नमस्कार आज हजुरहरूसँग यो पालीको ५ हप्ते टोरोन्टो यात्राको अनुभव सेयर गर्न चाहन्छु ।
गएको जूलाई १८ तारिख देखि अगस्टको २६ तारिखसम्म म क्यानडाको टोरोन्टोमा पारिवारिक भ्रमणमा गएको थिएँ ।
जुलाई १८ तारिख साँझ ५ः४० को एअर क्यानडाको डाइरेक्ट फ्लाइटबाट, हानेदा एअरपोर्ट हुँदै म टोरोन्टोको लागि उडें । १२ घण्टा १० मिनेट लामो हवाई यात्राको उडान पश्चात म टोरोन्टो सकुशल उत्रिएँ ।
क्यानडाको १८ तारिख नै दिंउँसो १६ः४० मा टोरोन्टो अवतरण गरें । एअरपोर्टमा छोरा लिन आइराखेको थियो । उसलाई भेटेपछि बल्ल मन ढुक्क भयो । त्यसपछि ट्याक्सी चढेर हामी उसको घर रोजर्स रोड तर्फ लाग्यौं ।
घरमा बुहारी र छोरा, छोरी बेलुकाको खाना बनाएर कुरिराखेका रहेछन् ।
लामो उडानको थकानले भोलिपल्ट मध्यान्ह १२ बजेसम्म निदाएछु, १ बजे बुहारीले खाना पकाएर कोठैमा ल्याई दिइन् । खाना खाएर एकछिन आराम गरेर साँझमा नुहाई धुवाई गरेर नजिकै रहेको पार्कसम्म घुम्न गयौं, क्यानडाको गर्मीको वातावरण पनि मलाई भने अत्यन्त शितल लाग्यो र शितल वारावरण भएकोले तरकारी, साग सब्ज़ी, फलफूल र अन्य खानेकुरा पनि अत्यन्त स्वादिष्ट लाग्यो । यो मेरो क्यानडाको दोस्रो अनुभव थियो ।
दोस्रो दिनबाट बल्ल शुरू भयो मेरो टोरोन्ट यात्रा र घुमाई ।
२० तारिख बिहान खाना खाएर बुहारी र म हाई पार्क गयौं । छोराको अन लाइन काम थियो, ऊ घरैबाट काम शुरू गर्न थाल्यो ।
हाईपार्क जानलाई घरबाट ४१ नंबरको बस चढेर किल स्टेशन पुगि रेल चढेर जानु पर्ने रहेछ । किल स्रेटेशनबाट ४ स्टप रेल चढ़ेपछि हाई पार्क पुगिन्छ ।
हाई पार्कमा ट्राम चढेर पूरै पार्क घुम्यौं । केही फोटो र भिडियो खिची एकदुई जना गोरा छालाहरूसँग भलाकुसारी गरी ‘टिम हटनको‘ चिसो कफी पिई घर फर्कियौं र केही भिडियो टिकटकमा पोस्ट गरी खाना खाएर सुत्यौं । यो दिन एकदम रमाईलोसँग बित्यो ।
जुलाई महिनाको २३ तारिख सधैं जस्तो विहानको ब्रेकफास्ट खाएर म छोरा र बुहारी पुरै टोरोन्ट सिटी हेर्न र विशेष गरी सि.एन. टावर (Canadian national tower) र हार्भर फ्रन्ट घुम्न निस्कियौं । CN टावरको उचाई ५५३.३ मीटर अग्लो छ तर अब्जरभेटरी एरिया १६९ तलामा छ । यो टावर चारै कोणहरूबाट पूरै टोरोन्टो सिटी अवलोकन गर्ने मूख्य आकर्षणको केन्द्र विंदु हो ।
यो पालीको मेरो क्यानडा भ्रमणको मुख्य उदेश्य पनि सि.एन. टावर हेर्नु र नायगरा फल्स जानु नै थियो ।
हामीले 'टोरोन्टो वान डे' पास किनेका थियौं । एक जनाको १३.५० डलर पर्ने रहेछ ।
