टोकियो, जापान ।
मियागी प्रिफेक्चरल प्रहरीले एक नेपाली पुरुषलाई झूटो शरणार्थी आवेदन दर्ता गरेको आरोपमा पक्राउ गरेको खुलासा भएको छ । प्रहरीले अभियुक्तलाई झुटो शरणार्थी आवेदन दिएर जापानमा बसेको आरोपमा अभियोजककहाँ पठाएको जापानी समाचार संस्था याहुले उल्लेख गरेको छ ।
गत बर्ष मे महिनामा झूटो निवेदन दिएको आशंकामा अभियोजककहाँ पठाइएका व्यक्ति तोचिगी प्रान्तमा बस्ने ३४ बर्षिय नेपाली भएको समाचारमा उल्लेख छ । यद्यपी अभियुक्त व्यक्तिको थप विवरण समाचारमा खुलाइएको छैन । प्रहरीका अनुसार, ती नेपाली पुरुषले गत वर्षको अगस्टमा टोकियो अध्यागमन ब्यूरोमा जालसाजीपूर्वक बसोबासको हैसियत प्राप्त गरेको आशंका समेत गरिएको छ ।
टोकियो अध्यागमन ब्यूरोले शरणार्थी मान्यताको अनुसन्धान गरिरहेको जनाएको छ । उनले धार्मिक मुद्दाका कारण शरणार्थी आवेदन दिएको झुटो दाबी पेश गरेको बताइएको छ ।
भिसा स्थितिभन्दा बाहिरका गतिविधिहरूमा संलग्न हुन अनुमति नभएका दुई नेपाली विदेशीहरूलाई कुरिहारा शहरको स्क्र्याप खरिद गर्ने कम्पनीमा परिचय गराएर अवैध काममा सहयोग गरेको आशंकामा मियागी प्रिफेक्चरल प्रहरीले गत वर्ष सेप्टेम्बरमा ती व्यक्तिलाई पक्राउ गरेको थियो ।
प्रहरी सोधपुछको क्रममा, ती व्यक्तिले आरोप स्वीकार गर्दै 'मैले पैसा कमाउनको लागि झूटो शरणार्थी आवेदन दर्ता गरेको थिएँ ।' भनेको समाचारमा लेखिएको छ ।
प्रहरीका अनुसार मियागी प्रान्तमा मात्र नभई जापानमा नै झुटो शरणार्थी दावीहरू पेश गरेको आरोपमा बिदेशी पक्राउ गरिएको यो पहिलो घटना हो ।