(Japan) 20 th April | 2024 | Saturday | 2:04:53 PM || (Nepal) 10:49:53 AM
 
 


दशा बन्दै दशैं ! जिप दुर्घटनामा कास्की र स्याङ्जामा गरि ११ जनाको निधन

  POSTED ON : Tuesday, 12 October, 2021 | Views : 1600

दशा बन्दै दशैं ! जिप दुर्घटनामा कास्की र स्याङ्जामा गरि ११ जनाको निधन


काठमाडौं, नेपाल ।

नेपालीहरुको प्रमुख चाड बडा दशैंको मुख्य समयमा कास्की र स्याङ्जामा भएका छुट्टाछुट्टै दूर्घटनामा परि एकैदिन ११ जनाले ज्यान गुमाएका छन् ।

कास्कीको कलडाँडा भिरको घुम्तिमा सोमबार दिउँसो भएको दूर्घटनामा परि आठ जनाको ज्यान गुमेको छ। एक जना घाइते भएका छन्। ज्यान गुमाउनेमा जिप चालक अन्नपूर्ण गाउँपालिका–५ नयाँपुलका ४२ वर्षीय खुसीमान क्षेत्री, जिपमा सवार काठमाडौं– ३ गंगबुका १८ वर्षीय जिनलव घिसिङ २४ वर्षीया सुजा चौधरी, काठमाडौं–२० वर्षीया लिजा चौधरी २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र गोरखा घर भई हाल काठमाडौं– ३ गंगबु बस्ने २७ वर्षीय विनय क्षेत्री रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए। उनीहरुको शव पोष्टमार्टमका लागि सोमबार नै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको छ। 

उक्त दुर्घटनामा परि घाइते काठमाडौं–३ गंगबु की २० वर्षीया देबिका घिसिङको बाँया हात र नाकमा सामान्य चोट लागेको छ। भिरमा अड्केको अवस्थामा उनलाई स्थानीय र प्रहरीले सकुसल उद्धार गरेका हुन्। 


ज्यान गुमाउने विद्यार्थी  

सोमबार कास्कीमा दूर्घटनामा परि ज्यान गुमाउने चालक बाहेक सबैजना विद्यार्थी रहेको प्रहरीले जनाएको छ। विदाको अबसर पारेर आइतबार पोखरा घुम्न आएका उनीहरु सोमबार दिउँसो घान्द्रुककालागि पोखराको हरिचोकबाट ग १ ज ६९०० नम्बरको जिप चढेका थिए। नयाँपुल हुँदै घान्द्रुकतर्फ जाने क्रममा दिउँसो करिव १ः३० बजे दुर्घटनामा परि उनीहरुको ज्यान गुमेको हो।

 कास्कीको अन्नपूर्ण गाउँपालिका स्थिति कलडाँडा भीरमा सडक निकै बिग्रेको र उकालो र घुम्ती कटाउन लाग्दा जिप ब्याक भएर दूर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । उकालो र घुम्ती पनि भएको ठाउँमा जिप ब्याक भएर घुम्तीबाट बसेको देखिएको प्रहरीले बताएको छ । सडकको माथिल्लो घुम्तीबाट झण्डै २ सय मिटर तल सोही सडकमा जिप खसेर आइपुगेको पाइएको छ ।


स्याङ्जामा जिप दुर्घटना, तीन जनाको ज्यान गुम्यो, १४ जना घाइते

स्याङ्जामा भएको जिप दुर्घटनामा परि तीन जनाको ज्यान गुमेको छ। १४ जना घाइते भएका छन्। आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै भएको जिप दुर्घटनामा परी तीन जनाको ज्यान गुमेको हो।

ज्यान गुमाउने गल्याङ–१० लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली र  ३२ वर्षीया गंगा, गाउँसौराकी चार वर्षीया बालिका करिष्मा थापा रहेका जिलला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार दलबहादुर र गंगाको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा र करिष्माको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गुमेको हो।

वालिङबाट गल्याङ–१० लाखुडाँडातर्फ जाँदै गरेको ग १ज ४९१८ नम्बरको जिप कच्ची उकालो बाटोबाट आइतबार साँझ झण्डै ५० मिटर तल खसेको थियो । उक्त जिपमा चालकसहित १९ यात्रु थिए । चालकसहित अन्य दुई जना सामान्य उपचारपछि निको भएका छन् ।