(Japan) 15 th January | 2025 | Wednesday | 5:06:54 PM || (Nepal) 1:51:54 PM
 
 


गृहमन्त्रीद्वारा हिरासत छल्न बिरामी बहाना बनाएर अस्पताल बस्ने ठुलाबढालाई रोक्न सरकारी अस्पतालको सिफारिस अनिवार्यता लागू

  POSTED ON : Tuesday, 07 May, 2024 | Views : 392

गृहमन्त्रीद्वारा हिरासत छल्न बिरामी बहाना बनाएर अस्पताल बस्ने ठुलाबढालाई रोक्न सरकारी अस्पतालको सिफारिस अनिवार्यता लागू


काठमाडौँ, नेपाल । 

अनुसन्धान वा अभियोजनका क्रममा पक्राउ परेका ठुला भनिने व्यक्तिहरुले अकस्मात बिरामी भएको नाटक गर्दै अस्पतालमा हप्तौ बिताएर अदालतबाट उन्मुक्ती पाउने गरेपछि त्यस्तो गलत प्रबृतिलाई रोक्न गृहमन्त्री रबी लामिछानेले नयाँ नियम लागू गराएका छन । 


अब देखी त्यस्तो बहाना बनाउनेहरुले अस्पताल बस्नु परे सरकारी अस्पताल वा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिस अनिवार्य पेस गर्नुपर्ने छ ।

तर मानसिकरुपमा अस्वस्थ वा अस्पतालमै बसेर उपचार गराउनुपर्ने दीर्घ रोगी छन भने सिफारिस अनिवार्य छैन ।


पक्राउ पर्ने व्यक्तिहरु हिरासतमा नबसी अस्पताल भर्ना हुने प्रवृत्तिप्रति जनस्तरबाटै प्रश्न उठेपछि गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार उक्त व्यवस्था गरेको हो । पक्राउ परेका व्यक्तिहरुलाई अस्पताल बस्न चिकित्सकले गर्ने सिफारिस समेत असामान्य र अविश्वसनीय भएको भन्दै यस्तो प्रवृत्ति न्यूनीकरण गर्न उक्त व्यवस्था गर्न लागिएको गृह मन्त्री लामिछानेको भनाइ छ ।


उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार अस्पताल लैजानुपर्ने विकल्पका रुपमा हिरासतमै सरकारी अस्पताल अथवा नेपाल मेडिकल काउन्सिल दर्ता चिकित्सकले परीक्षण गरेर मात्रै अस्पताल राख्नुपर्ने/नपर्ने सम्बन्धमा निर्णय हुने र सोहीअनुसार गर्न निर्देशन दिइएको छ ।


तर शारीरिक एवं मानसिक रुपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगीहरु जस्तैः उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्था हो भने अस्पताल लग्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।

तर अस्पतालमा निगरानीका लागि ४८ घण्टाभन्दा बढी राख्नुपरेमा भने उपयुक्त कारण खुलाउनपर्ने गृहमन्त्रालयले जनाएको छ । 


प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई चिकित्सकीय सहायता उपलव्ध गराउने हालको कानूनी प्रबन्ध र अभ्यासलाई वस्तुगत, तथ्यपूर्ण र विश्वसनीय बनाउन मन्त्रालयले गत चैत १३ गते नेपाल मेडिकल काउन्सिललाई अध्ययन गरी रायसहितको प्रतिवेदन दिन अनुरोध गरेको थियो ।


काउन्सिलले यही वैशाख २३ गते बुझाएको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले तीन बुँदे निर्णय गरेको जनाएको छ ।

गृह मन्त्रालयको आग्रहअनुसार अध्ययन गर्न काउन्सिलले सदस्य डा विश्वराज दवाडीको संयोजकत्वमा नौ सदस्यीय समिति बनाइएको थियो । 

पहुँचका आधारमा हिरासत छल्ल स्वास्थ्यलाई बहाना बनाउने घटना देखिएको भन्दै पदभार ग्रहण लगत्तै मन्त्री लामिछानेले यसबारे चासो लिएर छलफल अघि बढाएका थिए ।


“आवश्यक पर्दा उपचार पाउनु सबैको हक हो । राज्यले त्यो हक सुरक्षित गर्छ । तर कतिपय घटनामा हिरासत छल्न नै अस्पताल जाने प्रवृत्ति पनि देखिएकाले सबैलाई समान व्यवस्था र व्यवहार होस् भनेर केही व्यवस्था गर्ने निर्णय भएको हो”, गृहमन्त्री लामिछानेको भनाइ छ ।