(Japan) 17 th May | 2025 | Saturday | 6:36:56 PM || (Nepal) 3:21:56 PM
 
 


श्रीमती बलात्कारमा न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवाना

  POSTED ON : Tuesday, 11 June, 2024 | Views : 1048

श्रीमती बलात्कारमा न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवाना


काठमाडौं, नेपाल ।

काठमाडौं जिल्ला अदालतले न्यायाधीश भुवन गिरीलाई आफ्नै श्रीमतीमाथि जर्वजस्ती बलात्कारको मुद्दामा सात वर्ष कैद र तीन लाख जरिवानाको फैसला सुनाएको छ । 

यस अघि नै दोषी ठहर गरिसकेको जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको सजाय निर्धारण गरेको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार रामु शर्माले बताए ।

जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेका गिरीविरुद्ध उनकै पत्नि आरती रावलले गत वर्षको वैशाख १९ गते मुद्दा दायर गरेकी थिइन् । मुद्दाअघि बढेपछि निलम्बित गिरीलाई सर्वोच्च अदालतको चैत २१ गतेको आदेशले थुनामा पठाएको थियो । उनले गत वैशाख तीन गते जिल्ला अदालतमा आफै उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।

रावल र गिरीले २०७५ सालमा विवाह गरेका थिए । आफूलाई बन्धक बनाएर कुटपिट, घरेलु हिंसा, यौनशोषण र हिंसा, अप्राकृतिक मैथुन गरेको भन्दै रावलले पतिविरुद्ध ०७९ मंसिर २ मा कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा उजुरी हालेकी थिइन् । गिरी विरुद्ध कपिलवस्तु अदालतमा वैवाहिक बलात्कार मुद्दा दर्ता छ ।

कपिलवस्तु जिल्ला अदालतले चैत २० गते गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि गिरी मुद्दा फिर्ता गराउन सक्रिय बनेका थिए । यही क्रममा गिरीले २०७९ चैत २७ गते रावलको सामाखुसीस्थित डेरामा पुगेर बलात्कार गरेको भन्दै पत्नी रावलले जिल्ला अदालत काठमाडौंमा बलात्कार कसुरमा मुद्दा दायर गरेकी थिइन् ।

रावलले न्याय पाउनका लागि लामो समयको सडक संघर्ष देखि आत्मदाहको प्रयास समेत गरेकी थिइन् । पतिबाटै बलात्कार भएको मुद्दा किनारा लगाउन अदालतले ढिलासुस्ती गरेको भन्दै उनी २०८० असार १० देखि दुई महिनासम्म अनशन बसेकी थिइन् । उनले २०८० माघ एक देखि दोस्रो चरणको अनशन थालेकी थिइन् ।