टोकियो, जापान ।
सोमबार बिहान टोकियोको हानेदा विमानस्थलको परिसरमा रहेको एउटा भवनमा आगलागी भएको छ, तर आगलागीका कारण उडानहरूमा कुनै ढिलाइ वा निलम्बन नभएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
स्थानीय प्रहरी र अग्नि नियन्त्रण विभागलाई उद्धृत गर्दै सार्वजनिक प्रसारक NHK ले हानेदा विमानस्थलको परिसरमा रहेको एउटा भवनमा बिहान ९:०० बजेपछि आपतकालीन फोन आएको र आगलागी भएको उल्लेख गरेको छ ।
आगो निभाउन ३० भन्दा बढी दमकल र अन्य सवारी साधन घटनास्थलमा पुगेका छन् र अग्नि नियन्त्रण कार्य अझै जारी रहेको NHK ले जनाएको छ।
टोकियो विमानस्थल कार्यालयले पुरानो ह्याङ्गरमा भत्काउने काम भइरहेको क्षेत्रमा आगलागी भएको बताएको छ, आगलागीका कारण उडानहरूमा कुनै ढिलाइ वा निलम्बन नभएको उल्लेख छ ।
टोकियो महानगरीय प्रहरी विभाग र टोकियो अग्नि नियन्त्रण विभागले हाल कुनै चोटपटक लागेको छ कि छैन वा मानिसहरू भाग्न असमर्थ छन् कि छैनन् भनेर जाँच गरिरहेका छन्।