(Japan) 1 st May | 2026 | Friday | 6:13:47 PM || (Nepal) 2:58:47 PM
 
 


जापानमा तहल्का मच्चाउने तयारीमा कुमा सागर एण्ड द ख्वप ब्यान्ड

  POSTED ON : Friday, 04 April, 2025 | Views : 1542

जापानमा तहल्का मच्चाउने तयारीमा कुमा सागर एण्ड द ख्वप ब्यान्ड


टोकियो, जापान ।

आफ्नै भाका र शैली अनि फरक नेपाली सांगितिक स्वाद पस्किएर छोटो समयमै चर्चा र लोकप्रियताको शिखर चुम्दै गरेका गायक कुमा सागर र उनको द ख्वप ब्यान्डले जापानमा सांगितिक तहल्का मच्चाउने देखिएको छ ।

विशेषत नेवारी भाषा र भाकालाई सांगितिक स्वादमा मिसाएर दर्शकको मन जित्न सफल कुमा सागर र उनको व्याण्ड अष्ट्रेलिया पछि जापान आउने तयारीमा छ । टोकियो, ओसाका, नागोया र फुकुओका शहरमा लाइभ कन्सर्टको तयारी भइरहँदा टोकियोको लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको आयोजक दाजुभाई ईन्टरटेनमेन्ट र मन्त्र इन्टरटेनमेन्टले जनाएको छ ।

जापानमा कुमा सागर एण्ड द खोपा व्याण्डलाई भित्राएको एमएन प्रोडक्सनका अनुसार फुकुओकामा पहिलो कन्सर्ट मे १ तारिख आयोजना हुनेछ ।

यसैगरि टोकियोमा मे ४ तारिख सांगितिक तहल्का मच्चाउने तयारीमा रहेको कुमा सागर व्याण्डले ओशाका शहरमा मे ९ तारिख र जापानका नागोया शहरमा मे १२ तारिख आफ्नो सांगितिक प्रस्तुती सहित जापान यात्रालाई बिट मार्नेछ ।

टोकियो कन्सर्ट आयोजक दाजुभाई प्रोडक्सनका अनुसार सुरुवाती विशेष छुटको टिकट बिक्री सकिएको छ । सामान्य तर्फको टिकट विक्रि समेत अन्तिम चरणमा पुगेकाले कन्सर्टको हप्तादिन अघिनै सबै टिकट विक्रि हुने अपेक्षा आयोजकले राखेको छ । सीमित मात्र टिकट बाँकी भएकोले छिट्टै आफ्नो सिट सुरक्षित राख्न समेत कुमा सागर र उनको व्याण्डको लाईभ कन्सर्ट प्रतिक्षामा रहेका फ्यानहरुलाई आयोजकले आग्रह गरेको छ ।

कुमा सागरको जापान सांगितिक टुरको मुख्य प्रायोजन स्माइल रेमिट्यान्सले गरेकाले व्याण्डको जापान सांगितिक टुरको नाम स्माइल मोबाइल रेमिट्यान्स म्यूजिक टुर २०२५ नाम दिइएको छ ।

नेपाली गीत संगीतको दुनियामा पछिल्लो पुस्तामा कुमा सागर लोकप्रियताको शिखरमा छन् । उनको गीत गाउने छुट्टै शैली, नेवारी संगीतको प्रभावले धेरैलाई मोहित तुल्याएको छ । कुमा सागर प्रतिको दर्शक मोह र आकर्षणलाई अविस्मरणीय बनाउने तयारीमा रहेका आयोजकहरुले टोकियो सहित ओसाका, नागोया र फुकुओका चारवटै शहरमा कन्सर्ट आयोजनाको हप्तादिन अघिनै टिकट विक्रि सोल्ड आउट गर्ने लक्ष्य सहित व्यापक प्रचार थालेको छ ।