(Japan) 24 th April | 2026 | Friday | 12:31:32 PM || (Nepal) 9:16:32 AM
 
 


जापानमा विशाल बुद्धमुर्ती सँगै नेपाली शिर उँचो बनाउँदै नेपाली युवा (भिडियो सहित)

  POSTED ON : Thursday, 22 August, 2019 | Views : 16040

जापानमा विशाल बुद्धमुर्ती सँगै नेपाली शिर उँचो बनाउँदै नेपाली युवा (भिडियो सहित)


टोकियो, जापान ।

नेपाली ललितकलालाई १३ औं शताब्दिमा बिशाल चीनको परिचय बनाएका अरनिकोको जीवनबारे मञ्जुल मितेरीले कक्षा ६ को पाठ्यपुस्तकमा पढ्नुभयो ।

अरनिको बारेमा पाठ्य पुस्तकमा पढेको त्यो जीवनकथा र चीन यात्रा सबै जसोको लागि पढ्नु र परिक्षा पास हुनुमा सिमित भयो, तर मञ्जुल मितेरीको लागि त्यहि जीवनी जीवन जिउने कला र प्रेरणा बन्यो ।

अरनिकोको जीवनीबाट प्रभावित उनै मञ्जुल मितेरीले हुने बिरुवाको चिल्लो पात भने झैं कक्षा ६ बाटै ११ बर्षको उमेरमा मुर्ती निर्माण थाल्नुभयो ।

विद्यालय पढाईको समयदेखीनै मुर्तीकलालाई निरन्तरता दिनुभएका मञ्जुलले विक्रम संवत् २०५७ सालदेखी भने यसैमा आफुलाई समर्पित गर्नुभयो ।

त्यहि सर्मपण र साधनाले मञ्जुलको नेतृत्वमा नेपाली चार युवाहरु अहिले नेपाल जापान मितेरी सम्वन्धमा यो युगको चिनो अर्थात् गौतम बुद्धको बिशाल मुर्ती कोरिरहनुभएको छ जापानको चट्टानी पहरामा ।

नेपाल जापान मितेरी सम्वन्धको यो युगका चार सेतु

मञ्जुल बराईली मितेरी नेपाली मुर्तीकलाका अद्धितिय प्रतिभा भएका देशकै गहना हुन् ।

यस्तै होनहार प्रतिभा भएका धरानका जीवन पौडेल, मोरगं मित्लाजुंगका गणेश राई र रामकुमार राई दाजुभाई अहिले जापानको छहरामा रहेको चट्टानी पहरामा गौतमबुद्धको मुर्ती कोरिरहनुभएको छ ।

चार बर्षदेखी यि नेपाली कलाकारको साधनाले रुप आकार लिईसकेपनि एक बर्षपछि मात्रै मुर्तीले पुर्णता पाउने भएको छ ।


नेपालीले बनाएको बुद्ध मुर्ती विश्वकै २० र २१ औं शताब्दिकै विशाल

नेपाली ललितकलाको अन्तर्राष्ट्रियकरणको सुरुवात अरनिकोले १३ औं शताब्दिमा चीनमा निर्माण गरेको प्यागोडा शैलिका मन्दिर लगायतबाट भएको मानिन्छ ।

अरनिकोले निर्माण गरेको नेपाली ललितकलाको त्यो अद्भुत क्षमता प्रदर्शनपछि जापानमा निर्माण भईरहेको बुद्ध मुर्ती नै नेपाली ललितकलाको लागि दोस्रो ठूलो अवसर मान्नुहुन्छ मञ्जुल मितेरी ।

अझ त्यसमा पनी नेपालमै जन्मिनु भएका गौतम बुद्धको मुर्ती निर्माण गर्न पाउनु नेपाल र नेपालीको लागि खुशी र गर्वको विषय भएको मितेरी बताउनुहुन्छ ।

मञ्जुल जब सन् २०१६ को सेप्टेम्बरमा जापान आउनुभयो । जापानको कुमामोतो केनको खामियामा कुशामा चट्टानी पहरा बाहेक केही थिएन ।

पानी बगिरहेको त्यो छहरामा चट्टानी भाग मात्र थियो कोरा पहाडजस्तै । पहरामा खेती गर्न सक्ने बिर नेपाली त्यसमा सिपले पोख्त नेपाली कालिगढ । मञ्जुलले चुनौतीलाई स्विकार गर्दै सन् २०१६ सेप्टेम्बरबाट सुरुवात गर्नुभयो बुद्धको बिशाल मुर्ती बनाउने ऐतिहाँसिक काम आफ्ना दक्ष नेपाली ललितकलाका कालिगढको सहायताबाट ।


