टोकियो, जापान ।
केपी ओली सरकारको निरंकुशता, भ्रष्टाचार र बेथिति बिरुद्ध भएको दुई दिने जेन–जी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ । सरकारी तथ्यांक अनुसार प्रदर्शनकारी, प्रहरी र आगजनीमा मृत्यु हुनेको संख्या बुधवार रातीसम्ममा ३३ जना पुष्टि भएको छ ।
विभिन्न अस्पतालले ३० मृतकको सूची उपलब्ध गराएकोमा बुधबार पोखरामा आगजनी भएका संरचनाभित्र दुई र ललितपुरमा एकको शव जलेको अवस्थामा भेटिएको हो ।
प्रदर्शनको पहिलो दिन सोमबार १९ जनाको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । मंगलबार यो संख्या थपिएर ३० पुगेको थियो । बुधबार पोखरा महानगरपालिका– ६ लेकसाइडस्थित एक रिसोर्ट र पोखरा– ९ नयाँबजारस्थित एक सोरुममा गरी दुईजनाको शव जलेको अवस्थामा फेला परेको छ । बुधबारै ललितपुर ढोलाहिटीमा माओवादी अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहालको घरभित्र एकजनाको शव जलेको अवस्थामा भेटिएको थियो ।
अस्पतालहरूले स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराएको तथ्यांक अनुसार ट्रमा सेन्टरमा आठ, सिभिल अस्पतालमा ६, भेरी अस्पताल ९नेपालगन्ज०मा ५, एभरेस्टमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसीमा २, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९धरान०मा दुई र त्रिवि शिक्षा अस्पतालमा १ को मृत्यु भएको छ । यसबाहेक बुधबार माओवादी अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहालको घरभित्र जलेको अवस्थामा एक र पोखरामा पनि आगजनी भएको घरभित्र अर्को एक शव भेटिएको बताए पनि पहिचान बाँकी रहेकाले प्रहरीले आधिकारिक रूपमा सार्वजनिक गरेको छैन ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशभरका अस्पतालमा एक हजार ६१ जना घाइते भर्ना भएकामा ७१९ डिस्चार्ज भएका छन् । घाइते भएपछि सबैभन्दा धेरै सिभिलमा ६३६, ट्रमा सेन्टरमा १६१, एभरेस्टमा १०९, केएमसीमा ३३, त्रिवि शिक्षणमा २६ र वीरमा २० जना उपचारमा थिए । त्यस्तै, पाटनमा १०, गण्डकी मेडिकल कलेज ९पोखरा०मा ६, अन्नपूर्ण न्युरोमा ४ र नर्भिकमा ३ जना भर्ना थिए ।
स्वास्थ्य सचिव विकास देवकोटाले घाइतेहरूको उपचार निस्शुल्क गरिएको र कुनै असहजता नभएको बताए । तर, मन्त्रालय नै आगजनीमा ध्वस्त भएपछि अस्पताल व्यवस्थापन र बिरामीको उपचारको परिपाटी मिलाउन भने कठिन भइरहेको उनको भनाई छ । ‘मन्त्रालय ध्वस्त भयो, बाहिरबाटै अस्पतालहरूको अवस्था र उपचार प्रबन्ध मिलाइरहेका छौँ,’ उनले भने, ‘घाइतेको निस्शुल्क उपचार गरिरहेका छौँ, अधिकांश अस्पतालहरूमा ओपिडी सेवा बन्द छ, कतिपय स्वास्थ्य संरचना ध्वस्त भए, एम्बुलेन्स तोडफोड भए ।’ उनका अनुसार चारतले स्वास्थ्य मन्त्रालय र भवनभित्रका सबै सामान जलेर नष्ट भएका छन् । मन्त्रालयको स्टोर रुममा कतिपय स्वास्थ्य उपकरणसमेत थिए । केही औषधि पनि स्टोर गरिएको थियो । तर, सबै जलेर खरानी भएको छ ।