टोकियो, जापान ।
जापानमा बसोबास गर्ने नेपाली समुदायको सक्रियता र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ “दोस्रो मोना नेपाल फेस्टिवल” आयोजना तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर आयोजना हुन लागेको फेस्टिवल जापानको टोकियोस्थित इताबाशी क्षेत्रमा अवस्थित अकात्सुका पार्कमा आयोजना गरिने तयारी गरिएको छ ।
जापानमा रहेका म्याग्दी जिल्लाका नेपालीहरूको साझा संस्था मोना जापानले फेस्टिवलको आयोजना गर्न लागेको हो । नेपाली संस्कृति, कला, परम्परा, पर्यटन तथा नेपाली उत्पादनलाई जापानी समाजसामु चिनाउने उद्देश्यका साथ फेस्टिवल आयोजना गर्न लागिएको मोना जापानका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिनुभयो ।
पहिलो संस्करणको सफलतापछि दोस्रो पटक आयोजना हुन लागेको यो महोत्सवले जापानमा रहेका नेपालीहरूबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास गरिएको छ।
जापानमा नेपाली पहिचानको उत्सव
नेपालबाट हजारौँ किलोमिटर टाढा जापानमा बस्ने नेपालीहरूका लागि सांस्कृतिक कार्यक्रमहरू केवल मनोरञ्जनका कार्यक्रम मात्र होइनन्, ती उनीहरूको पहिचान, संस्कार र सम्बन्धलाई जोगाइराख्ने माध्यम पनि हुन् ।
यही उद्देश्यलाई आत्मसात गर्दै मोना जापानले “मोना नेपाल फेस्टिवल” लाई निरन्तरता दिएको अध्यक्ष श्रेष्ठ बताउँछन् । आयोजकका अनुसार यो महोत्सव केवल म्याग्दी जिल्लाका नेपालीहरूको कार्यक्रम नभई जापानमा रहेका सम्पूर्ण नेपालीहरूको साझा सांस्कृतिक उत्सवको रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।
जापानमा नेपालीहरूको संख्या पछिल्लो दशकमा उल्लेखनीय रूपमा बढेको छ । विद्यार्थी, श्रमिक, व्यवसायी तथा विभिन्न पेशामा आबद्ध करिव ३ लाख नेपालीहरू यहाँ बसोबास गर्दै आएका छन् । यस्तो अवस्थामा नेपाली संस्कृति र समुदायबीचको सम्बन्धलाई जीवन्त राख्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने आयोजकहरूको विश्वास छ।
पहिलो फेस्टिवलको सफल अनुभव
मोना जापानले गत वर्ष पहिलो पटक मोना इतावासि नेपाल फेस्टिवल आयोजना गरेको थियो । पहिलो संस्करणले अपेक्षा भन्दा धेरै सफलता प्राप्त गरेको थियो ।
कार्यक्रममा नेपाली परम्परागत नृत्य, गीत–संगीत, लोकसंस्कृति, नेपाली खाना तथा हस्तकलाका स्टलहरू राखिएका थिए । हजारौँ नेपाली र जापानी नागरिकहरूले कार्यक्रममा सहभागिता जनाएका थिए ।
पहिलो फेस्टिवलको सफलताबाट उत्साहित हुँदै आयोजकहरूले दोस्रो संस्करणलाई अझ भव्य र व्यवस्थित रूपमा आयोजना गर्ने योजना बनाएका छन् ।
आयोजकका अनुसार यस पटक फेस्टिवलमा सांस्कृतिक कार्यक्रमका साथै विभिन्न मनोरञ्जनात्मक गतिविधि, बालबालिकाका खेलकुद कार्यक्रम तथा नेपाली उत्पादनहरूको प्रदर्शनी समेत गरिनेछ ।
नेपाली पर्यटन प्रवर्द्धनमा जोड
फेस्टिवलको अर्को महत्वपूर्ण उद्देश्य नेपाल पर्यटनको प्रवर्द्धन पनि हो ।
नेपाल प्राकृतिक सुन्दरता, हिमाल, धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण देश हो । तर जापानमा नेपालबारे जानकारी अझै सीमित रहेको पाइन्छ ।
यही कारणले फेस्टिवल मार्फत नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूबारे जानकारी दिने योजना बनाइएको छ । विशेष गरी म्याग्दी जिल्लामा रहेका प्रसिद्ध पर्यटकीय स्थलहरूको प्रचार–प्रसारमा जोड दिइने आयोजकको भनाई छ ।
म्याग्दी जिल्लामा रहेको घोडेपानी पुन हिल ट्रेकिङ रुट विश्वभरका पर्यटकहरूका लागि आकर्षणको केन्द्र हो । यसैगरी अन्नपूर्ण बेस क्याम्प जाने मार्गको महत्वपूर्ण प्रवेशद्वार पनि म्याग्दी क्षेत्रमा पर्दछ ।
फेस्टिवल मार्फत यस्ता पर्यटकीय गन्तव्यहरूको प्रचार गर्दा जापानी पर्यटकहरू नेपाल भ्रमण गर्न प्रेरित हुने अपेक्षा गरिएको छ ।
नेपाली स्वाद र परम्परागत कला
मोना नेपाल फेस्टिवलको अर्को आकर्षण नेपाली परम्परागत खाना हुनेछ।
कार्यक्रममा नेपाली समुदायले सञ्चालन गर्ने विभिन्न खानाका स्टलहरू रहनेछन् ।
यी परिकारहरूले जापानी नागरिकहरूलाई नेपाली खानाको स्वाद चखाउने अवसर प्रदान गर्नेछन् ।
यसका साथै नेपाली हस्तकला, पोशाक, सांस्कृतिक सामग्री तथा नेपाली उत्पादनहरूको प्रदर्शनी पनि गरिनेछ ।
सांस्कृतिक प्रस्तुति र कलाकार
फेस्टिवलमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्।
लोक नृत्य, आधुनिक गीत–संगीत, सांस्कृतिक झाँकी तथा नेपाली पहिचान झल्काउने विभिन्न प्रस्तुति रहनेछन् । जापानमा रहेका नेपाली कलाकारहरू सहित जापानी कलाकारहरु तथा सांस्कृतिक समूहहरूले कार्यक्रममा प्रस्तुति दिने छन् ।
कार्यक्रममा नेपाली लोकसंस्कृति झल्काउने झाँकीहरू प्रस्तुत गरिनेछन् । जसले जापानी दर्शकहरूलाई नेपालको विविध सांस्कृतिक सम्पदाबारे जानकारी दिनेछ ।
आयोजकका अनुसार फेस्टिवलमा करिव १० हजार नेपाली तथा जापानी नागरिकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
यस्ता कार्यक्रमहरूले विदेशमा रहेका नेपालीहरूबीच आपसी सम्बन्ध मजबुत बनाउने, नयाँ पुस्तालाई नेपाली संस्कृति र परम्परासँग जोड्ने तथा नेपालप्रतिको माया र पहिचानलाई जोगाइराख्ने काम गर्ने विश्वास गरिएको छ ।
यस्ता सांस्कृतिक महोत्सवहरूले नेपाल र जापानका नागरिकहरूबीच आपसी समझदारी बढाउने र सांस्कृतिक आदान–प्रदानलाई अझ मजबुत बनाउने काम गर्ने विश्वास गरिएको छ ।
जापानी नागरिकहरूका लागि नेपाल केवल हिमाल र पर्यटनको देश मात्र नभई समृद्ध संस्कृति, परम्परा र आत्मीयताको देश पनि हो भन्ने सन्देश दिन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ ।