(Japan) 12 th September | 2024 | Thursday | 1:09:20 AM || (Nepal) 9:54:20 PM
 
 


नेपालमा लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव, पदमा २८ दिन मात्रै रहने

  POSTED ON : Friday, 26 July, 2024 | Views : 376

नेपालमा लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव, पदमा २८ दिन मात्रै रहने


काठामाडौं, नेपाल ।
नेपालको प्रशासनिक इतिहासमा पहिलो पटक महिला मुख्यसचिव बनेकी छिन् । सरकारले कायममुकायम मुख्यसचिव रहेकी लीलादेवी गड्तौलालाई बिहिबार मुख्यसचिवमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

वर्तमान सरकार गठन भएको पहिलो मन्त्रिपरिषद् बैठकले गत ३१ असारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी वरिष्ठतम् सचिव गड्तौलालाई कायममुकायम सचिवको जिम्मेवारी दिएको थियो । उनै कायममुकायमलाई सरकारले पूर्ण जिम्मेवारी सहितको मुख्यसचिव नियुक्त गरेको हो । गड्तौला नेपालको प्रशासनिक इतिहासमै पहिलो महिला मुख्यसचिवको रेकर्ड कायम गर्न सफल भएकी छिन् ।

अघिल्ला मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दा लागेसँगै निलम्बनमा परेका थिए । अर्याल निलम्बनमा परेपछि उनी स्वतः निमित्तको जिम्मेवारीमा थिइन् । उनको दरबन्दी राष्ट्रिय योजना आयोगमा सारेर वर्तमान सरकारले नै गड्तौलालाई प्रधानमन्त्री कार्यालयमा कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो ।

सरकारले आफूलाई मुख्यसचिव नियुक्त गरेकामा उनले खुसी व्यक्त गरेकी छिन् । ‘मलाई सुम्पेको जिम्मेवारीप्रति म सरकारलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्, ‘यद्यपि, छोटो समय छ, तोकिएको आफ्नो जिम्मेवारी पूरा गर्नेछु ।’

गड्तौला ०२३ मा तेह्रथुमको म्याङलुङमा जन्मिएकी हुन् । ०५२ मा शाखा अधिकृतबाट आफूले निजामती करिअर सुरु गरेको उनले बताइन् । त्यसपछि ०६३ मा उपसचिव र ०७० मा सहसचिव बनेकी थिइन् । २७ कात्तिक ०७७ मा उनलाई सरकारले सचिवमा बढुवा गरेको थियो । उनी कानुनतर्फको सचिव हुन् ।

सरकारले मुख्यसचिवमा नियुक्त गरे पनि गड्तौला लामो समय यो पदमा रहनेछैनन् । ५८ वर्षे उमेरहदका कारण उनी आगामी १५ भदौमा सेवानिवृत्त हुनेछिन् । मुख्यसचिवको कार्यकाल तीन वर्ष रहने व्यवस्था छ । तर, तीनवर्षे कार्यकाल वा ५८ वर्षे उमेरहद जुन पहिला आउँछ, त्यसैबाट अवकाश हुने व्यवस्था छ । यसैबमोजिम उमेरहद पहिला आउँदा गड्तौला त्यसैबाट अवकाश हुनेछिन् ।