काठमाडौं, नेपाल ।
बडा दशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसेर धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी १५ दिन लामो दुर्गा पक्ष समाप्त हुन्छ ।
आजको दिन साँझ महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।
दशैंको टीका र जमरा लगाउने क्रम आज समाप्त भई भोलिदेखि कात्तिक स्नान र आकाशदीप दान गर्ने गरिन्छ ।
यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।
आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ ।
आज बेलुकी सबै बलि पूर्ति नभएसम्म देवीको प्रसादको रुपमा दशैंको टीका र जमरा लगाउनु शास्त्रसम्मत हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
भोलि बिहान दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ । यस पटक आज पूर्णिमा केहि ढिलो गरि सुरु हुने र भोली पनि पूर्णिमाको केहि घडि बाँकी रहने भएकाले भोलि बिहान मात्र धेरैले दशैं टिका विर्सजन गर्ने भएका छन् ।
भोलिदेखि नै कात्तिक स्नान सुरु हुने र आकाशदीप दान गर्ने प्रचलन छ । यसलाई दशैंको बिदा र तिहार सुरु हुने संकेतका रुपमा लिने गरिन्छ । औपचारिक रुपमा भने दशैं सकिएको १० दिनपछि तिहार पर्व सुरु हुनेछ ।