(Japan) 26 th April | 2024 | Friday | 12:49:58 PM || (Nepal) 9:34:58 AM
 
 


जापानमा सन् २०१९ मा अहिलेसम्मकै कम आत्महत्याका घटना, यस्तो छ 'रेकर्ड'

Sajina Moktan   POSTED ON : Saturday, 18 January, 2020 | Views : 1722

जापानमा सन् २०१९ मा अहिलेसम्मकै कम आत्महत्याका घटना, यस्तो छ 'रेकर्ड'


टोकियो, जापान ।

जापानमा आत्महत्या गर्नेहरुको संख्या सन् २०१९ मा अहिलेसम्मकै कम पाईएको छ ।

गत बर्ष केवल १९ हजार ९ सय ५९ जनाले आत्महत्या गरेको तथ्यांक शुक्रबार जापानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ ।

सन् १९७८ बाट राख्न थालिएको तथ्यांक अनुसार गत बर्ष सबैभन्दा कम व्यक्तिले आत्महत्या गरेको मन्त्रालयले जनाएको छ ।

यसअघि जापानमा सबैभन्दा कम सन् १९८१ मा आत्महत्याको घटना भएको थियो । त्यस बर्ष केवल २० हजार ४ सय ३४ जनाले आत्महत्या गरेको रिपोर्टमा उल्लेख छ ।

सन् २०१९ मा अघिल्लो बर्षको तुलनामा ८ सय ८१ जना कम व्यक्तिले आत्महत्या गरेका छन् । यो करिव ४.२ प्रतिशतले कमी हो ।

जापानमा हाल आत्महत्या १५.५ प्रतिशत रहेकोमा सन् २०२६ सम्ममा बिकसित राष्ट्रहरुले राखेको १३ प्रतिशतमा झार्ने लक्ष्यलाई जापानले भेट्टाउने अपेक्षा गरेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो दशकमा आत्महत्या गर्नेको संख्या लगातार घटेको भएपनि हरेक बर्ष २० हजार व्यक्तिले त्यसै जीवन खेर फालिरहेको घटना दुखद रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरुले आत्महत्या रोकथामका लागि जागरण अभियानलाई अझै शसक्त पारिने प्रतिवद्धता जनाएका छन् ।

जापानमा सन् १९९८ देखी सन् २००३ सम्म आत्महत्या गर्नेको संख्या बर्षेनी बढेको देखिन्छ । सन् २००३ मा जापानमा अहिलेसम्मकै बढी एकै बर्षमा ३४ हजार ४ सय २७ जनाले आत्महत्या गरेका थिए ।

त्यसपछि सन् २००९ सम्म लगातार ओरालो लागेको आत्महत्याको घटना त्यसपछि भने कुनैबर्ष बढी र कुनैबर्ष कम हुँदै समग्रमा ओरालो लागिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।