(Japan) 6 th April | 2026 | Monday | 3:05:48 PM || (Nepal) 11:50:48 AM
 
 


दोस्रो मोना इताबासी नेपाल फेस्टिबल भव्य आयोजनाको तयारी अन्तिम चरणमा

  POSTED ON : Monday, 06 April, 2026 | Views : 82

दोस्रो मोना इताबासी नेपाल फेस्टिबल भव्य आयोजनाको तयारी अन्तिम चरणमा


टोकियो, जापान ।

जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको दोस्रो मोना इताबासी नेपाल फेस्टिबल–२०२६ लाई भव्य रुपमा सफल बनाउन आयोजकको तयारी अन्तिम चरणमा पुगेको छ। म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा हुने यस महोत्सवले नेपाल र जापानबीचको सांस्कृतिक, सामाजिक तथा आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

आयोजकका अनुसार आगामी अप्रिल ११ र १२ तारिखमा सञ्चालन हुने यो दुई दिने महोत्सवका लागि आवश्यक सबै व्यवस्थापन कार्यहरू तीव्र गतिमा अगाडि बढाइएको छ। कार्यक्रम संयोजक ज्ञानेन्द्र कार्कीले महोत्सवको सम्पूर्ण तयारी लगभग पूरा भइसकेको जानकारी दिँदै अब अन्तिम व्यवस्थापन तथा समन्वयको काम भइरहेको बताए।

महोत्सव विशेषगरी टोकियोको इताबासी क्षेत्रमा रहेको दाइतो विश्वविद्यालय, इताबासी क्याम्पसमा आयोजना हुनेछ। यस अवसरमा उक्त विश्वविद्यालयको विशेष सांस्कृतिक प्रस्तुति पनि रहनेछ, जसले जापानी र नेपाली संस्कृतिबीचको सम्बन्धलाई झन् प्रगाढ बनाउने विश्वास गरिएको छ। साथै, जापानस्थित नेपाली राजदूतावास र ताकाशिमादाइरा प्रहरीद्वारा जानकारीमूलक स्टलहरू पनि सञ्चालन गरिनेछ, जसबाट सहभागीहरूले उपयोगी जानकारी प्राप्त गर्न सक्नेछन्।

आयोजकका अनुसार महोत्सवमा नेपाली १२ र जापानी ११ गरी कुल २३ वटा स्टलहरू रहनेछन्। ती स्टलहरूमा नेपाली खाना, हस्तकला, पर्यटन, परम्परा तथा विभिन्न व्यवसायिक सामग्रीहरूको प्रदर्शन र बिक्री गरिनेछ। यसले नेपाली संस्कृति र उत्पादनलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रवर्द्धन गर्ने अवसर प्रदान गर्नेछ।

दुई दिनसम्म सञ्चालन हुने यस महोत्सवमा करिब १५ हजार दर्शकहरूको सहभागिता रहने अनुमान गरिएको छ। आर्थिक हिसाबले पनि महोत्सव महत्वपूर्ण रहने अपेक्षा गरिएको छ, जहाँ ५० देखि ६० लाख रुपैयाँ बराबरको कारोबार हुने प्रक्षेपण गरिएको छ।

महोत्सवलाई अझ आकर्षक बनाउन विभिन्न सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरिनेछ। विशेषगरी म्याग्देली कलाकार रवि कार्की तथा चर्चित गायक सूर्य खड्कालगायत कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ। उनीहरूको सांगीतिक प्रस्तुति महोत्सवको मुख्य आकर्षण बन्ने विश्वास गरिएको छ।

महोत्सवको तयारीसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एनआरएनए आईसीसीका नवनिर्वाचित उपाध्यक्ष तथा मोना जापानका सल्लाहकार ददिबल खड्का, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष तथा मोना जापानका सल्लाहकार तिलक मल्ल, कलाकार रवि कार्की तथा नेपाल पत्रकार महासंघ जापानका सचिव अर्जुन लामिछानेले आ–आफ्ना धारणा व्यक्त गरेका थिए। उनीहरूले यस्तो कार्यक्रमले प्रवासी नेपाली समुदायलाई एकताबद्ध गर्नुका साथै नेपालप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रम मोना जापानका अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने महासचिव सुरेश पुनले सञ्चालन गरेका थिए। आयोजकले सबै नेपाली तथा जापानी समुदायलाई महोत्सवमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेका छन्।