यस्तो बन्दैछ जापानी पहरामा बिशाल बुद्ध मुर्ती

७० फिट अग्लो अनि २०० फिट लामो आकारमा फैलिएको चट्टानी पहरामा बुद्धको मुर्तीले आकार लिईसकेको छ । बुद्धको मुर्ती सहित सात वटा मुर्ती रहने चट्टानी पहराको यो भित्तामा सबै मुर्ती बुद्धका विभिन्न अवतारका बन्दै छन् ।

मुख्य बुद्धको मुर्ती ६५ फुट अग्लो बनेको छ । जसमा सहायक मुर्तीहरु मध्ये दुईवटा ४० फिटको बन्दैछन् ।

मुर्तीको आकृति नेपाली बौद्धकलाको बुद्धमुर्तीसँगै हुबहु नमिलेपनि बुद्धकै जापानी अवतारका रुपहरु रहेका छन् ।

सहायत मुर्ती मध्ये अन्य ४ वटा बुद्धका विभिन्न अवतारका मुर्ती २५ फिटका बनेका छन् ।


बुद्धको मुल मुर्तीसँगै सहायक मुर्तीहरु सबै नेपाली बौद्ध कलाको मुर्तीसँग आकृति मिलेपनि हुबहु आकार भने मिल्दैनन् ।

मुर्ती निर्माणको थालनी भएको तीन बर्ष बितेको छ मितेरी भन्नुहुन्छ यो अवधिमा काम ५० प्रतिशत सम्पन्न भएको छ ।

अब थप तीन बर्ष लाग्ने छ । सन् २०२२ को अन्तिमसम्ममा दुई शताब्दिकै विशाल मुर्ती निर्माण पूर्णरुपमा सम्पन्न हुनेछ ।

मञ्जुल मितेरीका अनुसार हावाहुरी तथा पानी, हिउँ आदि परेको समय र रातमा समेत काम नहुने भएकाले मुर्ती निर्माण केही सुुस्त जस्तो देखिएपनि योजना अनुसारनै भईरहेको छ ।

जापानकै ठूला मुर्तीहरुमा गनिने यो बुद्ध मुर्ती विश्वमै २१ औं शताब्दिमा निर्माणाधिन ठूलो मुर्तीको रुपमा रहेको छ । यो शताब्दि मात्र नभएर २० औं शताब्दिमा समेत यो आकारको ठूलो मुर्ती बनेको नपाईएको मितेरीले जानकारी दिनुभयो ।

जापानकै सबैभन्दा ठूलो तथा विश्वकै तेस्रो विशाल उसिकु दाईबुचु  बुद्धको मुर्ती भने ईबाराकि केनमा रहको छ । जसको उचाई मात्र १ सय २० मिटर अग्लो रहेको छ ।

निर्माणाधिन बुद्ध मुर्ती जापानी कला र संस्कृतीमा पुजीने स्वरुप र शैलीमा रहेको छ । यसलाई थप प्रष्ट्याउँदै मञ्जुल मितेरीले भन्नुभयो चिन, ईण्डोनेसिया भारतमा समेत भगवान गौतम बुद्धको मुर्तीमा भिन्नता रहेको छ ।

'चीनमा बनेका बुद्ध मुर्ती ईण्डोनेशिया वा थाईल्याण्डमा भएका बुद्धमुर्तीसँग हुबहु मिल्दैनन्' मितेरीले भन्नुभयो-'नेपालमै भएका बुद्ध मुर्तीसँग भारतमा बनेका बुद्धमुर्तीसमेत मिल्दैन । किनभने मिथक र किंवदन्ती अनुसार आकृती बन्ने र धर्म तथा संस्कार अनुसार भगवान गौतम बुद्धका रुपहरु फरक रुपमा व्याख्या गरेको पाईएकाले यस्तो भिन्नता भएको हुनसक्छ ।'


ओसिमा अर्थात् मुर्तिहरुको पहाड जसको पहल र योजनामा बुद्धमुर्ती बन्दैछ

ओसिमा सेकिबुचुयामा निर्माणाधिन बुद्ध मुर्तीका रचनाकार तथा मुख्य योजनाकार हुन् ।

ओसिमा तिनै संस्थापक व्यक्ति हुन् जुन संस्थाको पहलमा बिशाल बुद्धमुर्ती निर्माण भईरहेको छ । ओसिमा संस्थापकको नाम हो भने सेकिबुचुयामा भन्नाले नेपालीमा मुर्तिहरुको पहाड भन्ने अर्थ हुन्छ ।

