(Japan) 5 th June | 2023 | Monday | 2:56:53 AM || (Nepal) 11:41:53 PM
 
 

'मान​बिरे माझि र​ ज​लेको म​न्'

निर्म​ल घिमिरे   POSTED ON : Sunday, 26 March, 2023 | Views : 636

'मान​बिरे माझि र​ ज​लेको म​न्'


मुटु काम्ने अचाक्ली जाडो अनि ठिहिर्याउने सिरेटो । आठ साल  मुनिका ३ जना लालाबाला, कान कम सुन्ने चार बिस काटिसकेकी बृद्द आमा अनि आखा कम देख्ने साढे-चार-बिस नाघेका बुवा, जोइ-पोइ सहित सात जनाको त्यो संयुक्त परिवार ।

दिन भरी पर्म तिरेर ‘टिम्मुरबोटे भुर्तेल काइला’ को खेतबाट फर्केर बृद्द बाउ आमा अनि चल्ला-चल्लीको मुखमा माड आउन चम्के ओदानमा तोरीको साग ओइरेर भुंग्रो अलि ओर्तिर तानेर ढिडो नपाकुन्जेल केटाकेटी अल्मलाउन उनले ३ गेडो आलु पोल्न हालेकी छिन अनि सानी छोरीको पेटमा थोरै नौनी घ्यु ले सेक्दै थिइन खिनौरी ।

मानबिरे चाही ‘बिट भाच्चिएको कालो कराही’ मा दाबिलोले मकैको ढिडो ओढाल्दै थिए । घरका सबै लालाबालाहरु भित्र अगेनीमा आमाले भात पकाइ रहेको चुल्हो निर आगो ताप्दै थिए । बाजे-बज्यै चाही चिम्टाले आलु छोपेको भुंग्रो चलाउदै  'हैन कस्तो चिसो बढेको त्यसका बाजे, यो माघले खान्छ कि क्या हो हामिलाई' भन्दै चिन्ता जाहेर गर्दै थिए ।

'मर्दैनौ-मर्दैनौ ड्याम्म मण्डी ओडेर बस न, यति जाबो जाडोले लाँदैन पिर नगर के तिमारु !' मानबिरेले मस्काउदै गरेको दाबिलोले पाक्नै लागेको ढिडो फ्यात-फ्यात हान्दै आमा बाउ दुबैलाई हौसला दियो ।  

'गोट्टी कत्ती मुख बाउछ ! हैन ए शुक्रेका बाउ, जाउ त झट्टै भैसी गोठा, ड्व..ड्वा..गरिराछ, चितुवाले खान नसक्या डाम्ना, कत्ती चिच्याउछ, एक भारी घास हालेर भित्र छिर्दैछु भर्खरै, घुर्यानमा कुकुर पनि भुक्दै छ किन होला छिटो जाउ त' आखा अगाडी झरेको कपाल कान पट्टी सिउरिदै खिनौरी फत्फताइ ।

मानबिरे स्वास्नी सँग 'एकै छिन है ! डाठले दुख दिएर भैसी छटपटिइ रहेको रहेछ, म घुर बालेर आउछु अनि भात-सात खाइ सकेर पानी छम्किदिम्ला' भन्दै सम्पत्तीको नाममा रहेको एक मात्र जिनस त्यो बकेर्नो भैसीको पिरलोले उठ्यो र भुसुना उपिया धपाउन धुवा सल्काएर भित्र आइ खाना तयार नहुन्जेल घरायसी गन्थन गर्दै थिए ।

करीब साँझको पौने आठ बजेको हुँदो हो । भुसुना धपाउन बालेको त्यो धुवा बिस्तारै बीस्तारै सल्किदै जादा मानबिरे माझीको गोठमा आगो दनदनी दन्कियो, गोठ र भैसी मात्र होइन पुरै घर समेत सल्किएर सबै राखन-धरन, झिटी गुन्टा सखापै भयो । धन्न घरका मान्छेहरुलाई चाही केहि हुन पाएन । सबै जना हत्त न पत्त बाहिर निस्कन सकेकाले एकसत्यले बाँचे ।

भोकाएका त्यी लालाबाला बाउ आमा अनि बाजे बज्यै चिच्याएको सुनेर झन ठुलो स्वर ले रुन कराउन लागे । खबर दस गाउँ फैलियो, सबैले थाह पाए । गाउलेहरु निमेश भर मै जम्मा भए तर आगो ठुलो भएकोले हो कि, खै किन हो पानी र सोत्तर उठाउनु पर्ने ठाउमा मोबाइल निकालेर कसैले लाईभ भिडियो खिचे भने कसैले रेकर्ड मात्र गर्ने भिडियो । प्रायजसोको हात मोबाइलमा नै थियो । जम्मै खरानी भए पछी गाउलेहरु पनि सबै आ-आफ्नै तिर लागे । 

भोको पेट, माघको चिसो, रुदा रुदा मिर्मिरे भयो, भाले बास्ने बेलामा आँखाको बिश मार्न एकै छिन झमक्क पार्न मात्र के लागेका थिए, दुध पुर्याउन डेरी जादै गरेकाहरुले गफिदै हिडेको आवाजले उनिहरु ब्युझिए ।

