(Japan) 4 th November | 2024 | Monday | 8:21:43 AM || (Nepal) 5:06:43 AM
 
 


तिहार आयो : भाइटीकाको शुभ साइत नोभेम्बर ३ तारिख ११:३७ बजे

  POSTED ON : Tuesday, 29 October, 2024 | Views : 304

तिहार आयो : भाइटीकाको शुभ साइत नोभेम्बर ३ तारिख ११:३७ बजे


काठमाडौं, नेपाल ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ।


यही कात्तिक १८ (नोभेम्बर ३ तारिख) को बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिएका छन । भाइटीका पश्चिम मोहडा गरेर लगाउँदा शुभ हुने समितिले जनाएको छ ।


समितिका अनुसार नेवार समुदायले मनाउने किजापूजा पनि १८ गते नै गर्नुपर्ने छ ।


यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक १३ देखि सुरू हुँदैछ । मङ्गलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ। यमदीपदान भने कात्तिक १४ मा परेको छ ।


कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि त्यही दिन मनाइन्छ। 


कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ मा मनाउनुपर्छ । कात्तिक १६ औँसी परेको छ । त्यसदिन भने तिहारको कुनै पर्व नपरेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


कात्तिक १७ मा गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ परेको छ। यसैगरी कात्तिक २२ मा छठ पर्व परेको समितिले जनाएको छ।