(Japan) 3 rd July | 2022 | Sunday | 4:30:01 AM || (Nepal) 1:15:01 AM
 
 

जापानमा स्कुलमा पास गर्न होइन विश्वविद्यालय प्रवेश गर्न पढिन्छ

  POSTED ON : Saturday, 09 April, 2022 | Views : 7128

जापानमा स्कुलमा पास गर्न होइन विश्वविद्यालय प्रवेश गर्न पढिन्छ


जापानका बालबालिकाहरू स्कुलमा अर्धवार्षिक वा वार्षिक परीक्षा पास गर्ने उद्देश्यले पढ्दैनन्। फर्स्ट हुनका लागि पनि पढ्दैनन् । फलानो फर्स्ड भयो या सेकेण्ड भयो भनी रिजल्ट सूचनापार्टीमा पनि टाँसिदैन । 

यहाँ प्राथमिक (कक्षा १-६), निम्नमाध्यमिक (कक्षा ७-९) र माध्यमिक (कक्षा १०-१२) शिक्षाका लागि भिन्दाभिन्दै स्कुल हुन्छन् (केही प्राइभेट स्कूल अपवाद बाहेक)।

प्राथमिक (小学校) तहमा वार्षिक, अर्धवार्षिक जस्ता परीक्षा हुँदैनन्। निश्चित पाठ पढिसकेपछि नियमित कक्षामा नै टेस्ट हुन्छ। परीक्षाका लागि भनेर वा नम्बर ल्याउनका लागि भनेर विद्यार्थीले छुट्टै पढ्नु पर्ने वा नबुझेका कुरा रट्नु पर्ने बाध्यता छैन। बाबुआमाले छोराछोरीको जाँच कहिले हुँदैछ भनि थाहा पनि पाउदैनन् । स्कुलले समय समयमा लक्षित ज्ञान विद्यार्थीले पाए कि पाएनन् भनि वस्तुगत मूल्याङ्कन गर्छन् र वर्षको अन्तमा मूल्याङ्कन पत्र अभिभावकको जानकारीका लागि घर पठाउँछन् । 

निम्नमाध्यमिक (中学校) र माध्यमिक (高校) मा भने वर्षमा तीन टर्म परीक्षा हुन्छन् । 5 (highest), 4, 3 (average), 2, 1 (poor) गरि ५ तहको ग्रेडिङ पनि गरिन्छ ।

निम्नमाध्यमिक तहसम्म सबैले अनिवार्य शिक्षा लिनुपर्ने हुनाले प्राथमिक र निम्नमध्यामिक स्कुलमा प्रवेश परीक्षा दिनु पर्दैन । यी स्कुलको व्यवस्थापन नगरपालिकाले गरेका  हुन्छन् भने माध्यमिक तहका स्कुलहरूको व्यवस्थापन प्रिफेक्चर सरकारले गरेका हुन्छन् (पब्लिक र प्राइभेट विश्वविद्यालयमा आबद्ध भएका केही हाइस्कुल अपवाद बाहेक) ।

माध्यमिक तहमा भने प्रवेश परीक्षा दिएर मात्र प्रवेश पाइन्छ। जति राम्रो पढाइ हुने हाइस्कुल हुन्छ त्यसमा प्रवेश पाउन त्यति नै कडा प्रतिस्पर्धा हुन्छ। प्रिफेक्चर भरिका पब्लिक हाइस्कूलको प्रवेश परीक्षा एकै दिनमा हुने हुनाले एउटा मात्र हाइस्कुल छानेर प्रवेश परीक्षा दिनुपर्छ। फेल भएको खण्डमा पनि पढाइ सुचारु राख्नका लागि प्राइभेट हाइस्कुलको प्रवेश परीक्षा पनि दिनुपर्छ। प्राइभेट हाइस्कुल पब्लिक हाइस्कुलका तुलनामा महँगो शुल्क लाग्ने हुन्छन् । 

नेपालको SEE वा ११, १२ कक्षाको जस्तो यहाँका हाइस्कुलमा केन्द्रीय स्तरको बोर्ड परीक्षा हुँदैन। 