यसमा टोरोन्टो सिटी गभर्मेन्ट द्वारा संचालित सबै पब्लिक यातायात जसमा बस रेल र स्ट्रिटकार पर्ने रहेछ । यो पासमा एकदिनभर जुन स्टेशनबाट चढेर जुन ठाउँमा ओर्लिएर, जति चोटी पनि प्रयोग गर्न सकिन्छ ।
त्यो दिन खूब स्ट्रीट कार चढियो, यसले आफूले बचपनमा चढेको ट्रलिबसको सम्झना दिलायो ।
सेन्टर आइल्याण्को यात्रा
जुलाई महिनाको २५ तारिख सोमवार घरमा बिहानको खाना खाएर सेन्टर आइल्याण्ड तर्फ लाग्यौं । छोरा अरूणले पनि काममा एक हप्ता छुट्टी लिएको थियो र सधैं जस्तो बस, रेल र स्ट्रीटकार चढेर हार्बर फ्रन्टबाट फेरी चढेर हामी सेन्ट्रल आइल्याण्ड पुग्यौं । साह्रै रमाइलो र .थ्रिलिन्ग. यात्रा थियो त्यो ।
छोरा छोरीको पार्ट टाइम जब भएको हुनाले म छोरा र बुहारी मात्र गएका थियौं । २० मिनेटको फेरी यात्रापछि हामी सेन्ट्रल आइल्याण्ढ पुग्यौं र अलिकति चिया खाजा खाएर, सेन्ट्रल लेक वाचिन्ग डेस्क तर्फ लाग्यौं । सेन्ट्रल आइल्याण्डमा हेर्न पर्ने मूख्य मुख्य ठाउँहरू भनेको यही ताल हेर्ने सेन्ट्रल डेस्क दुईवटा फाउण्टेन र ट्रामबाट पार्कको एक फन्को मार्नु नै हो ।
यो पार्क असाध्य ठूलो भएको हुनाले र शिजन पनि गृष्म भएको हुनाले साइकिलिगं गर्ने जवान केटाकेटीहरू धेरै हुँदा रहेछन् ।
सेन्ट्रल आइल्याण्डबाट CN tower पनि राम्रोसंग हेर्न सकिन्छ । त्यो दिन मात्र १४ हजार पाइला हिंडिएछ । एकदम थाकियो बेलुका ११ बजे मात्र घर पुगियो र उभर इट्सबाट खाना अर्डर गरी खाएर सुत्यौं ।
सेन्टर डेकबाट लेक राम्रोसँग हेरिसकेपछि अलि गर्मी भएकोले आइस क्रिम किनेर खाई ट्राममा पार्कको एक फन्को लगायौं । एक जनाको १० डलर पर्दो रहेछ तर पैसाको भरपूर सदुपयोग हुने पूरा ३५ मिनेट घुमायो रमाइलो भयो ।
जुलाई ३० तीरिखमा क्यानडामा भएका पौड्याल फेमिली र कजनहरूका साथमा गोएल्फ भन्ने ठाउँमा पिकनिग गयौं । मलाई रोजर्स रोडबाट पिक अप र ड्रप गर्ने जिम्मा दादाको थियो । यो पिकनिक पनि एउटा यादगार पल बनेर मानसपटलमा रहनेछ ।
अगस्ट ४ र ५ बुहारी र म वरीपरिका सपिंग मल स्टोर र लोकल सपिंग गर्यौं । ६ तारिखमा योर्क नर्थमा रहेको नेपाली किचेन रेस्टुरेन्टमा स परिवार खाना खान गयौं । बच्चाहरू असाध्य रमाए, मलाई पनि खुशी लाग्यो ।
अगस्ट आठ तारिख कजन बैनी रीनाको घरमा दुई दिन बस्ने गरी गएँ । ज्वाई दिनेश नेपाल लिन आइस्यो र भोलिपल्ट ब्लु माउन्टेन गयौं । गन्डोला चढि तल ओर्लेर भिलेज घुम्यौं, आइस क्रिम चिया कफि र टिम हर्टनस्को खाजा खाई घुमेर दिन बितायौं र सात बजे त्यताबाट फर्कि ब्रामटनमा भएको इन्डियन रेष्टुरेण्ट सिम्प्लि इन्डियामा डिनर खाई घर पुग्दा रातको साढे ११ बजेको थियो ।
