गोकर्ण अधिकारी :
जापानमा रहेका नेपालीहरुले चलाउने मुख्य सामाजिक सञ्जाल हुन् फेसबुक र टिकटक । हप्तादिन यता जापानमा रहेका करिव डेढ लाख नेपाली मध्ये लगभग एक लाख भन्दा बढिलाई खासै चासो नरहेको गैर आवासिय नेपाली संघको चुनाव नजिकिंदै गर्दा ति दुवै संजालमा उम्मेदवारहरुको रंगिन तस्विर र चुनावी घोषणापत्रहरु छाउन थालेका छन् ।
जापानका नेपालीमाझ मुख्यत मनोरञ्जनमै सिमित टिकटक तिर खासै नदेखिने एनआरएनए गतिविधि निर्वाचन नजिकिएसँगै बाक्लिन थालेका छन् ।
एकाध बाहेकका फुर्को जोडिएका सामाजिक अभियन्ता र समाजसेवीको पगरी गुथाइएका उम्मेदवारका लम्बेतान घोषणापत्रहरु नेपालमा गाउँपालिका अध्यक्षले सार्वजनिक गर्ने घोषणापत्र भन्दा कम्ति छैनन् । संस्थाको कार्यक्षेत्र र क्षेत्राधिकार, आफ्नो क्षमता र समाजको आवश्यकता कता हो कता यदि बुँदे घोषणापत्र भनेर लामो बुँदाहरु बनाउनमै रमाएका जस्ता लाग्ने प्रतिबद्धताहरु छरपस्ट देखिन थालेका छन् ।
अझ निर्मम रुपमा टिप्पणी गर्नुपर्दा आफुले समेटेका बुँदाको आफैंले व्याख्या र विश्लेषण गर्न ल्याकत नराख्नेहरुको चुरिफुरी अन्य क्षेत्रमा जस्तै यहाँपनि बढि देखिएको छ ।
- जापानमा विद्यार्थीका पिडा र बेदना, समस्या र निराकरणका कार्यशाला वितेका वर्षहरुमा कतिवटा कहाँ आयोजना भए ?
- 'कुक' पेशामा आवद्ध श्रमिक शोषणको कहालिलाग्दो अवस्था, गुनासो सुनुवाइको सामान्य छलफलका कार्यक्रम कुन ठाउँमा कति पटक संचालन गरियो ?
- स्थापित व्यापारिहरुले नवप्रवेशि व्यापारिहरुलाई व्यवसाय संचालनको क्रममा भएका लिखत, अलिखित सहमती र सम्झौता बिपरित घरको न घाटको बनाएका विषयहरुमा कुन कुन शहरमा छलफल आयोजना गरिए ?
यस बाहेक महिला, परिवार आश्रित भिषामा रहेकाहरुमा पिडाको पोको यहाँ खोलि साध्य छैन ।
अघिल्लो पटक यस्ता विषयमा अहिलेका जस्तै अनेकन बाचा र प्रतिबद्धता जनाएकामा ति किन कार्यान्वयन भएनन् वा गर्न आवश्यक ठानिएन रु वा आवश्यक थिएन भने अथवा छैन भने फेरि किन चुनावी बुँदामा घुसाइयो रु यसको जवाफ कसैले कहिल्यै दिंदैनन । किनभने उनिहरुनै नै कि यसमा आफु पक्ष छन् कि पिडक पक्षका मतियार, साझेदार वा निकटका छन् ।
समग्रमा सोझो भाषामा भनौं भने विद्यार्थी, कुक, पिडित व्यवसायिका पिडा अहिलेकै तवरमा चुनिने एनआरएनए नेतृत्वबाट सम्वोधन सम्भव छैन, हुँदैन ।
तै पनि यति निम्छरो देखिएको एनआरएनए जापानको नेतृत्व हत्याउन किन यति सारो मरिहत्ते ?
