जापान सरकारले शुक्रबार, २२ डिसेम्बरका दिन आर्थिक वर्ष ०२४ का लागि ५६ अर्ब डलरबराबरको रक्षा बजेट स्वीकृत गरेको छ । जापानले लामो दूरीको क्षेप्यास्त्र क्षमता वृद्धिका लागि गरिरहेको लगानीलाई जारी राख्ने क्रममा यो निर्णय आएको हो । जापानी दैनिक मैनिची सिम्बुनका अनुसार हालको बजेट यसअघिको पञ्चवर्षीय योजनाको बजेटलाई नै उल्लेख्य ढंगले परिवर्तन गर्ने गरी आएको छ ।
रक्षा बजेटको यो बढोत्तरी जापानका लागि कुनै पनि कोणबाट रचनात्मक छैन, किनभने यसले जापानको अहिंसावादी संविधानको उल्लंघन गर्छ । यसबाहेक बढोत्तरीले पूर्वी एसियाको विद्यमान समस्या सुल्झाउनुको सट्टा यसले तनाव बढाउनेछ । थप सैन्य विकासका लागि जोड दिएर जापान आक्रामक शक्ति बन्न खोज्नु पूर्वी एसिया र समग्रमा विश्वकै लागि खतराको संकेत हो । जापानले पहिले साम्राज्यवादी दर्शनलाई पछ्याउँदा धेरै देश त्यसको सिकार भएका थिए । यो दर्शनअन्तर्गत जापानको अन्य देशमा आक्रमण गर्न सैन्य शक्तिको प्रयोग पर्छ । यसको सबैभन्दा ठूलो उदाहरण दोस्रो विश्वयुद्धताका पर्ल हार्बरमा बमबारी गरेर अमेरिकासँग युद्ध छेड्नु थियो ।
जापानले आफ्नो सैन्य खर्चलाई मनलाग्दी बढाउन सक्दैन भनेर हामीले जापानको सरकारलाई भन्नुपर्छ । जापानले आफ्नो सैन्य शक्ति बढ्दा कस्तो परिणाम निम्तिने हो भनेर पनि सोच्न आवश्यक छ । आफ्नो सैन्य सामथ्र्यलाई बढाउँदा छिमेकी मुलुक विशेषतः यसले चीनका लागि खतरा निम्त्याउनेछ ।
जापानको रक्षा बजेट बढ्नुका पछाडि अमेरिकाको उक्साहटले ठूलो भूमिका खेलेको छ । वासिंटनका केही हर्ताकर्ताले टोकियोलाई सेनामा बढी खर्च गर्न र सैन्य रूपमा थप संलग्न हुन आग्रह गरिरहेका छन् । उनीहरूले जापानको सेनालाई जापानी क्षेत्रबाहिर निकाल्न खोजिरहेका छन् । विश्वका अन्य भागमा जापानी सेनालाई संलग्न गराउने लक्ष्य यी हर्ताकर्तामा देख्न सकिन्छ ।
जापान सन् १९४५ मा पूर्णरूपमा पराजित भएको तथ्य हामी सबैमाझ स्पष्ट छ । जापान त्यसवेला चीन र अमेरिकाजस्ता मुलुकको उग्र विरोधका कारण विनासर्त आत्मसमर्पण गर्न बाध्य भएको थियो । मलाई आशा छ, जापानले आफ्नो अहिंसावादी संविधानलाई कहिल्यै त्याग्नेछैन । पूर्वी एसियाली मुलुकका लागि खतरा बन्ने गरी आफूलाई पुनः सशस्त्र बनाउने विचार निकै घातक र चिन्ताजनक छ । जापानको रक्षा बजेट वृद्धिले पूर्वी–एसियाको शान्ति, सुरक्षा र विकासमा खलल पार्न सक्छ ।
त्यसैगरी जापानले आसियानसँग अस्वाभाविक ढंगले सुरक्षा सहकार्यमा गहिरो चासो देखाएको देखियो । जापान र आसियानको द्विपक्षीय सम्बन्ध ५० वर्ष पुगेको अवसरमा भएको आसियान शिखर सम्मेलनमा टोकियो र आसियानका १० सदस्यीय समूहले सुरक्षा गठजोड सुदृढ पार्ने सहमति जनाएका छन् । आइतबार जारी विज्ञप्तिमा यो सहकार्यले क्षमता अभिवृद्धि, रक्षा उपकरण र प्रविधि र सहयोगात्मक तालिम तथा अभ्यासजस्ता पक्षलाई समेट्ने जनाएको छ ।