नायगरा फल्सको यात्रा
१० अगस्टको दिन, टोरोन्टोमा व्यावसाय र सरकारी जागिर खाएर बसिराख्नु भएको फुपुको छोरा दादा प्रदिप बाँस्कोटाको घरमा तीन दिन बिताएँ ।
छोराको घरबाट दादाले पिक अप गरी फिन्च स्थित आफ्नो अपार्टमेन्टमा लगिस्यो। भाउजू पनि सरकारी अस्पतालमा इन्चार्ज नर्स भएकोले हामीलाई खाना रेडी गरि साँझको ड्युटी गर्न गइस्यो । बच्चाहरू, दादा र म खाना खाई वरपर अलिअलि ड्राइभिंगमा गयौं ।
दादाको अर्को दुइटा हाई राइज अपार्टमेन्ट र सेमि डिट्याच्ट अपार्टमेन्ट पनि हेर्यौं र ११ बजे भाउजू आउने बेलामा घर फर्केर आयौं । यो दिन पनि रमाइलोसँग बित्यो।
भोलिपल्ट रुकु दिज्जुको घरमा जाने प्रोग्राम थियो तर पानी परेकोले कार्यक्रम परिवर्तन गरि हामी हामिल्टन तर्फ लाग्यौं । ह्यामिल्टनमा दादाको बेस्सो यानेकि सेकेन्ड हाउस रहेछ र उहांका चिनजानका मान्छेहरू पनि ७ परिवार जम्मा भई नाचगान र बाँसुरी प्ले हेरी रातको खाना खाई सुत्यौं ।
भोलिपल्ट १३ तारिख दादा म र अनिल भट्टराई भाइ नायगरा फल्स तर्फ लाग्यौं दादाको गाडिमा । मैले आजसम्म देखेको शिनहरूमा सबै भन्दा मनमोहक दृष्ट र स्वर्गकै एक टुक्रा जस्तो अनुभव गरें । माथि दुईचार वटा फोटो खिची हामी फेरीमा चढेर नायगरा फल्स सफर गर्न गयौं ।
दिएको रेनकोट लगाएर हामी पानीको फोहोरा भित्र करिब करिब पस्यौं । यो नायगरा फल्सको यात्रा अति नै रोमान्चक रह्यो । बेलाबेलामा फोटो र भिडियो खिच्नमै मस्त म झन्डै मोबाइल नायगरा फल्स भित्र खसालेको ! अनिल भाइले बारम्बार दिज्जू मोबाइल खस्ला है विचार गर्नु भन्दाभन्दै म फोटोहरू खिच्नमै यति तल्लिन भएँ कि, म स्वर्गिय आनन्द अनुभव गरीराखेको थिएँ । ३५ मिनेट कसरी बित्यो पत्तै भएन ।
यहाँबाट करिब दुई घण्टाको सफर सक्काएर हामी हामिल्टन फर्कियौं र भोलिपल्ट फेरि टोरोन्टोमा भएको नेपाल डे फेस्टिभलमा सहभागी भै म टोरोन्टो छोरा बुहारीकोमा फर्किएँ ।
दिनहरू बित्दै गए वरपर घुम्दै हार्वर फ्रन्ट, फेरि गइयो कासा लोमा फोर्ट, आर्ट ग्यालरी अफ अन्टारीयो र आगा अलि खान म्युजियम र क्विन्स पार्क, टोरोन्टो सिटी एसेम्बली भवन इत्यादि घुुम्दा र पारिवारिक माहोलमा रमाउँदैमा मेरो घर टोकियो फर्कने समय आएको पत्तै भएन ।
...
गृष्मा पौड्याल
टोक्यो जापान
२०२३.९.२४, आइतबार