काठमाडौं, नेपाल ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्षलाई सुकुम्बासी समस्या बल्झाउने कुचेस्टा नगर्न चेतावनी दिएका छन ।
मङ्गलवार एक कार्यक्रममा ओलीले बाग्मती किनारका सुकुम्वासी बस्ती हटाउन महानगरले थालेको अभियानको बिरोध गर्दै टिप्पणी गरेका थिए । त्यही टिप्पणीबारे शाहले सामाजिक सञ्जालमार्फत प्रतिप्रश्न सहित कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका हुन ।
मेयर शाहले फेसबुकमा लेखेका छन, अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति तपाईंको धारणा थाहा पाएँ । तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो ।
किनभने २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नुभएन । दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नुभएन । सुकुम्वासीहरू तपाईँका लागि भोट बैंकमात्रै रहे । बरु तिनलाई गुठी आन्दोलनजस्ता आफ्नो स्वार्थ विपरीतका कुरामा प्रयोग गर्नुभयो ।
मेयर शाहले जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए आफ्नो नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो ? हनुमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनुभयो ? भनेर ओलीलाई प्रश्न पनि गर्नुभएको छ । अब परिस्थिति फेरिएको बताउँदै उहाँले ओलीलाई सकेको सहयोग गर्न तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिनुभएको छ ।