(Japan) 13 th December | 2024 | Friday | 3:08:38 AM || (Nepal) 11:53:38 PM
 
 


परराष्ट्रमन्त्री आरजु राणा जापान नआउने भइन्

  POSTED ON : Monday, 25 November, 2024 | Views : 378

परराष्ट्रमन्त्री आरजु राणा जापान नआउने भइन्


टोकियो, जापान ।

यसै साता जापान आउने बताइएकी नेपाल सरकारकी परराष्ट्रमन्त्री आरजु राणा देउवा जापान नआउने भएकी छिन् । मंसिर १० गते स्वास्थ्य उपचारका लागि भन्दै जापान आएर यसैबाट मंसिर १४ गते चीन जाने तयारी राणाको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अनिश्चित बनेपछि राणाको जापानको भ्रमण जनवरी ५ पछि हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गते देखि २१ गते सम्म चीन भ्रमण तय भए पनि औपचारिक मिति घोषणा र मन्त्रिपरिषद्ले स्वीकृति दिएको छैन ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको एजेन्डामा सत्ताधारी काँग्रेस एमालेबिच बिवाद भएपछि मन्त्री राणाको बेइजिङ यात्रा अन्योलमा परेको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका लागि प्रस्तावित मिति चीनले सुझाएको थियो । तर, भ्रमणका एजेन्डा तय नहुँदा सत्तारूढ दलहरूबीच सहमति नबनेकाले मन्त्रिपरिषद्ले भ्रमण स्वीकृत गर्न सकेको छैन । मंसिर १५ मा चिनियाँ विदेशमन्त्री वाङ यीसँग राणाको भेटवार्ता तय भए पनि चिनियाँ प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटको कुनै टुंगो छैन ।

यसअघि, मन्त्री राणाले भदौमा स्वास्थ्य परीक्षणकै सिलसिलामा भारत भ्रमण गर्दा प्रधानमन्त्री मोदी र भारतीय समकक्षी सँग भेटवार्ता गरेकी थिइन् ।

भारतले राणालाई प्रधानमन्त्रीको दर्जामा स्वागत गरेपछि एमाले पक्ष भारतसँग असन्तुष्ट बनेको थियो । भारतले नेपालका नयाँ प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिनेगरेपनि ओलीले मोदीबाट निम्तो नपाउँदा त्यसको बदलामा चिन भ्रमण गर्न प्रधानमन्त्री ओली हतारिएका छन् ।