(Japan) 18 th April | 2024 | Thursday | 9:56:15 AM || (Nepal) 6:41:15 AM
 
 


पहिलो पटक जापान आएका नेपालीले छुटाउनै नहुने चार काम

  POSTED ON : Tuesday, 20 October, 2020 | Views : 12950

पहिलो पटक जापान आएका नेपालीले छुटाउनै नहुने चार काम


टोकियो, जापान ।

तपाइँ पहिलो पटक जापान आउँदै हुनुहुन्छ वा आईपुग्नुभएको छ भने जापान प्रवेशपछि अनिवार्य रुपमा तपाइँले केही प्रक्रियाहरु गर्नुपर्ने हुन्छ ।

हुन त तपाइँको परिवारको कोही सदस्यहरु जापानमा हुनुहुन्छ भने उहाँहरुले सबै प्रक्रियामा सहयोग गर्नुहुनेछ । विद्यार्थीको रुपमा आउँदै हुनुहुन्छ भने तपाइँ आउने स्कुलका शिक्षक तथा अग्रज वा साथिहरुले पनि तपाइँलाई मद्दत गर्लान । तर तपाइँको जापानमा कोही पनि हुनुहुन्न भने सबै कुरा आफैंले गर्नुपर्ने हुन्छ ।

शुरूमा नेपालबाट जापान आउने वित्तिकै तपाइँलाई धेरै कुराहरू बानी नपर्दा भाषा सामान्य आएपनी अलमलमा पर्न सक्नुहुनेछ । तर यी कुराहरू याद राखिराख्नु वा सम्झना राखिराख्नु भयो भने सजिलो हुनेछ । तपाईका कोही साथी वा आफन्त आउँदै हुनुहुन्छ भनेपनि उहाँहरुका लागि यो सहयोगी बन्नेछ ।

१.  वडा कार्यालयमा ठेगाना दर्ता गराउने :

जापान आएपछि तपाइँले सबै भन्दा पहिले ठेगाना दर्ता गर्नुपर्ने हुन्छ । जापान प्रवेश गर्ने बेलामा जापानी अध्यायगमनले तपाइँलाई जाइर्यो कार्ड उपलब्ध गराउनेछ । एयरपोर्ट क्रस हुने बेलामा तपाइँलाई उक्त कार्ड दिइन्छ । शुरुमा जापान आउँदा तपाइँको बस्ने ठाउँको कुनै निर्धारण नभईसकेको अवस्थामा तपाइँको कार्डको अगाडि ठेगाना लेखिएको ठाउँमा खाली हुन्छ । त्यसमा तपाइँले तपाइँ बस्ने वडा कार्यालयमा गएर १४ दिन भित्र आफ्नो नाम दर्ता गर्नुहोस ।

दर्ता भएपछि तपाइँले पाउनुभएको कार्डको पछाडि तपाइँको ठेगाना थपेर तपाइँलाई दिइन्छ । त्यसपछि तपाइँ उक्त वडाको वासिन्दा हुनुभयो । जापान आएपछि शुरुमा तपाइँले यो ठेगाना दर्ता गर्ने काम अनिवार्य गर्नुहोस । तपाइँले हरेक समय आफ्नो निवास कार्ड आफैसँग बोक्न आवश्यक हुन्छ । जापानको प्रहरीले चेकजाँच गर्दा तपाइँले जाइर्यो कार्ड देखाउनु पर्ने हुन्छ ।


२. राष्ट्रिय स्वास्थ्य विमामा दर्ता गराउने :

जापान आएर बसोबास गर्ने विदेशीहरुले अनिवार्य जापानको सरकारी स्वास्थ्य विमामा दर्ता हुनैपर्छ । तपाइँ जापान बसाइको क्रममा विरामी पर्नुभयो भने तपाइँले ३० प्रतिशत मात्र खर्च तिरे पुग्छ । ७० प्रतिशत तपाइँको खर्च जापान सरकारले व्यहोर्ने हुनाले शुरुमा आएर ठेगाना दर्ता गर्न जाँदा सोही वडाको स्वास्थ्य विमा दर्ता गर्ने ठाउँमा गएर नाम दर्ता गराउनुहोला ।

