(Japan) 5 th June | 2023 | Monday | 2:30:06 AM || (Nepal) 11:15:06 PM
 
 

रवि लामिछानेले राहदानी दुरुपयोग गरेको प्रमाण नभेटिएपछि मुद्दा नचल्ने निर्णय

  POSTED ON : Tuesday, 21 March, 2023 | Views : 576

रवि लामिछानेले राहदानी दुरुपयोग गरेको प्रमाण नभेटिएपछि मुद्दा नचल्ने निर्णय


काठमाडौं, नेपाल ।

राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष रवि लामिछानेले राहदानी दुरुपयोग गरेको आरोप पुष्टि हुने कुनै प्रमाण फेला नपरेपछि उनिमाथि कुनै मुद्दा नचल्ने भएको छ ।

राहदानी दुरुपयोगमा लामिछानेलाई मुद्दा चलाउन “आधार र प्रमाण” नपुगेपछि महान्यायाधिवक्ता कार्यालयले त्यस्तो निर्णय गरेको कार्यालयका प्रवक्ता संजीवराज रेग्मीले बताएका छन् ।

प्रमाण नपुग्ने भएकाले सोमवार महान्यायाधिवक्ताले उक्त निर्णय गरेका हुन् ।

महान्यायाधिवक्ताको उक्त निर्णयसँगै अब सरकारी निकायहरूले लामिछानेमाथि राहदानी दुरुपयोगका विषयमा मुद्दा चलाउन पाउने छैनन् ।

आइतवार लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दाका फाइलहरू उक्त कार्यालयमा पुगेको थियो ।

महान्यायाधिवक्ताले केही आधारहरू लिएर लामिछानेलाई मुद्दा चलाउन नमिल्ने निर्णय गरेका हुन् ।

प्रवक्ता रेग्मीका अनुसार “जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूबाट निर्णय भएर आएको थियो( मुद्दा नचलाउने प्रमाण पुग्दैन भनेर। सोही कुरा उच्च सरकारी वकिल कार्यालय पाटनबाट पनि आएको थियो।”

“र, प्रहरीले पनि अनुसन्धान प्रतिवेदनमा प्रमाण नपुग्ने भएकाले मुद्दा चलाउनुपर्दैन भन्ने उल्लेख गरेको थियो। तिनै आधारलाई टेकेर महान्यायाधिवक्ताज्यूले निर्णय गर्नुभएको हो।”

लामिछानेमाथि एकै पटक नेपाली र अमेरिकी राहदानी लिएको र दुवै राहदानी प्रयोग गरेको आरोप लागेको थियो ।

उनीमाथि नेपाली नागरिकता त्याग्ने र अमेरिकी नागरिकता लिने एवं अमेरिकी नागरिकता त्यागेर फेरि नेपाली नागरिकता लिने प्रक्रियाहरू पूरा नगरेको विषयमा पनि छानबिन भएको थियो ।

सर्वोच्च अदालतले उनले नागरिकता पुनः प्राप्ति गर्ने प्रक्रिया पूरा नगरेको निर्णय सुनाएपछि लामिछाने सांसद र गृहमन्त्रीबाट पदमुक्त भएका थिए ।

उनले प्रक्रिया पूरा गरेर पुनः नागरिकता प्राप्त गरिसकेका छन् । रवि लामिछाने पुन यसअघि निर्वाचित भएकै चितवन २ नम्वर निर्वाचन क्षेत्रबाट चुनाव लड्दैछन् ।