मैंले यो नलेखे म उहाँहरुको जाती हुन्छु । लेखे आँखाको कसिंगर । यसअघि फरक प्रकृतिका यस्तै समाचार लेख्दा पूर्व एनआरएनए अध्यक्ष लगायतहरुले मलाई कसिंगर बनाएका थिए ।
किन यो बाटो रोज्छु मलाई थाहा छैन । मं अरुहरु जस्तै मुखपत्र अनलाईन पत्रकार बनेर वाहवाही पाउनपनी सक्थें होला । तर मलाई समाचारको नाममा खादा ओडाएको फोटोको बखान मात्र दिएर भएका गलत कुरामा मौन बसिदिएर चोचोमोचो जोड्ने आदत कहिल्यै नपरेर हो वा एकलकाटे स्वभाव । भन्नेले त एकैपटक ठूलो भाग खोज्ने खालको पनी भनेकै छन् ।
प्रशंग १
नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्याल चार बर्षे कार्यकाल सफलता पूर्वक सम्पन्न गरेर नेपाल फर्कंदै हुनुहुन्छ ।
राज्यको अभिभावकिय संस्था दूतावासमा केही समय कार्यबाहक राजदूतको समेत जिम्मेवारी सम्हाल्नुभएका व्यक्तिको कार्यकाल समापन हुनै लाग्दा भेटघाट र बिदाई गरिनु सामान्य हो । गरिनुपनी पर्दछ ।
तर हप्तादिनको फरकमा टोकियोमा एक व्यक्तिको बिदाईमा दुई तामझामको बिदाई भयो ।
एउटा टोकियोमा व्यवसाय गर्दै आएका नेपाली व्यवासायीहरुको संस्थाको अर्को जापानभरनै नेतृत्व गरेको एनआरएनए जापानको ।
नेपाल बिजनेस एशोसिएसन जापान एनबिए जापान नामको व्यवसायीको संस्थाले मायाँ रेष्टुरेण्टमा जुलाई १४ तारिख मंगलबार बिदाई कार्यक्रम गर्यो ।
कोरोना संक्रमण टोकियोमा दैनिक दुईसयबाट उकालो काटिरहँदा मास्क समेत नलगाएर दुई दर्जन बढी व्यक्तिले शानले बिदाई गरेको दृश्य बडो नमज्जाले सामाजिक सञ्जालमा देखियो ।
भलै बिदाई गर्नेहरु बडेमानको छाती फुलाएर गर्व गरिरहनुभएको होला । तर यति सामान्य हेक्का समेत राख्नु भएन कि टोकियो महानगरकी मेयर युरिको कोईकेले यसै महिना मेयरमा जित्नु भएको थियो । तर नेपालीहरुको यो फुच्चे संस्थाले जत्ति पनी बधाई थाप्न सकिनन् । सायद यतिपनी ल्याकत पुगेनछ उनको भनेर अहिले बुझ्दैछु ।
बिदाईको यो श्रृंखला जारी थियो । पालो आयो गैर आवासिय नेपाली संघ जापानको । संस्था ठूलो बिदाई ठूलो र तामझामको गर्नै पर्यो । ईज्जतको पनी सवाल ।
सुरुमा मन्दिर रेष्टुरेण्टमा भनिएको बिदाई पछी चौतारो रेष्टुरेण्टमा सर्यो । मिति थियो जुलाई १८, शनिवार ।
संस्था ठूलो भएपछी जमघट ठूलो हुनु स्वाभाविक नै भयो । त्यसमाथी ३५ सय जापानी येन तिरेरै बिदाईमा सहभागी हुँदा पनी गौरवान्वित देखिए सबैजना फोटो हेर्दा ।
यो दिन टोकियोमा २ सय ९० जना कोरोना संक्रमित पुष्टि भएको मलाई अझै सम्झना छ । बिदाईको विशेष दिन भएकाले संख्या हेक्का रहन गयो ।
बिदाई कार्यक्रम चलिरहँदै सहभागी केही व्यक्तिहरुबाटै म्यासेजमा केहीथान तस्विर पाएं । मन चसक्क भयो हेरेर । बिदाई भोजमा सहभागी एकजना कसैलाई दुर्भाग्यवस कोरोना संक्रमण भईदिएको रहेछ भने के होला जापानमा नेपालीहरुको अवस्था ? चिन्ता गर्नुपर्ने भोजमा मस्त छ म नाथेलाई पिरलो ।