चट्टानी पहरामा मुर्तिहरुको पहाड कुँद्ने यो कलाको लागि कुल लागत करिव ५० करोड जापानी येन लाग्ने अनुमान गरिएको छ ।

मुर्ति निर्माणकै लागि भनेर निर्माण गरिएको संस्थाले लगानी देखी मुर्ती संरक्षण सम्मको सबै काम गरिरहेको छ ।

पहाडको फेदमा रहेको चट्टानी पहरामा बुद्धमुर्ती बनाउने कामलाई पूर्णता दिन संस्थाले आर्थिक संकलन लगायत काम गर्दै आएको छ ।


मुर्ती निर्माण अघि बुद्ध मुर्ती स्थापना हुँदै गरको चट्टानमा झरना बग्नेगरेको थियो । मुर्ती निर्माण सुरु गर्दा भने सो ठाउँ भएर बग्ने झरनालाई बाँध निर्माण गरेर अन्यत्र मोडिएको छ ।

बुद्ध मुर्तीको तल्लो भागमा कुनदेशका मुर्तीकारले निर्माण गरेको भन्ने व्यक्तिको नाम देशको नाम उल्लेख गरिने भएको छ ।

स्मरणीय छ हालसम्मकै सबैभन्दा ठूलो पूर्ण कदको बुद्ध प्रतिमा भने चीनको सिचुआन प्रान्तमा रहेको छ । सातौं शताब्दिको अन्तिम समयमा बनेको उक्त बुद्ध प्रतिमा २ सय ३३ फिट अग्लो रहेको छ ।


मञ्जुलको विन्ध्यवासिनी मुर्ती देखी शताब्दिकै बिशाल बुद्धमुर्ती यात्रा


मञ्जुल मितेरीले काठमाडौंको नैकापमा अवस्थित १० फिटको बिन्ध्यवासिनीको मुर्ती विक्रम संवत् २०६९ सालमा निर्माण सम्पन्न गर्नुभएको थियो । ६ महिना लगाएर सहयोगीको साथमा निर्माण त्यो मुर्तीसँगै ताप्लेजुगंमा हेलिकोप्टर दुर्घनामा परि निधन हुनुभएका तत्कालिन बनमन्त्री गोपाल राई, डा. हर्क गुरुगं लगायत २४ जनाको मुर्ती समेत उहाँलेनै निर्माण गर्नुभएको छ ।

तेह्रथुमको संक्रान्ति बजारमा रहेको महागुरु फाल्गुनन्द लिङदेनको ८ फुटको पूर्ण कदको शालिक मात्र होईन यस्ता तीन हजार बढी मुर्तीमा कला भर्नेकाम मञ्जुलले गरिसक्नुभएको छ ।

नेपालमै मुर्ती निर्माणमा कला भर्न व्यस्त मञ्जुलको कलाबाट प्रभावित नेपाली युवा दिलिप लामिछाने जो जापानको फुकुओकामा अध्ययनरत हुनुहुन्थ्यो उहाँले यहाँ बुद्ध मुर्ती निर्माण हुन लागेको र मुर्तीकार खोजीबारे जानकारी पाएपछि दुवै पक्षलाई भेटगर्ने चाँजो मिलाईदिनुभयो । यसले मञ्जुलको सिप, कला र कौशललाई अन्तर्राष्ट्रिय रुपमा प्रस्फुटीत हुने अवसर पायो ।


नेपालमा १ हजार व्यक्तिका अर्धकदका शालिक निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य मञ्जुलको छ ।

हालसम्म १ सय ५० त्यस्ता व्यक्तिको मुर्ती निर्माण गरिसकेको मञ्जुलले जानकारी दिनुभयो । जसमध्ये लक्ष्मिप्रसाद देवकोटा, तेन्जिगं नोर्गे शेर्पा, पारिजात, कार्लर्माक्स, अल्बर्ट आईन्सटाईन लगायत पर्न सफल भईसकेका छन् ।

अहिले कामकै शिलशिलामा जापानमा रहनुपरेपनि नेपाल छुट्टिमा जाँदा यसलाई निरन्तरता दिईरहेको र परिवारले समेत साथ दिएको मञ्जुलले बताउनुभयो ।

मञ्जुलको यहि कलाकारिता र अद्भुत क्षमताकै कारण नेपाल सरकारले विक्रम संवत् २०७२ सालमा उहाँलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित समेत गरिसकेको छ ।

 

लक्ष्मि पौडेलको सहयोगमा प्रस्तुती : गोकर्ण अधिकारी