टोकियो, जापान ।
जापान सहित कुनैपनि देशबाट हवाईमार्ग हुँदै नेपाल जाने यात्रुले अब सीसीएमसीको अनलाइन फारम भर्नु नपर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले यस्तो निर्णय भएको जानकारी गराएका हुन ।
शुक्रबार गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको २४ औं वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सचिव न्यौपानेले यस्तो जानकारी गराएका हुन् ।
‘म तपाईंहरुलाई एउटा खुसीको कुरा शेयर गर्न चाहन्छु,’ पर्यटन व्यवसायीहरुसँग उनले भने, ‘व्यवसायीले निकै झन्झट बेहोर्नुपरेको भनि आएको गुनासो सरकारले सम्बोधन गरेको छ ।’
कोरोना भाइरसको महामारीसँगै सरकारले नेपाल आउने सबै यात्रुले अनलाइन फारम भर्नुपर्ने नियम ल्याएको थियो । यसले यात्रुको ट्रयाकिङ गर्न सघाउ पुग्ने अपेक्षा गरिएको थियो ।
तर, कोरोना महामारी फैलिएसँगै ट्रयाकिङ गर्ने काम समेत सफल हुन सकेको थिएन । तर, झन्झट भने कायम रहेको भन्दै व्यवसायीले हटाउन माग गरेका थिए ।