साँझ एंगल एंगल मिलाएर खिचिएका तस्विरका खातहरु सामाजिक सञ्जालमा सगौरव प्रस्तुत हुन थाले । कतै स्टाटस, कतै स्टोरी, कतै समाचार अनि भिडियो सहित । बेचैन मन साँझ जापानसमाचारको फेसबुक पेज मार्फत केही जानकारी राखें ।
ठूलो संस्थाका ठूला पदाधिकारीहरुले भुई मान्छेका कुरा सुनेनन् वा सुन्न आवश्यक ठानेनन् घटनाक्रम हेर्दा टेरपुछार लागेको देखेको छैन ।
प्रशंग दुई
बिदाईको बर्को ओढेको बिद्रुप चर्चा सेलाउन नपाउँदै टोली हान्निएर ओकिनावा पुगेछ ।
क्षेत्र विस्तारको पूर्व निर्धारित कार्यक्रम जुन सार्नै नमिल्ने वा अनलाईनको माध्यमबाट गर्न नसकिने वा सामाजिक दुरी कायम र संक्रमण रोक्ने उपाय अपनाएर गर्न नसकिने थियो होला नै र एक हुल मान्छेहरु मुखामुख जोडेर बधाई दिने र थाप्ने बेजोडको तस्विर देख्ने सौभाग्य मिल्यो ।
याद रहोस् जुलाई २७ तारिखको यो दिन टोकियोमा १ सय ३१ र ओकिनावामा १८ जना कोरोना संक्रमित थपिएका थिए । अहिले महामारीको चरणमा प्रवेश गर्दैगर्दा ओकिनावाले आफ्नै आपतकाल घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपतीय चुनाव त कोरोना महामारीले सर्ने सम्भावना बढी रहँदा महामारीको पूर्व सन्ध्यामा हामी नेपालीहरुको त्यो पनी २० २५ जना भेला पारेर एउटा नाथे क्षेत्रिय भेला गर्न के चटारो पर्यो हजुर ? जवाफ हामीलाई चाहिँदैन सोधेको मात्र ।
प्रशंग तीन
जापानमा करिव एक लाख नेपाली छौं । यसमा एक तिहाई बाग्लुंगे होलान् । यसमध्ये अधिकाशं गल्कोटका ।
जनसंख्या धेरै भएपछी संस्था ठूलो नहुने कुरै भएन । ठूलो घरको ठूलै चाला भनेजस्तो अन्य संस्थाको केन्द्रीय भेलामा जम्मा हुने व्यक्ति क्षेत्रिय भेलामा जुट्नु कुन नौलो कुरा भयो र ? तर समय त यहि हो, संस्था ठूलो भन्दैमा कोरोनाको जोखिम नरहने वा कम हुने नै त होईन होला । तर बाल मतलब भएन । गल्कोटेहरु जुटिरहेकै छन् क्रमश क्षेत्रिय भेलाहरु भव्यताका साथ सम्पन्न गर्दै । मेरो कामना कोरोना संक्रमणको दुस्परिणाम यो अकालको भेलाले ननिम्त्याओस् ।
यहि बिचमा फुकुओका नेपाल सोसाइटी नामको संस्थाले अधिवेशन गर्न भ्यायो । छिनमा मास्क फुकालेका र छिनमा लगाएका अनेक थान तस्विर देख्न पाईयो । नयाँ अध्यक्षमा शिव शर्मा चयन हुनुभएछ ।
सायद सत्यजुगमा भगवान शिव जीले काल कोटरी बिष पचाएका थिए मैंले जाबो कोरोना भाइरस भन्ने लागेछ कि के जोडैले अधिवेशन सफल गरिभ्याउनुभयो ।
प्रशंग चार
मध्य टोकियो सहित केही शहरमा केही नेपाली व्यवसायीहरुले राम्रै प्रगती गरिरहेका छन् । यसको संकेत व्यवसाय विस्तारले देखाउँछ ।
हामी न्युन मध्यम आय भएको देशबाट आएका नागरिकले जापानजस्तो विकसित देशको राजधानीमा व्यवसाय विस्तार गर्नु गजबै कुरा हो ।
तर साहुजी एउटा पसल खोल्दा, रिबन काट्दै हुल जम्मा गरेर बजारमा रमिता नै त देखाउन पर्छ जस्तो लाग्दैन । त्यसमा पनी कोरोना संक्रमणको यो पिरलोमा तपाईलाई बधाई भन्न आएकै कसैले कोरोना सारिदियो भने भोली कसले चलाउँछ यत्रो पसल ?
