(Japan) 17 th February | 2025 | Monday | 9:17:12 AM || (Nepal) 6:02:12 AM
 
 


रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश

  POSTED ON : Friday, 10 January, 2025 | Views : 658

रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश


पोखरा, नेपाल । 


कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

 

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलाशले बिहीबार अबेर यस्तो आदेश गरेको हो । आदेशसँगै रवि लामिछाने पक्राउ परेको ८५ दिनपछि कास्की प्रहरी हिरासतबाट मुक्त हुने भएका छन ।


यस्तै, अदालतले अन्य प्रतिवादीहरु छबिलाल जोशी, लिला पछाईं र राम बहादुर खानाल लगायतलाई पनि थुनामुक्त गर्न आदेश दिएको छ ।

 

सूर्यदर्शन सहकारी रकम हिनामिनाप्रकरणमा गत कात्तिक २ गते लामिछानेलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो । 


प्रहरीको अनुसन्धानपश्चात गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

 

सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको थियो। 


सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको थियो । सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको थियो ।