(Japan) 13 th December | 2024 | Friday | 2:58:10 AM || (Nepal) 11:43:10 PM
 
 


नियम, कानुन र बिधिको भाषणमा नथाक्ने एमालेले महानगरको जरिवाना पत्र समेत बुझ्न मानेन

  POSTED ON : Monday, 25 November, 2024 | Views : 148

नियम, कानुन र बिधिको भाषणमा नथाक्ने एमालेले महानगरको जरिवाना पत्र समेत बुझ्न मानेन


काठमाडौं, नेपाल ।

सरकार, स्थानिय तह देखि अदालत, प्रशासनका नियम र कानुन मान्नुपर्ने, सरकारले नियम कानुन नमान्नेलाई थुन्ने भन्दै मञ्चमै भाषण ठोकर सडकभरी फोहोर थुपारेपछि जरिवाना पत्र काट्दा नेकपा एमालेले पत्र समेत बुझ्न अस्विकार गरेको छ ।

काठमाडौं महानगरले गत शुक्रबार दरबारमार्गमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली लगायत नेताको भाषणका लागि गरिएको सभाका क्रममा फोहोर गरेको भन्दै लगाएको जरिवानाको पत्र एमालेले बुझ्न अस्वीकार गरेको हो । महानगरपालिकाले एमालेले भेला आयोजना गरेर दरबारमार्ग क्षेत्रभर जथाभावी फोहोर गरेपनि १ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयबारेको पत्र बुझाउन महानगर प्रहरी बलको टोली आइतबार दिउँसो एमाले पार्टी कार्यालय च्यासल पुगेको थियो । महानगर प्रहरी बलका इन्सपेक्टर किशोर भट्टराईकाअनुसार उक्त कार्यक्रम एमालेको केन्द्रीय कार्यालयले नगरेको भन्दै पत्र बुझ्न नमिल्ने जवाफ एमाले कार्यालय सचिवले दिएका थिए ।

'हामीले कार्यक्रम गरेको होइन, काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीले गरेको हो, त्यहिँ कुरा गर्नुहोला भन्दै उहाँहरूले पत्र बुझ्नु भएन' भट्टराईले भनेका छन् ।

सरकारको नेतृत्वमा रहेको दल नेकपा एमालेले शुक्रबार काठमाडौँ उपत्यकास्तरीय प्रदर्शन तथा दरबारमार्गस्थित सडकमा जागरण सभाको नाममा शक्ति प्रदर्शन गर्न आमसभा आयोजना गरेको थियो । एक लाख कार्यकर्ता भेला पार्ने बताएको एमालेको उक्त भेलामा करिव १५ हजार जनाको उपस्थिति रहेको नेपाल प्रहरीको सुरक्षा निकायले अनुमान गरेको छ ।

सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले शीर्ष नेताहरूले सम्बोधन गरेका थिए । सभा सकिएलगत्तै काठमाडौँ महानगरपालिकाले जागरण सभाका कारण सार्वजनिक स्थान सडकमा फोहोरमैला भएको र त्यहीकारण प्रदूषण फैलाउन मद्दत पुगेको भन्दै एमालेलाई पत्र पठाउने निर्णय गरेको थियो ।

महानगरपालिकाको नगर प्रहरीका निरीक्षक लिलाराज गाछाद्वारा हस्ताक्षरित एमाले केन्द्रीय कार्यालयलाई सम्बोधन गरेर लेखिएकोमा पत्रमा कानूनबमोजिम एक लाख रुपैयाँ जरिवाना तोकिएको उल्लेख छ ।

'मंसिर ७ गते काठमाडौँ महानगरपालिका-१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु' महानगर प्रहरीका निरीक्षक गाछाले पत्रमा लेखेका छन् ।