पैसा मात्र होईन जापानबाट ज्ञान पनी कमाउनु भएकै छ, सच्चा सामान बेच्नुस् कच्चा काम गरेर प्रचार गरिरहनुनै पर्दैन ।
पुच्छर सिधा होईन ढुंग्रो नै बंग्याईदिन्छौं हामी !
नेपाली उखान छ कुकुरको पुछर १२ बर्ष ढुंग्रोमा राख्यो बांगाको बांगै । तर मलाई लाग्छ मानिसको पुच्छर हुन्थ्यो भने नेपालीहरुको पुच्छर ढुंग्रोमा राखे पुच्छर सिधा त परैको कुरा सायद त्यो डुंग्रो चै बांगिन्थ्यो होला ।
दुई साता देखी कोरोना कहरको बेलाको यो भेला र जमघट सुहाएन भन्दै भद्र शब्दमा स्वयं संस्थाका पदाधिकारी, शुभेच्छुक सहित आम रुपमा व्यक्त भईरहेको छ । तर सम्वन्धित व्यक्तिहरु टसको मस भएको व्यवहारले देखिन्न । न त गतिविधिमा सुधार देखिन्छ न तरिका नै फेरिएको छ ।
यो तमासा फेरी नागोयामा दोहोरिएको छ । यस्तो अतिको बेलामा खती हुनेगरी गरिएको यो कामलाई कसले कसरी सही भन्छहोला ?
बिलखबन्धमा परिरहँदा मैंले पनी यो महान यात्रामा योगदान गर्न नयाँ शिराबाट सोचें । अब नेपाल फेस्टिवल आयोजना गर्ने ।
आबे सान तपाईको देशमा रहँदा हामीलाई बहुत सहयोग गर्नुभएको छ ।
औषतमा ट्याक्स बाहेक व्यक्तिगत बिमा शुल्क नतिरेपनी, सँधैको घाटा देखाएर ट्याक्स छलेपनी, कर्मचारीलाई दिने तलब र सेवा सुविधा त कुन चरिको नाम हो थाहा भएन तर व्यवसायीको दर्जा दिएर यो महामारीमा लाखौं रकम अनुदान र करोडौं रकम बिना व्याज दिनुभएको छ ।
कोरोना लागे निशुल्क उपचार, घर भाडा तिर्न नसके छुट हुँदा हुँदा काम लगाउने साहुले तलब नदिए तिमिलाई गाह्रो पर्ला हामी दिन्छौं भन्नुभएकै छ । यत्रो सहयोगको गुन त हामीले पनी तिर्नु पर्यो नी ।
त्यसैले आउनुस् म पनी हाते मालो गर्छु हामीले यही मौकामा अब नेपाल फेस्टिवल गरौं । आफ्नै मान्छे भण्डारे नियुक्ती, खर्चपानी आफ्नैको हातमा । संस्थालाई घाटा लागेपनी खल्ती पुटुक्क भईहाल्छ ।
नेपालीहरु मम चाउमिन र सेकुवा खान हुल बाँधेर आईहाल्छन् । नेपालबाट कोही कलाकार ल्याउन नपाए खर्चपानी नै जोगिन्छ । जापानमै काम नपाएर केही थान कलाकार बेहाल छन् तिनैले टारौंला ।
स्थान पाईएन भनेर दश तिर भौंतारिनुपर्ने बेला पनी छैन । यहि अवस्थामा खाबुकि च्यो मै ठाउँ पाउन सकिन्छ ।
उत्सवलाई महोत्सव गर्ने यो शुभ समय हो, 'हातेमालो गरौं नेपाल फेस्टिवल आयोजना गरौं, जापानमा नेपाल र नेपालीको शिर उँचो पारौं ।'