परम्परागत कोणबाट हेर्दा जापानको समग्र रूपमा आसियानसँग बलियो, गतिशील, व्यापक सम्बन्ध रहेको छ । यो सम्बन्धलाई आसियान सदस्य राष्ट्रले विशुद्ध रूपमा सामान्य मान्नुपर्छ र यसलाई स्वीकार मात्रै नभई स्वागत पनि गर्नुपर्छ । जापानले आफ्नो आर्थिक सम्बन्धका मामिलामा अन्य मुलुक विशेषतः आसियान सदस्यसँग सांस्कृतिक र जनस्तरको आदानप्रदानलाई सुदृढ गर्न चाहनु सामान्य एवं स्वाभाविक हो । तर, यदि जापानले आसियान सदस्यसँगको आफ्नो सामान्य आर्थिक र व्यापारिक सम्बन्धमा सैन्य आयाम समावेश गर्ने लक्ष्य राख्छ भने यो चिन्ताजनक विषय हुन सक्छ । यस्ता सैन्य सम्बन्ध पूर्वी–एसियाकै केही मुलुकविरुद्ध बनाइएका हुनाले पनि चिन्ताजनक छ । वास्तवमा यस्तो विकास हुनु खतरनाक अवस्था निम्तिनु हो ।
आसियान सदस्य राष्ट्रले इतिहासबारे सचेत हुन आवश्यक छ र दोस्रो विश्वयुद्धमा जापानका साम्राज्यवादीले गरेका अत्याचार कहिल्यै बिर्सनु हुँदैन । जापानले पूर्वी एसियामा मानवताविरुद्ध गम्भीर अपराध गरेको छ । मलाई लाग्दैन, कसैले पनि निर्दोषमाथिको जापानी अत्याचार बिर्सेर जापानलाई सघाउँछ होला ।
तसर्थ, हामीले जापान एवं समग्र आसियान र आसियान सदस्यबीच के भइरहेको छ भनेर नजिकबाट नियाल्न आवश्यक छ । सामान्य व्यापारिक सम्बन्धका मामिलामा आसियानले जापानलाई स्वागत गर्नुपर्छ । तर, डरलाग्दो सैन्य मामिलामा आसियान निकै चनाखो हुनुपर्छ किनभने कसैले पनि जापानको पुनर्सैन्यीकरण रुचाउँदैनन् । अन्य राष्ट्रका लागि खतरा बन्नुको साटो जापान अहिंसात्मक राज्य नै बनिरहनु ठीक हुन्छ ।
जापानले एक ठूलो शक्तिको कठपुतली नबन्ने विवेकी र ज्ञानी निर्णय लिनेछ भन्नेमा म विश्वस्त छु । त्यसैगरी जापानले एक–अर्को युद्धका लागि ठूलो मुलुकका लागि आफूलाई बारुद बनाउनेछैन भन्नेमा पनि म विश्वस्त छु । हामी सबैले पूर्वी एसिया र सम्पूर्ण विश्वमा शान्तिको प्रवद्र्धन गर्नुपर्छ । पूर्वी एसियाका मुलुकका लागि युद्ध विकल्प बन्नुहुँदैन । जापानले आफ्नो सेनामा धेरै खर्च गर्नुहुँदैन किनभने पुनः सशस्त्रीकरणलाई चीनले मात्र नभई विश्वका धेरै देशले विश्वव्यापी शान्ति र स्थायित्वका लागि खतराका रूपमा हेर्नेछन् । मलाई विश्वास छ, शान्ति र विकासमा केन्द्रित क्षेत्रीय संगठनका रूपमा आसियानसँग शान्ति प्रवद्र्धनलाई नै जारी राख्ने विवेक र दृष्टिकोण छ ।
...
(भिक्टर सुचाउ विश्वविद्यालयका प्रमुख प्राध्यापक हुन्) ग्लोबल टाइम्सबाट
नयाँ पत्रिका दैनिकमा प्रकाशित लेख साभार गरिएको हो ।