(Japan) 17 th February | 2025 | Monday | 10:13:53 AM || (Nepal) 6:58:53 AM
 
 


आजबाट श्री स्वस्थानी व्रतकथा सुरु

  POSTED ON : Monday, 13 January, 2025 | Views : 300

आजबाट श्री स्वस्थानी व्रतकथा सुरु


काठमाडौं, नेपाल ।

पौष शुक्ल पूर्णिमाको दिन अर्थात् आजबाट नेपाली सनातन धर्मावलम्बीहरुले एक महिने श्रीस्वस्थानी व्रत शुरु गर्दैछन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्री स्वस्थानी परमेश्वरीको व्रत लिने हिन्दु सनातनी परम्परा रहि आएको छ ।

विधिपूर्वक व्रत बस्नेले दिनहुँ स्नान गरी मध्याह्नमा महादेव र स्वस्थानी परमेश्वरीको पूजा आराधना गरेर उनको माहत्म्य सुन्ने गर्छन ।

व्रतको अन्तिम दिन माघशुक्ल पूर्णिमामा विशेष पूजा आराधना गरी अक्षता, फलफूल नैवेद्य, जनै, पान र सुपारीलगायत १०८ को संख्यामा चढाउने परम्परा छ । यसरी विधिपूर्वक व्रत गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । यो अवधिमा पाशुपत क्षेत्रस्थित गुह्येश्वरी, गौरीघाट र किरातेश्वर महादेवका मन्दिर व्रतालु पुग्ने गर्दछन । यस्तै गोकर्ण र साँखुस्थित शालीनदीलगायत स्थानमा पनि व्रतालुको घुइँचो लाग्छ । यी तीर्थस्थलको महिमा स्वस्थानी व्रतकथामा पनि बताइएको छ ।

विधिपूर्वक व्रत नबस्नेले पनि बिहान वा साँझमा स्वस्थानी व्रतकथा वाचन तथा श्रवण गर्ने गरिन्छ । सत्ययुगमा पार्वतीले भगवान् विष्णुको उपदेशमा स्वस्थानी व्रत बसेर महादेव पति पाएको उल्लेख छ ।

गोमा र चन्द्रावतीलगायत पात्रले स्वस्थानीको व्रत गरी इच्छाअनुसारको वरदान पाएको व्रतकथामा उल्लेख छ । काठमाडौंको उत्तर पूर्वीभेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदी र भक्तपुरको हनुमानघाटमा एकमहिने माधवनारायणको मेला पनि पौष शुक्ल पूर्णिमामै आरम्भ हुन्छ । श्रीस्वस्थानी र माधवनारायणव्रत माघ ३० गते समापन हुने छ ।