कलेटी परेका ओठ, ढाडिएको पेट, ब्युझना साथ भक्कानिदै थिए उनिहरु । उता चिया पसलमा अघिल्लो साझको त्यो आगलागी कै बिषयमा समिक्षा हुँदै थियो । घटनास्थलबाटै फेसबूकमा हालेका भिडियो र गरेका लाईभले सायद ‘गोडा आठेक सय लाईक’ र 'ओ.एम.जि !!! सो स्याड न्युज' जस्ता कमेण्ट आइसकेका थिए भने बिहान भैसक्दा पनि मानबिरेको परिवार तोरीको ज्यागल्टा र कुसौरो भित्र भक्कानिदै भोकै थिए । 

उता गाउका मुखिया पनि चिया पसल मै आएका थिए तर उनले दस मिनेट दुरीको घटनास्थलमा त्यहाँ गएर सान्त्वना दिनलाई सकेनन किनकि उनको मोबाइलमा चार्ज रहेनछ फोटो खिच्नका लागी । दिउसो लगभग ३ बजे तिर बजारबाट ‘पेट्रोलको खर्च, चिया नास्ता, शिर्षकमा राम्रै सोधभर्ना गरिदिने’ साझको सुकुटीको साथमा ब्यबस्था गरिने सोमरस सहितको सर्त कबोलनामा गरी डाकेका यु टुब्बे पत्रकार अनि फेसबूके समाजसेवी सहित टोलीको लाबालस्कर लिएर मुखिया आइपुगे, सो डडेको घरमा अनि प्रताडितहरुलाई एकै ठाउमा झुरुप्प बस्न लगाए ।

सबैभन्दा पहिला आफ्नो दलको इतिहास देखी बर्तमानमा आफुले मुखिया भएपछी गरेका कामको फेहरिस्त बयान सहितको कोणसभा अनि राहत औचित्यको एकाध लामो भाषण गरे, पररर ताली बज्यो । अनि घरको सबैभन्दा बृद्द र सबैभन्दा सानालाई अगाडी बसालेर हास्न लगाए ङिच्च ङ्च्चि । आएका सबैजना (यु टुब्बे पत्रकार अनि फेसबूके समाज सेवीको जत्था) सबैले सकेसम्म बितरण हुँदै गरेको पुरिया छुने कोसिस गरे अद्यपी जमात ठुलो तर पुरिया सानो भएकोले सामान नै छुन नमिले तापनी एकले अर्कोलाई छोएरै ठ्याक्कै कन्यादान दिए झै समाते त्यो केहि पुरिया राहत अनि टेक नमिले पछी फोटो हेर्दै पुन दात देखाउन लगाइ बितरण गरे केहि पुरिया चाउचाउ र २ पाकेट भुजा । ठुला मान्छेहरुले भनेपछी मानबिरेका परिवारले पनि गरे त्यस्तै, जस्तो उनिहरु चाहन्थे । 

अनि प्रदान गरी नसक्दै गरेका फोटोसुटहरुलाई अत्यन्तै मिठा क्याप्सन लेखी ठुलो समजसेवाको ढोगी देखाउन हाले फेसबूकको भित्तोमा । उनको फेसबूक देख्ने सबैले ‘वा ! सलाम त्यी परोपकारी हात’ भन्दै कमेण्ट गरे भने कती ले ‘महान कार्य’ को सङ्ज्ञा दिए । भोली पल्ट को स्थानिय पत्रीका (जसका पत्रकार पनि तिनै कन्यादान राहतको गोदान समाउने मध्यका एक पात्र थिए), त्यसमा हेड लाईन बनेर प्रकाशित भयो भने उता बेरोजगार यु टुब्बेले एङ्गल एङ्गलबाट खिचेका भिडियो हरुलाई 'आम्मामा...एक त्यस्ता समाजसेवी, जसले गरे अग्नी पिडितलाई यत्ती ठुलो सहयोग' जस्ता शिर्षक लेखी प्रसारण गरे । 

केहि बेर पश्चात अर्को आस्था राख्ने दलको युवा दस्ता उहि पूर्ववत दल कै शैलीमा आए र सोही गरी केहि पुरिया थमाएर गए । साझ सम्ममा आधा दर्जन दल निकट ठुलाबडाहरु आएर राहत बितरण गरेर गए । साझ पख उनिहरुले ग्रहण गरेका राहतको सबै पोको खोले , जहाँ सबै जम्मा पार्दा ५ किलो चिउरा, १० ओटा चाउचाउ अनि ६ पाकेट भुजा थियो ।

अनि सम्झदै गणना गरे कि, त्यस दिन भरीमा कती पटक दात देखाउदै कती चोटी ङिच्च ङिच्याउन लगाएको भनेर । चाउचाउको सङ्ख्या भन्दा बढ्ता त्यो पिडामा पनि दात ङिच्च्याउन लगाएर गरेको ‘फोटोसूटको टेक’ संख्या यकिन गर्दै ‘घर डढेको भन्दा पनि मजबूरीको अवस्थामा इज्जत माथीको खेलले मन डढेकोमा’ झन भक्कानिदै थिए मानबिरे माझीका परिवार ।