सिधा उत्तर पहिलो कोष, दोस्रो रोष तेस्रो लोभ
नेपालमा आज अर्थ मन्त्री भएको व्यक्ति दलिय भाग मिलाउँदा भोलि रक्षा मन्त्री भइदिन्छ, सरकार फेरिए उहि मान्छे अर्को महिना विज्ञान, पर्यटन, कृषि जुन सुकै मन्त्री भइदिन सक्छ । यति छिट्टै एकै व्यक्ति अनेक मन्त्रालयमा योग्य कसरी रु सजिलो र सत्य तथ्य हो काम गर्नेलाई विज्ञता अनुसार मन्त्रालय चाहिन्छ, पद चाहेकोलाई जुन मन्त्रालय भएपनि हुन्छ । नेपालको सरकार संचालनको तौर तरिका हेरिरहँदा र यस्तै राजनीतिक विश्लेषण सुनिरहँदा लाग्छ जापानको एनआरएनए नेतृत्वमा पनि त्यस्तै हालत छ ।
अध्यक्ष दावेदार देखिएका उपाध्यक्षमै मान्न सक्छन्, नपाए महासचिव वा त्यतै कतै 'सेटल' खोजिरहेका हुन्छन् कतै नपाए आईसिसि सदस्यमा भने पनि पद झुण्ड्याउन तयार हुन्छन् जतिसुकै खर्च गरेर भएपनि । अर्थात् काम गर्नेलाई विज्ञता अनुसार पद चाहिने हो भन्ने नेपालको उदाहरण ठ्याक्कै यहाँ मेल खान्छ । काम केहि नगर्नेलाई जुन पद भएपनि ठिकै ।
यस्तै काम केहि नगर्ने वा गर्ने ईच्छाशक्ति नराख्ने तर पद लोलुपता देखाउनेहरुको भिडले होला एनआरएनए जापानको उम्मेदवार बन्न मात्रै मोटै रकम दाखिला गर्नुपर्ने अवस्था आइलागेको छ ।
अध्यक्षमा उम्मेदवार बन्न मात्रै २ लाख ५० हजार जापानी येन शुल्क तोकिएको छ । तपाईंलाई यसैमा एउटा सत्य कुरा भनौं सामान्यतया जापानमा कुक पेशा गर्नेहरुको अनुमानित तलब ९० प्रशितको मासिक १५ मान भन्दा बढि छैन । यस हिसाबले एकजना कुकको झण्डै दुई महिनाको तलब अध्यक्ष उम्मेदवार बन्नेले बुझाउनुपर्छ ।
विद्यार्थीकै खर्च र कमाई हेर्ने हो भने जापानको नियमानुसार कमाई गरेर २५ मान जोगाउन एउटा विद्यार्थीलाई सामान्यत ३ महिना लाग्छ । अब आफैं सोच्नुस् अध्यक्षको उम्मेदवार शुल्कको भाउ ।
अध्यक्ष मात्र होइन उपाध्यक्ष र महासचिवमा पनि २००,००० येन शुल्क बुझाउनुपर्छ । कोष चलाउने कोषाध्यक्ष बन्नै डेढ लाख रुपैयाँ बुझाउनुपर्दा सचिवलाई पनि समान शुल्क तोकिएको शनिवार सार्वजनिक चुनावी उम्मेदवार शुल्कले देखाएको छ ।
सह कोषाध्यक्ष र प्रवक्ताको उम्मेदवार बन्न चाहनेले १२०,००० येन बुझाउनुपर्नेछ भने महिला संयोजक र युवा संयोजक उम्मेदवार बन्न १ लाख जापानी येन खर्च जोहो गर्नुपर्छ ।
निर्वाचित भएपनि र पछि मनोनितमा कार्यसमिति सदस्य बन्नेले पनि ५०,००० येन एनआरएनए जापानको खातामा दाखिला गर्नुपर्दछ ।
महिला सदस्यका लागि ३०,००० येन शुल्क तोकिंदा पदिय हैसियत देखिने तर सामान्यत अधिकार बिहिन जस्तै देखिने गरेका आईसिसि सदस्य बन्न चाहनेले ३००,००० येन बुझाउनुपर्नेछ ।
पदिय आकर्षणसँग जोडिएको कोष, रोष र लोभको माथि उल्लेखित प्रशंगबारे आगामी सोमबार प्रकाशित गरिने अर्को लेखमा चिरफार गरिनेछ । तर उठान गरिएको विषयबारे यहाँ केहि हरफ लेख्नै पर्ने हुन्छ ।
एनआरएनए जापानको कोष अहिले बलियै अवस्थामा छ । अर्थात् कोषको रकम २ करोड भन्दा बढि छ । वर्तमान कार्यसमितिले अधिवेशन र निर्वाचन पश्चात नयाँ कार्यसमितिलाई हस्तान्तरण बुझबुझारथ गर्दा कारोबार हालकै अवस्थामा सग्लो रहे ३ करोड माथि रकम हुनेछ ।
सामाजिक सेवा भावले नेतृत्वमा जान लागेको भएपनि नेतृत्वमा आउन लागेकाहरुमा एक अर्काप्रति यति रोष भाव राख्छेहरु यहाँ छन् कि तपाईं कल्पना पनि गर्नसक्नुहुन्न । अझ सजिलो सँग बुझाउनु पर्दा नेपालमा विभिन्न दलहरु र दलभित्रका फरक धार र गुटका नेताहरु बिचको पानि बाराबारको अवस्था जसरी समाचारहरुमा सुनिराख्नु भएको छ, एनआरएनए जापान भित्र समाचारहरुमा नसुनिएको अवस्था त्यो भन्दा कम्ति छैन ।
लोभ, कोषको आर्थिक दुरुपयोगको त त्यति नहोला तर कोषको रकम आफु अनुकुल परिचालन, बाँडफाँड अनि संस्थाको पदिय हैसियत दुरुपयोग गर्दै व्यक्तिगत व्यापार, व्यवसाय देखि नेपाल सरकार, जापानी निकाय वा कतै प्रस्तुत हुँदाको अदृश्य व्यक्तिगत लाभको लोभ अधिकाशंमा छ ।
आगामी अंकमा : एनआरएनए जापान जसले पनि चलाउन सक्छ तर खासमा कस्तो व्यक्ति चाहिन्छ ?
(एनआरएनए इलेक्सन एक्सप्रेसको विशेष श्रृंखला एनआरएनए जापानको निर्वाचनसम्म निरन्तर जारी रहनेछ । प्रकाशित बिचार सामग्रीमा तपाईं सहमत असहमत दुवै हुनसक्नुहुन्छ । प्रकाशित सामग्रीलाई लिएर सम्पर्कको कष्ट नगर्नुहोला ।)