काठमाडौँ, नेपाल ।
काठमाडौं स्थित त्रिभुवन विमानस्थल नजिकै सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । दुर्घटनापछि उद्धार जारी छ।
प्रारम्भिक जानकारी अनुसार अग्नि नियन्त्रकहरूले हालसम्म १८ जनाको शव दुर्घटनामा परेको बिमानबाट निकालेका छन् । विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा गम्भिर अवस्थामा उपचार भइरहेको छ ।
बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए ।
विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन ।