काठमाडौं, नेपाल ।
श्रीमतीलाई अंश नदिन किर्ते गरेर कागजात बनाएको ठहर पछिपनि नेपाली काँग्रेसले सांसद बनाएको लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् ।
जिल्ला अदालत रुकुमबाट २०४८ सालमा दोषी ठहर भएका केसीलाई त्यस यता फेला पर्न नसकेको भन्दै राजनीतिक दबावमा उन्मुक्ति दिइंदै आएको थियो । तर आइतबार केसीले अदालतमा आँफै उपस्थित भएर आत्मसमर्पण गरेसँगै कारागार चलान भएको रुकुमकोट जिल्ला अदालतका सूचना अधिकारी ईश्वरीप्रसाद सुवेदीले जानकारी दिए ।
३३ वर्ष पुरानो मुद्दामा दोषी ठहर भएका सांसद केसीलाई एक वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको अदालतले जनाएको छ ।
यद्यपी तत्कालीन समयमा धरौटीमा रिहा भएका उनको जरिवाना रकम कट्टा गरिएपनि कैद सजाय भने भोग्नुपर्ने जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख माधव खरेलले जानकारी दिनुभयो ।
श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई २०४८ सालमा दोषी ठहर गरेको थियो । दोषी ठहर भएका काँग्रेस नेता केसी गत आम निर्वाचनमा रुकुम–पूर्वबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।