(Japan) 5 th June | 2023 | Monday | 2:04:21 AM || (Nepal) 10:49:21 PM
 
 

दाहाल नेतृत्वको सरकारलाई फेरि विश्वासको मत प्राप्त

  POSTED ON : Tuesday, 21 March, 2023 | Views : 468

दाहाल नेतृत्वको सरकारलाई फेरि विश्वासको मत प्राप्त


काठमाडौं, नेपाल ।

प्रतिनिधिसभामा तेस्रो ठूलो दल रहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले संसदमा पुन विश्वासको मत प्राप्त गरेको छ ।

यसअघि प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेको नेकपा एमालेले भने सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोहि कारण प्रचण्डले पुनः संसद्‌मा विश्वासको मत प्रमाणित गर्नुपरेको हो ।

एमालेले राष्ट्रपति निर्वाचनमा आफ्नो पक्षमा नउभिएको भन्दै र अन्य कारण देखाउँदै प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन केही साताअघि नै फिर्ता लिएको थियो ।

विश्वासको मतका लागि पेस गरिएको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको सभामुख देवराज घिमिरेले घोषणा गरेका थिए ।

प्रतिनिधिसभामा २६२ सांसद विश्वासको मतमा सहभागी थिए । एकजना सांसदले भने 'मत दिन्न' भन्ने पक्षमा आफ्नो मत जाहेर गरेका छन् ।

दाहाललाई नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।

एमाले र राप्रपाका सांसदहरूले भने दाहाल सरकारको विपक्षमा मत हालेका थिए । नेपाल मजदुर किसान पार्टिका सांसद मात्र तटस्थ बसेका थिए ।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यसको १६ दिनपछि पुस २६ गते विश्वासको मत लिएका थिए। त्यस बेला प्रतिनिधिसभा बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रचण्डलाई समर्थन गरेका थिए ।

प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले 'सरकारमा सहभागी नहुने र सङ्घीय संसद्‌मा प्रमुख विपक्षी दलको रूपमा भूमिका निर्वाह गर्ने' बताउँदै त्यस बेला प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको थियो ।