हाइस्कुलको पढाइको अन्तमा विद्यार्थीहरू केन्द्रीय स्तरको क्योचु टेस्ट अर्थात् कमन टेस्टमा सामेल हुन्छन्। यो टेस्टमा तोकिएको प्राप्ताङ्क आएमा मात्र राम्रा पब्लिक विश्वविद्यालयहरूमा प्रवेश परीक्षाका लागि आवेदन गर्न सकिन्छ। यसको केही अंश विश्वविद्यालयले आफैँले लिने प्रवेश परीक्षामा हासिल गरेको प्राप्ताङ्क जोडेर उत्कृष्ट हुने विद्यार्थीहरूले मात्र सो विश्वविद्यालयमा प्रवेश पाउँछन्। तर राम्रा प्राइभेट विश्वविद्यालयहरूले भने क्योचु टेस्टको प्राप्ताङ्क गणना नगरी आफैँले सञ्चालन गरेको प्रवेश परीक्षाको नतिजालाई मात्र गणना गर्दछन्।‌

पब्लिक हाइस्कुलको जस्तै एउटा मात्र पब्लिक विश्वविद्यालयको प्रवेश परीक्षामा सामेल हुन पाइन्छ (केही सीमित सिटका लागि दोश्रो चरणमा पनि प्रवेश परीक्षा लिने अपवाद बाहेक)।

प्राइभेट विश्वविद्यालयहरूमा भने फरक फरक दिनमा प्रवेश परीक्षा हुने हुनाले धेरै वटा विश्वविद्यालयका प्रवेश परीक्षामा सामेल हुन सकिन्छ। पब्लिक विश्वविद्यालयको प्रवेश परीक्षा शुल्क (एक विभागका लागि) १७,००० येन जति लाग्छ भने प्राइभेट विश्वविद्यालयमा त्यसको दोब्बरभन्दा पनि बढी लाग्छ।

मैंले माथि भनिसकें जापानमा विद्यार्थीहरू स्कुलको परीक्षा पास गर्न वा फर्स्ट, सेकेण्ड, थर्ड हुन पढ्दैनन् । यिनीहरू राम्रो हाइस्कुल वा विश्वविद्यालयका प्रवेश परीक्षामा उत्तीर्ण हुनका लागि पढ्छन् । राम्रा विश्वविद्यालयमा प्रवेश पाउन यति धेरै प्रतिस्पर्धा छ कि सामान्य स्तरको लत्तरो पढाइले पुग्दैन । टुप्पी कसेर घुँडा धसेर नपढी हुँदैन। स्कुलका नियमित कोर्समा पढाइ नहुने ट्रिकी प्रश्नहरु प्रवेश परीक्षामा सोधिने हुनाले स्कूलको पाठ्यक्रमभन्दा फराकिलो क्षेत्रको ज्ञान हासिल गर्न आवश्यक हुन्छ। घरमा पढ्ने बानी नपरेका विद्यार्थीहरू महँगा ट्युसन सेन्टर (जुकु) धाएर पढ्ने चलन छ ।

ट्युसन सेन्टरहरू फेसन सेन्टर जस्तै हरेक चौकमा देखिन्छन्। फेरि अति महँगा छन् । हप्ताको एक पटक डेढ घण्टा एउटा विषय पढ्नका लागि महिनाको तीस हजार येन जति तिर्नु पर्छ। तीन चार वटा विषय पढ्न गइयो भने महिनाको एक लाख येनभन्दा बढी फिस लाग्छ । 

ट्युसन सेन्टरले नयाँ विद्यार्थीलाई आकर्षण गर्नका लागि आफ्नो सेन्टरमा पढेका पुराना विद्यार्थीले राम्रो हाइस्कुल वा विश्वविद्यालयमा नाम निकाल्न सफल भएका उदाहरणहरू ठूला अक्षरमा लेखेर पोस्टर बनाएर भित्ता भरि टाँसेका हुन्छन् ।   

हाम्री ठूली छोरीले पढेको ट्युसन सेन्टरले पनि पोस्टरका साथसाथै छोरीको अन्तर्वार्ता पनि आफ्नो वेबसाइटमा पोस्ट गरेको रहेछ । 

(जापानबारे जानकारीमुलक यो सामग्री बेद काफ्लेको फेसबुकबाट साभार गरिएको हो ।)