(Japan) 12 th September | 2024 | Thursday | 1:57:18 AM || (Nepal) 10:42:18 PM
 
 


सुमनाको रामहरीलाई चुनौति 'ल्याङल्याङ किन ? उपसभामुखमा मिडिया ट्रायल हैन नक्कली भुटानी शरणार्थी छानविन गरौं तयार हो ?'

  POSTED ON : Sunday, 21 July, 2024 | Views : 580

सुमनाको रामहरीलाई चुनौति 'ल्याङल्याङ किन ? उपसभामुखमा मिडिया ट्रायल हैन नक्कली भुटानी शरणार्थी छानविन गरौं तयार हो ?'


काठमाडौं, नेपाल ।
अमेरिकी दूतावासलाई अन्तरर्वार्ताको मिति अघि सारिदिन अनुरोध गर्दै डेढ वर्ष अघि लेखेको पत्रको विषयलाई मानव तस्करीको आरोप लगाउँदै मिडियाबाजी गरेपछि संसदमा राष्ट्रिय स्वतन्त्र पार्टिका सांसदहरु आक्रोसित देखिएका छन् ।

उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको पत्र १ वर्षदेखि गोजीमा राखेर संवैधानिक परिषमा अल्पमतमा परेपछि उपसभामुख कार्ड खेलेको सांसद सुमना श्रेष्ठले आरोप लगाएकी छिन् ।

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले अन्तर्वार्ताको मिति नजिकको मितिमा सारिदिन गरिएको पत्रलाई मानव तस्करी गरेको भनेर चरित्र हत्या गर्न खोजेपछि श्रेष्ठले आपत्ति जनाएकी हुन् ।
संवैधानिक परिषद्‍मा अल्पमतमा परेपछि उपसभामुखको पत्र ल्याइएको उनले बताइन ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद श्रेष्ठले संवैधानिक परिषद्‍मा सत्तापक्ष अल्पमतमा परेपछि उपसभामुख रानाले राजदूतावासलाई लेखेको पत्र सार्वजनिक गरिएको र लान्छना लगाइएको बताइन् । एक जना सांसदले संसद् र सडकमा एक व्यक्तिलाई भिसा देउ भनेर आन्दोलन गरेको देखेको भन्दै सांसद श्रेष्ठले लेटरप्याडको प्रयोगको विधि बनाउनुपर्ने बताइन् ।

'उपसभामुख इन्दिरा रानाको नामबाट मिडिया ट्रायल भइरहेको छ, यसमा आपत्ति जनाउन चाहन्छु' उनले भनिन्, 'आचरण हेर्ने हो भने सबै जनाको लेटरप्याडबाट के के निस्क्या छ हेरौं र साच्चै पद्धति बनाउँ । यो वास्तवमै आचरण विरुद्धको कार्य हो ? तपाईंहरूलाई मन लाग्यो मिडिया ट्रायल गर्‍यो ।'

उपसभामुखमाथि मानव तस्करी जस्तो गम्भीर आरोप संसद्‍मा लगाएको भन्दै श्रेष्ठले आपत्ति जनाइन् । कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुखले मानव तस्करी गरेको आरोप लगाएका थिए । त्यसको प्रतिवाद गर्दै सांसद श्रेष्ठले भनिन्, 'भुटानी शरणार्थी कसले गरेको हो भनेर घोषणा गर्नुस् आँट छ ? एउटा महिला कठिन समयमा यहाँ आउनुभएको छ उहाँलाई हेप्न नखोज्नुहोला । साच्चै विधि पद्धति बनाउन चाहनुहुन्छ ? एकवर्षदेखि पत्र हातमा बोकेर बस्नुभएको रहेछ कुन बेला ठोकौं भनेर ।'

संवैधानिक परिषद्‍मा सहयोग चाहिए माग्न तर उपसभामुखमाथि यस्तो आरोप नलगाउन सांसद श्रेष्ठको भनाइ थियो । 'यो साँच्चिकै छानबिन गर्ने हो भने गरोस् पार्टी पनि तयार छ तर प्रोपर तरिकाले गरोस् । मिडिया ट्रायल गरेर भाष्य बनाउने, पद्धति नबनाउने र मान्छेको चरित्र हत्या गर्ने त्यो पनि किन भन्दा संवैधानिक परिषद्‍मा एमालेको दुई, माओवादीको दुई, रास्वपाको एक र प्रधानन्यायाधीश एक, यो अल्पमतमा पर्‍यो भनेर हो रु माग्नुस् न हो, माग्नुस् दिउँला तर कसैको चरित्र हत्या गरेर मानव तस्कर भन्ने लाञ्छना गर्ने ?' उनले भनिन् ।

आफ्नो भएभरको जायजेथा अनाथाश्रममा लगाउने महिलामाथि पैसाको लागि मानव तस्कर गरेको चरित्र हत्या गर्न नपाइने श्रेष्ठको भनाइ थियो । विधि पद्धति बसाउन हो भने तयार रहेको तर चरित्र हत्या स्वीकार्य नभएको उनले बताइन् ।