुँदैन तर बसोबास अवस्था बाहेक अन्य कार्यमा पनि संलग्न हुन पाउँ भनि निवेदन पेश गरेपश्चात हप्तामा २८ घण्टासम्म काम गर्न जापानले अनुमति दिने गर्दछ । तर पछिल्लो समय २८ घण्टा सम्म अधिकार दिएपनि लामो समय काम गरेको र धेरै कमाई पाइएपछि त्यस्तो काम गर्ने अनुमतिहरु ६ महिनासम्मको लागि रोकिदिएका घटनाहरु बढ्दो मात्रामा पाइन्छ ।

– जापानी भाषामा राम्रो दक्षता भएका डिपेन्डेन्टले कम्पनीहरुमा कामदारका रुपमा आफ्नो भिसा परिवर्तन गरि पूर्णकालिन कामदारका रुपमा पनि काम गर्न सक्छन् ।


भिसाको यसरी आवेदन दिनुहोस्

तपाइले आफ्नो परिवार लिएर आउने सिओई पाइसकेपछि सक्कल सिओई पत्र नेपालमा पठाउनु पर्छ । साथमा तपाईको जाइर्यु कार्ड र पासपोर्टको फोटोकपी, बसोबास प्रमाणपत्र ९ज्यूमिन्ह्यो० पनि पठाउनुपर्छ । ज्यूमिन्ह्योमा तपाई बस्ने ठेगाना जापानी भाषामा मात्र हुने भएकाले अंग्रेजीमा ठेगाना लेखि पठाइदिनुभयो भने नेपालमा भिसा आवेदनका लागि फारम भर्दा सजिलो हुन्छ । सिओईको सक्कलका साथमा माथि उल्लेखित डकुमेन्टहरु नेपाल पठाउँदा हुलाकमा गई ईएमएस मार्फत पठाउन सक्नुहुन्छ । साथै निकटको भरपर्दो व्यक्तिको साथमा पनि पठाउन सकिन्छ ।

यता जापानबाट पठाइएका डकुमेन्ट नेपाल पुगेपछि श्रीमान–श्रीमतिको लागि भए विवाह दर्ताको प्रमाणपत्र र छोराछोरीका लागि भए जन्मदर्ता प्रमाणपत्र सहित नेपालमा रहेको जापानी दूतावासमा भिसा आवेदन दिनुपर्छ ।

डिपेन्डेन्ट भिसामा आउन लागेको व्यक्तिको पासपोर्ट र एक प्रति ४५ मिलिमिटर उचाई र ४५ मिलिमिटर चौडाई भएको फोटो टाँसी भरिएको भिसा फारम सहित बुझाउनुपर्छ । भिसा फारम आवेदन पश्चात नेपालस्थित भिएफएसको व्यस्तता हेरि ३ दिनदेखि दुई हप्तासम्मममा भिसा जारी हुनेगरेको पाईन्छ । सामान्यतया एक हप्तामानै भिसा प्राप्त हुनेगर्दछ ।

जापानको भिसा हात परिसकेपछि आफ्नो जापान यात्रा कसरि सहज बनाउने भन्ने कुरामा पनि ध्यान दिनुहोला । नियमानुसार भिसा जारि भएको दिनदेखि ३ महिनाभित्र जापान आइसक्नुपर्ने हुन्छ । तर कोभिड लगायत विशेष परिस्थितिहरुमा जापानले त्यस्तो समयलाई ६ महिना वा सो भन्दा बढि पनि बनाएको पाईन्छ । सामान्य अवस्थामा भने ३ महिना भित्रमा जापान प्रवेश गरिसक्नुपर्छ ।

श्रीमान वा श्रीमति डिपेन्डेन्टका रुपमा जापान आउँदै हुनुहुन्छ भने भिसा आवेदनको तयारी गर्नुपूर्व देखिनै जापानी भाषा सिक्दै गर्नुभयो भने यहाँ आएपछि दैनिक जीवनयापन सहज हुन्छ ।

माथि उल्लेखित बिषयलाइ ध्यानमा राखेर कागजपत्र बनाउनुभयो भने पक्कै पनि तपाई जापानमै रहेर आफ्नो परिवारसंगै सहज रुपमा जीवन विताउन र रमाउन सक्नुहुन्छ । यस सम्वन्धि थप केही जानकारी आवश्यक भएमा जापानको परराष्ट्र मन्त्रालयको वेवसाइट वा नेपालस्थित जापानी दूतावास तथा भिएफएसको वेवसाइटमा गई जानकारी लिन सक्नुहुनेछ ।

...

साभार : नेपारु डटकम

https://nepaaru.com/


Jpapan dependant Visa Apply Procedure

Download the application form from Application for Certificate of Eligibility.

Prepare the necessary documents.

Apply for a COE at the Immigration Bureau.

Receive the COE from the Immigration Bureau.

Send the COE via international express mail to your family in your home country.

With the COE, family members can apply for a visa at the Embassy of Japan in your home country.

To the Immigration Bureau


Application Form for each member of your family

A copy of your Passport (photo page, visa page, and landing permission page)

A copy of your spouse’s/children’s Passport (photo page)

A copy of your Resident Card (both sides)

One Photo for each member of your family (4 cm x 3 cm)*

Certificate of Enrollment

Certificate of Scholarship

A copy of official marriage certificate in your native language

A copy of official marriage certificate translated into English

A copy of official birth certificate in your native language

A copy of official birth certificate translated into English

Self-addressed and stamped envelope** (affix a 404 yen stamp for registered mail)

सम्बन्धित सामग्री: