टोकियो, जापान ।
जापानले बिमानस्थल हुँदै जापान ल्याउन रोक लगाएको खानेकुरा बोकेर आएका दुईजना नेपालीलाई भिषा रद्द गरेर नेपाल फर्काईदिएको छ ।
चितवन घर भएका राजन भट्टराई (नाम काल्पनिक थर सहि) लाई उनको तीन बर्षे भिषा रद्द गरेर जापानले नारिता बिमानस्थलबाट नेपाल फर्काईदिएको छ ।
बिदामा नेपाल गएर आफ्नो बुवालाई लिएर जापान आएका भट्टराईलाई जनवरी २६ मा बिमानस्थल चेकजाँचले नियन्त्रणमा लिएको थियो ।
यस्तो छ घटना...
ड्रागन एयरको बिमानबाट आफ्नो पितालाई जापान घुमाउन भट्राई २६ तारिख साँझ नारिता बिमानस्थलमा ओर्लिएका थिए ।
बिमानबाट सामान्य अवस्थामा ओर्लिएर आवश्यक सोधपुछ र भिषा चेकजाँच समेत पार गरेर भट्टराईले आफ्नो लगेज समाईसकेका थिए ।
बिमानस्थलबाट बाहिरिएर रेल समात्न हिँड्न लागेका भट्टराई बाबुछोराको चारवटा सुटकेस गहकिलो अनि धेरै सामान थियो ।
भिषा चेकजाँचको बाहिरि भागमा प्रतिवन्धित सामान ल्याए नल्याएको सोधपुछ र चेकजाँच गर्न सुरक्षाकर्मी र सादा पोशाकमा तालिमप्राप्त कुकुर सहित कर्मचारी खटिएका थिए ।
भट्टराई बाबुछोराको सुटकेस देखेपछि शंका लागेर सुरक्षाकर्मीले रोकेर के सामान ल्याएको भनि सोधपुछ गरे । चेकजाँचबाट फुत्कन झुटो बोल्दै केही सामान नभएको बताएपनि सुरक्षाकर्मीलाई शंका लागेपछि सुटकेस खोल्न लगाए ।
तीनवटा सुटकेसमा छुट्टाछुट्टै पोको पारेर करिव ३ किलो सुकुटी र ३ किलो जत्तिनै आलो मासु ल्याएका भट्टराई सुरक्षार्कीको फन्दामा परे । पत्रिकामा राखेर पोको पारि प्लाष्टिकको झोलामा हालेको मासु समाएर सोध्दा समेत गलत बताएका भट्टराई खोलेर हेरेपछि कसैगरि चेकजाँचबाट उम्कन पाएनन् ।
एकपछि अर्को सबै सामान चेक गर्दा हरियो खुर्सानी देखी धुलो खुर्सानी लगायत अन्य खानेकुरा समेत सुटकेसमा भेटियो । जुन सामान जापान ल्याउन रोक लगाईएको छ ।
२६ तारिख राती यो घटना भईरहँदा बिमानस्थल प्रशासनले भट्टराई बाबुछोरालाई कसैलाई पनि सम्पर्क गर्न नदिएर सबै सोधपुछ गरेर रातभर साथमै राख्यो ।
सुरुमा सबै कुरा झुटो बोलेर उम्कन खोजेका भट्टराई जापानमा कुक भिषामा रहँदै आएका थिए ।
उनी श्रीमती सहित सपरिवार जापानको टोकियो नजिक बस्दै आएको बुझिएको छ ।
पहिलो पटक जापान आउँदानै प्रतिवन्धित सामान ल्याएकोमा नारिता बिमानस्थल प्रशासनले भट्टराईका बुवालाई सुरुवातमै नेपाल फर्काउने निर्णय गरेर प्रक्रिया अघि बढायो । पछि भट्टराईको गतिविधि देखेर सायद प्रशासनले उनलाई समेत भिषा रद्द गरेर नेपाल फर्काउने प्रक्रिया अघि बढाएको छ ।
भट्टराई निकटका व्यक्तिका अनुसार नेपाल फर्कनको लागि बुवा छोराकै टिकट मिलाउने प्रक्रिया भईरहेको छ ।
नेपाल फिर्ता पठाउने सबैप्रक्रिया पुरा भईसकेको प्लेनको टिकट मात्र मिलाउन बाँकी रहेको जानकारी भट्टराईलाई छुटाउने प्रयास गर्न पुगेका उनका आफन्तहरुलाई नारिता बिमानस्थल चेकजाँच अधिकारीहरुले बताएका छन् ।
अधिकारीहरुले भेटगर्न पुगेका आफन्तजनलाई जतिसक्दो छिटो टिकट मिलाउन सुझाव दिंदै त्यतिन्जेल बिमानस्थल चेकजाँच प्रशासनकै नियन्त्रणमा रहने जानकारी गराएका छन् ।
...
यस बारेमा गैर आवासिय नेपाली संघ जापानका अध्यक्ष देविलाल भण्डारीसँग जानकारी माग्दा उहाँले घटना सत्य भएको बताउनुभयो ।
बिमानस्थल प्रशासनसँग मंगलबार बिहान आफुहरुले छलफल गर्दा समेत छोड्न नमानेको बताउँदै भण्डारीले भन्नुभयो-'बुवाको दुईतर्फी टिकट भएकाले बिमान कम्पनीसँग कुरा गरेर नारिता बिमानस्थल प्रशासनले नै मिलाउने बतायो । भट्टराईको भने टिकट मिलाउन बाँकी रहेकाले एकदुई दिन लाग्नसक्ने देखिएको छ ।'
घटनाबारे जानकारी माग्दा भण्डारीले माथि उल्लेखित प्रतिवन्धित सामान ल्याएकै कारण तीन बर्ष भिषा रहेपनि भिषा रद्द गरेर नेपाल फर्काउन लागेको जानकारी बिमानस्थल अधिकारीहरुले आफुहरुलाई दिएको बताउनुभयो ।
एकपटकको लागि छाडिदिन अनुरोध गरेपनि जापानी अधिकारीहरुले छाड्न नमिल्ने भन्दै नेपालीहरुबाट नियमबिपरितका काम बढेको भन्दै आफुहरुसँग थप कुरा गर्न अश्विकार गरिदिएको भण्डारीको भनाई छ ।
प्राप्त जानकारी अनुसार यसरी भिषा रद्द गरेर नेपाल फर्काईएपछि जापान आउन पुन नयाँ प्रक्रिया अनुसार नै भिषा आवेदन दिनुपर्नेछ । यसैगरि जापानको नियमबिपरित काम गरेर नेपाल फर्काईएकाको हकमा पुन भिषा लाग्ने सम्भावना झनै न्युन हुनेगर्दछ ।
यसका साथै मुख्य व्यक्तिको भिषा रद्द भएको खण्डमा उनीहरुको भिषामा आश्रित रहेका परिवारका सदस्यहरु डिपेण्डेन्ट भिषामा रहेकाहरुको भिषा समेत जापान ईमिग्रेसनले तत्काल रद्द गर्ने प्रक्रिया अघि बढाउने गर्दछ ।
करिव ६ महिना अघिदेखी नै सूचना नै प्रकाशित गरेर जापानको कृषि, बन तथा मत्स्य पालन मन्त्रालय अन्र्तगतको पशु चेकजाँच कार्यायलयले रोक लगाईएको खानेकुरा नल्याउन चेतावनी जारी गरेको थियो ।
जस अनुसार यस्ता प्रतिवन्धित वस्तु वा खानेकुरा जापान ल्याउनेलाई ३ बर्ष जेल सजाय देखी १० लाख जरिवानासम्म हुनसक्ने छ ।
जापान आउँदा यि कुरा झुक्किएर पनि नल्याउनुहोला !
१. मासु र मासु जन्य खानेकुरा नेपालबाट विशेष ल्याईने सुकुटी, फ्राई मासु आदि
२. ससेज, सलामी, जनावरको मासुबाट बनेका कुनैपनि खानेकुरा
३. पकाएको खानेकुरा नेपालमा नै घरमा तयार पारेर पकाईएको तरकारी, मिठाईका परिकार आदि
४. मिठाई खुल्ला भाँडामा राखेर गुणस्तर, बनाएको र खान मिल्ने अन्तिम मिति उल्लेख नभएको तथा मिठाईमा प्रयोग गरिएका पदार्थ उल्लेख नगरिएको
५. सुख्खा खानेकुरा सिन्की, गुन्द्रुक, खुर्सानी, अन्य सुकाएका खानेकुरा, गाँजा, भाँगं (अचारमा प्रयोग गर्न भन्दै ल्याएको पाईन्छ)
६. खुर्सानीको धुलो, खानामा प्रयोग गरिने मसाला जन्य सामग्री खुल्ला तथा मिति, गुणस्तर, प्रयोग सामग्री नखुलाईएको
७. घ्यु, गुदपाक, सुत्केरी मसला लगायत खुल्ला घरेलु खानेकुरा जसमा बनेको मिति, प्रयोग गर्न मिल्ने मिति प्रयोग गरिएको सामग्रीहरुको नाम स्पष्ट खुलाएको छैनभने
८. प्रज्वलनशिल पदार्थ-आगलागी हुनसक्ने ग्याँस, तेल, पेट्रोलियम पदार्थ, ईनामेल, लाईटर, सलाई, विद्युत् प्रवाह गर्नसक्ने चार्ज व्याट्री लगायत
९. हतियार तथा औजार-चक्कु, खुकुरी, कैंची, पत्ती ब्लेड, हम्मर, मार्रतोल, लगायत काट्न मिल्ने खालका हतियारजन्य सामान यद्यपी यि मध्ये केही वस्तु ह्याण्ड क्यारीमा नमिलेपनि लगेजमा राखेर ल्याउन मिल्छन् । तर त्यसको लागि अनिवार्य आधिकारीक बिल र कतिपय अवस्थामा प्रयोगको उपादेयता पुष्टि गर्नसक्नुपर्दछ ।
१०. बन्दुक, गोली, बारुद्ध, पटाका लगायत विस्फोटक जन्य सामग्री पूर्णत निषेध र दण्डनिय अपराध हुन्
११. औषधि व्यक्तिगत प्रयोग गर्दै आएका औषधि बाहेक बोक्न पाईंदैन ! आफुले प्रयोग गरिरहेको हो भने पनि अनिवार्य चिकित्सकले काटेको पुर्जी र चेकजाँच गरेको कागजात हुनुपर्नेछ ।
अरु व्यक्तिको लागि हो भनेपनि थोरै मात्रामा तर जापानमा ल्याउन पाईने त्यो पनि अनिवार्य चिकित्सकको चेकजाँच पत्र, औषधि पसलको पुर्जी साथमा हुनुपर्दछ ।
पछिल्लो समय प्राणघाटक कोरोना भाईरसको संक्रमण मासुजन्य पदार्थका कारण फैलिएको कारणसमेत जापानको ईमिग्रेसले बिमानस्थलमा चेकजाँच कडा बनाएको छ ।
यस्तो अवस्थामा यसअघि चेकजाँचबाट उम्कन सफल हुनुभएको रहेछ भने भाग्यले छुट पाउनुभयो अबपनि माथि उल्लेखित सामानहरु बोकेर यात्रा गर्नुभयो भने जुनसुकै समय तपाई बिमानस्थलबाटै फर्काईनुहुनेछ । त्यति मात्र होईन जेल सजाय देखी दशौं लाख जरिवाना समेत तिर्नुपर्ने भएकाले ल्याउन नपाईने वस्तु झुक्किएरपनि नबोक्नुहोला ।
...
यसमा भुल्नै नहुने कुरा के हो भने आफन्त, ईष्टमित्र, साथीभाईको कोसेलीको नाममा केहीपनि सामान ल्याउने र लैजाने नगर्नु नै उत्तम हुन्छ ।
तपाईको सानो असावधानी अनि पठाउने मान्छेले सामान्य ठानेर पठाएका सामानले तपाईको सुन्दर भविष्यको यात्रा बिचबाटोमै रोकिन सक्छ होसियार रहनुहोला ।
पुनश्च : माथि उल्लेखित सामानहरु नेपालबाट जापान आउँदा मात्र रोक लगाएको नभई जापानबाट नेपाल जाँदा समेत नपाईने भएकाले त्यस्ता सामान जापानबाट जाँदा समेत नबोक्न तथा कसैलाई नपठाउन अनुरोध गर्दछौं ।
महत्वपूर्ण यो जानकारी सेयर गरेर सबैमाझ पुर्याउनहुन अनुरोध गर्दछौं ।