(Japan) 17 th February | 2025 | Monday | 11:05:13 AM || (Nepal) 7:50:13 AM
 
 


सरकारले ११ देशका लागि राजदूत फिर्ता बोलायो, जापानको यथावत

  POSTED ON : Friday, 07 June, 2024 | Views : 812

सरकारले ११ देशका लागि राजदूत फिर्ता बोलायो, जापानको यथावत


काठमाडौं, नेपाल ।

नेपाल सरकारले भारत, अमेरिका र बेलायतसहित ११ प्रमुख देशका नेपाली राजदूत एकैपटक फिर्ता बोलाएको छ । 


माओवादी नेत्रित्वको सरकारले कांग्रेस र जसपा नेपालको कोटाबाट नियुक्त भएका राजदूत फिर्ता बोलाउने सूचीमा राखेको छ  । सरकारले राजदूतहरूलाई एक महिनाको समय दिएर फिर्ता हुन भनेको छ ।


मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार दिल्ली आउने तयारी भइरहेका वेला भारतका लागि राजदूत डा. शंकरप्रसाद शर्मा पनि फिर्ता हुने सूचीमा परेका छन् ।


एक सातापछि राजदूत फिर्तासम्बन्धी निर्णय गर्ने प्रधानमन्त्री प्रचण्डको चाहना भए पनि एमाले अध्यक्ष केपी ओलीको दबाबमा हतारमा राजदूत फिर्ताको निर्णय गरिएको जनाएको छ । भारतका राजदूत फिर्ता गर्ने विषयमा बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो । 


उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीको भारत भ्रमणभन्दा अघि भारतका लागि राजदूत फिर्ता गर्दा राम्रो सन्देश नजाने भन्दै एक सातापछि निर्णय गर्न सुझाव दिएका थिए । तर, प्रधानमन्त्रीले आफूमाथि दबाब भएको संकेत दिएका थिए ।


राजदूत फिर्ताको निर्णय सार्वजनिक हुँदा भारतका लागि राजदूत शर्मा विदेश मन्त्रालय साउथ ब्लकस्थित प्रोटोकल डिभिजनमा प्रधानमन्त्रीको भारत भ्रमणबारे बैठकमा सहभागी थिए । राजदूत शर्माले आफूलाई फिर्ता गर्ने सरकारी निर्णयबारे प्रतिक्रिया दिएनन् । 


सरकारले भारतका लागि राजदूत शर्मासहित अमेरिकाका लागि राजदूत श्रीधर खत्री, बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्य, दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, साउदी अरबका लागि राजदूत नवराज सुवेदी, कतारका लागि राजदूत नरेशविक्रम ढकाल, मलेसियाका लागि राजदूत डिल्लीराज पौडेल, इजरायलका लागि राजदूत कान्ता रिजाल, डेनमार्कका लागि राजदूत डा. रामस्वार्थ राय, स्पेनका लागि राजदूत शर्मिला पराजुली ढकाललाई फिर्ता गरेको छ ।


पोर्चुगलका लागि राजदूत नियुक्त भएका, तर जान नपाएका राजदूत सनिल नेपालको नियुक्ति पनि मन्त्रिपरिषद्ले बदर गरेको छ । उनी कांग्रेसको कोटाबाट राजदूत नियुक्त भएका थिए । मन्त्रिपरिषद्ले एमाले र जसपा (अशोक राई पक्ष), जनमत पार्टीको भागबन्डामा ११ देशका लागि चाँडै राजदूत सिफारिस गर्नेछ । 


सरकारले ११ देशका राजदूत फिर्ता गरेपनि जापानका लागि भने कुनै परिवर्तन गरेको छैन । हाल जापानका लागि डा. दुर्गाबहादुर सुबेदी राजदूत रहेका छन ।