तपाइँको दर्ता प्रक्रिया सकिएपछि तपाइँलाई इन्सुरेन्स कार्ड उपलब्ध गराइन्छ । जुन तपाइँ विरामी भएको बेलामा अस्पताल जाँदा अनिवार्य देखाउनुपर्ने हुन्छ । जुनसुकै भिसामा तपाइँ जापान आउनुहोस अनिवार्य स्वास्थ्य विमामा दर्ता गर्नै पर्ने हुन्छ । दुइ प्रकारका सार्वजनिक स्वास्थ्य विमा छन् । एउट कर्पोरेट स्वास्थ्य विमा हो जुन कम्पनी र अन्य स‌ंगठनहरुका कर्मचारीहरु र कार्यकारीकाहरुका लागि हो । अर्को राष्ट्रिय स्वास्थ्य विमा हो जुन स्वरोजगार, विद्यार्थीहरु अन्य वेरोजगार व्यक्तिहरुको लागि हो ।


३. बै‌क खाता खोल्ने :

तपाइँलाई बैंक खाता आवश्यक पर्दछ । धेरैजसो बैंकहरुले जापान आएको ६ महिना नपुगेसम्म खाता खोल्न सुविधा नदिइएको पनि हुन्छ । तर जापानमा पोस्ट बैंक अर्थात जेपी बैंक यस्तो बैंक हो तपाइँले सजिलै खाता खोल्न सक्नुहुनेछ । जापानमा निकै लोकप्रिय बैंक मध्येको यो एक हो ।

तपाइँ बस्नुभएको नजिकै पोस्ट बैंकमा गएर खाता खोल्न सक्नुहुनेछ । यस बैंकमा खाता खोल्न यति पैसा डिपोजिट गर्नुपर्छ भन्ने हुँदैन । तपाइँले जिरो येनमा पनि खाता खोल्न सक्नुहुनेछ । त्यसो त तपाइँको आफ्नै फोन नम्बर नभएपनि काम गर्ने ठाउँ अथवा अध्ययन गर्ने स्कुलको फोन नम्बर प्रयोग गरेर तपाइँले खाता खोल्न सक्नुहुनेछ ।

तपाइँ जेपी बैंकमा खाता खोल्न जाँदै हुनुहुन्छ भने तपाइँले साथमा लैजानुपर्ने कुराहरु भनेको तपाइँको पासपोर्ट, रेसिडेन्ट कार्ड र हाङको हो । तपाइँ कामदार हुनुहुन्छ भने तपाइँको तलव बैंक खातामा नै आउँछ, तपाइँ विद्यार्थी हुनुहुन्छ भने पार्टटाइम काम गर्नुहुनेछ काम गरेपछि तलव तपाइँलाई बैंकमा नै आउँछ त्यसैले तपाइँलाई अति आवश्यक पर्ने भनेको बैंक खाता हो । खाता खोल्न सबैभन्दा सजिलो हुलाक अर्थात जेपी बैंक हो जसमा तपाइँ जापान आएर शुरुमा समय हुँदा नै खाता खोल्नुहोस् ।

४.हाङ्को बनाउने :

जापान आएपछि बैंकमा खाता खोल्न, काम गर्ने ठाउँमा, मोवाइल तथा अन्य सुविधाहरु लिनको लागि समेत हाङको आवश्यक पर्दछ । नेपालमा हामी धेरैजसो सिग्नेचर अर्थात आफ्नो सही गरेर काम चलाउँछौं तर जापान यस्तो देश हो यहाँ कम्पनीहरु लगायत हरेक व्यक्तिको नामको छाप हुन्छ । त्यसलाई हाङ्को भनिन्छ ।

कतिपय ठाउँमा हाङ्को नभई केही काम नै बन्दैन त्यसैले जापान आएपछि अग्रजहरुको सल्लाह तथा सहयोगमा हाङ्को बनाउनुहोस् । हाङ्को तपाइँ जापान बसुन्जेल काम आउने चिज हो । हाङ्को तपाईले कातागाता अथवा रोमन अक्षरमा बनाउन सक्नुहुनेछ । करीव १२ सय देखि १५ सय येनमा तपाइँले काठ तथा प्लास्टिकको हाङको बनाउन सक्नुहुनेछ ।

...

सूचनामुलक जानकारी उपयोगी लागेमा सेयर गरेर अरुको लागि पनि जानकारी लिन सहयोग गरिदिनुहोला है !

सम्बन्धित सामग्री: