काठमाडौँ, नेपाल ।
बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र नाबालक अधिराज शर्माको मृत्यु भएको हो ।
मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने अधिराज उनीहरुका छोरा हुन् ।
परिवारका अनुसार प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत थिइन् । यस्तै अधिराज भने नाबालक हुन् । मनुराज मात्र प्राबिधिक हुन । सौर्य एयरलाइन्सले उनीहरु सबै कर्मचारी भएको आफ्नो विवरणमा उल्लेख गरेको छ ।
बुधबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले उल्लेख गरेको छ ।
प्राधिकरणका अनुसार सीआरजे ७ (रजिस्ट्रेसन–९एनएएमई) जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो । दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा १८ जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ । यस्तै पाइलट मनिषरत्न शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ ।
विमानका क्याप्टेन मनिषरत्न शाक्यसहित सौर्य एयरकै कर्मचारीहरु थिए । विमानमा सहक्याप्टेन एस कटुवाल, अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, अस्विन निरौला, सुदीपराज जोशी, सर्वेस मरासिनी, श्याम विन्दूकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा र अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र विदेशी नागरिक अरिफ रेडा थिए । सबै सौर्य एयरलाइन्सका कर्मचारी हुन् ।